लयमा फर्किदै बाँके, चिकित्सक भन्छन्-‘जोखिम टरेको छैन, सजगता अपनाऔं’

    • समिरमान श्रेष्ठ

  • १९ जेष्ठ २०७८, बुधबार

नेपालगन्जः कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिदा अस्तव्यस्त भएको बाँके जिल्ला सामान्य अवस्थामा फर्कने प्रयासमा छ । संक्रमण दर करिब शुन्यमा झरेको बाँकेमा गत वर्षको चैत्र अन्तिममा एकाएक संक्रमण दर उकालो लाग्न थाल्यो ।

चिकित्सकहरुले स्थिति नियन्त्रण बाहिर जाने आँकलन गर्दागर्दै कोभिड संक्रमण दर नियन्त्रण बाहिर जान हप्ता दिन पनि लागेन । नयाँ वर्ष मनाउदा सम्म पनि बाँकेले यो क्षति बेहोर्नु पर्छ भन्ने कसैले सोचेको पनि थिएनन्। संक्रमणको नयाँ लहरले सबैलाई झुक्यायो । पहिलो चरणमा लक्षण नभएका, सामान्य संक्रमित बढी थिए ।

संक्रमणका कारण मृत्यु दर पनि धेरै थिएन । अधिकांश जेष्ठ नागरिक र दीर्घरोगीहरुलाई समस्या पारेको कोभिडले यो लहरमा भने भर्खरका जवानलाई पनि छाडेन । संक्रमण पुष्टि हुनेहरु पनि अधिकांश युवा अवस्थाकै, अनि ज्यान गुमाउनेहरु पनि भर्खरकै उमेरका । संक्रमण फैलने दर झन् यसरी बढ्यो कि, त्यसले सबैलाई हैरानमात्र बनाएन मानिसहरुको दैनिक जिवनलाई नै प्रभावित बनाइदियो ।परिवारमा एकजनालाई संक्रमण पुष्टि भए सबैमा संक्रमण देखियो ।

संक्रमितमा लक्षण पनि कडा देखियो। चिकित्सकहरुलाई पनि उपचार सहजतामा हम्मेहम्मे बनाएको कोभिड संक्रमणले एकै महिनामा ठूलो क्षति पुर्‍यायो । बैशाख महिनामा मात्र बाँकेमा २४२ जनाले ज्यान गुमाए भने करिब १० हजार बढीमा संक्रमण पुष्टि भयो । संक्रमणकै कारण ज्यान गुमाएका २४२ जना मध्ये बाँके जिल्लाका मात्र १६७ थिए ।

कोभिडको पहिलो लहरमा १ वर्षसम्म करिब ४ हजार एकसय जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण फैलने दर कस्तो थियो यसैबाट स्पष्ट हुन्छ । जिल्लाका तीनवटा प्रयोगशालामा शत प्रतिशत सम्ममा संक्रमण पुष्टि हुंदा नेपालगन्ज र समग्र जिल्ला रोइरहेको थियो । एकाएक अस्पताल भरिँदा कतिले उपचार अभावमै पनि ज्यान गुमाए ।

अक्सिजन अभाव, अस्पतालमा बेड प्याक । यो अबस्थामा अस्पताल तथा स्वास्थ्यकर्मीहरुले हात उठाएको भए के हुन्थ्यो होला ? तर भाइरस रोकथाम, निदान र उपचारमा उनीहरु अहोरात्र खटिरहे । संक्रमित बिरामीको उपचारमा नेपालगन्जमा रहेको भेरी अस्पतालले गरेको प्रयास सायद यस क्षेत्रका र बाहिरबाट उपचारका लागि आएका नागरिकले कहिल्यै बिर्सन सक्ने छैनन् ।

बेड भरिदा पनि विकल्प खोज्न निरन्तर फिल्डमा खट्ने अस्पतालका कोभिड कमाण्डर डा प्रकाश बहादुर थापा नेतृत्वको सम्पुर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीको टिम, अस्पताल विकास समिति र स्वस्फूर्तरुपमा खटिएका अभियन्ताको टीमको निरन्तरको खटाईले थुप्रै बिरामीको ज्यान जोगियो ।

