नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा उपचारार्थ दाङका कोभिड संक्रमित पुरुषलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
घोराही उपमहानगरपालिका–१५ भरतपुरका ७८ वर्षीय सन्तबहादुर श्रेष्ठलाई मनाङ एअरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो । श्रेष्ठलाई एक साता अघि भाइरस संक्रमण भएको थियो । त्यसपछि उहाँ घोराहीकै मितेरी अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।
त्यहाँबाट श्रेष्ठलाई मंगलवार नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । श्रेष्ठका नातेदार समेत रहनुभएका स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार, थप उपचारका लागि उहाँलाई आज दिउँसो काठमाडौं लगिएको छ ।
उहाँलाई काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । रिर्जववअर मास्कको सहायतामा स्याचुरेसन प्रतिशत सन्तुलनमा राख्दै उहाँलाई काठमाडौं लगिएको थियो ।
यसअघि बाँकेबाट ६ जनालाई हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं पुर्याइसकिएको छ ।