अस्पतालको कोलिया होस् वा प्राङ्गणमा नै किन नहोस् बेडहरु निर्माण गरि बिरामीलाई उपचार गरिरह्यो । जिल्लामा रहेको अर्को ठूलो अस्पताल नेपालगन्ज मेडिकल कलेजले पनि माहामारीसँगको लडाईमा हात उठाएन । बरु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई कोभिड अस्पताल नै बनायो । इमरजेन्सी वार्डमा समेत कोभिड विरामीलाई सेवा दियो ।

अन्य रोगका विरामीलाई नेपालगन्ज मेडिकल कलेजमा उपचार गर्ने व्यवस्था मिलायो । निरन्तर संक्रमित बिरामीको उपचारको व्यवस्थापनमा अस्पतालका सहायक निर्देशक नितेश कनोडिया खटिरहे । त्यसो त वेष्टर्न अस्पताल नेपालगन्जले पनि कोभिडमा आफ्नो भूमिका अव्व्ल बनायो । धेरैलाई थाहा नै थिएन् वेष्टर्न अस्पतालले कोभिडका कैयौं विरामीको शल्यक्रिया गरेर ज्यान जोगाएको ।

तर अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले विज्ञप्ती जारी गरेर एक महिनाको अवधिमा १८ वटा शल्यक्रिया गरिएको जानकारी दिनुभयो । सम्भवतः यति धेरै संक्रमितको एक महिनाको अवधिमा शल्यक्रिया गर्ने पश्चिमकै पहिलो अस्पतालका रुपमा आफुलाई स्थापित गराउन सफल भयो ।

नेपालगन्जको युनाइटेड अस्पतालले पनि कोभिड विरामीको उपचारमा ठूलो योगदान पुर्यायो । गम्भीर अवस्थाका विरामीको उपचारमा भेरी अस्पतालका फिजिसियन डा रजनी केसी शाह अहोरात्र खटिनुभयो । भेरी अस्पतालका विरामीको उपचारमा पनि उस्तै सेवा प्रवाह गर्नुभएकी रजनीले युनाइटेडका विरामीलाई पनि साँझ विहान आफै खटेर सेवा दिनुभयो ।

बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुँदापनि आजसम्म यी अस्पतालहरु विरामीको उपचारमा निरन्तर लागिरहेका छन् । नेपालगन्जको गर्मी अनि स्वास्थ्यकर्मी दिनरात पीपीइमा खट्नुपर्दा पक्कै सजिलो छैन । कतिले यो माहामारीमा संक्रमित हुँदापनि आराम नगरि बिरामीको सेवा गरेका छन् भने कतिले काखे बच्चा, घरमा बुढा आमाबुवा छाडेर पनि सेवामै छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीबाट उपचार पाएर नयाँ जीवन पाउनेहरुले सायद ढुंगाको मुर्ति पुज्न छाडेर यीनै स्वास्थ्यकर्मीलाई पुज्ने छन् । हुन त यो लडाई पक्कै सकिएको छैन् तर जिल्ला सामान्य अवस्थामा फर्कन आतुर छ । अहिले संक्रमण दर निरन्तर घटिरहदा सामान्य जनजिवनको आशा सबैले गरिरहेका छन् ।

बाँके भित्र संक्रमितको संख्या घट्दो क्रममा छ । झन्डै चार अंक नजिक पुगेको संक्रमण दर अहिले दुई अंकमा खुम्चिएको छ । मृत्यु पनि जिल्लाका भन्दा जिल्ला बाहिरबाट उपचारका लागि आएकाहरुको बढी भैरहेको छ। कुनै बेला दैनिक १५ देखि १७ जनासम्म मृत्यु हुने बाँकेमा अहिले औषत तीन चार जनामा झरेको छ । जिल्ला बाहिरको अवस्था पनि बिस्तारै नियन्त्रणमा आउने कुरामा सबै विश्वस्त छन् ।

अहिले बाँकेमा संक्रमण पुष्टि भए अस्पतालमा बेड पाउँछ । आईसियू चाहिए, त्यो नि पाउँछ । यो जानकारी दिँदा नै कत्ति खुशी लाग्छ । किनभने गर्भमा बच्चा बोकेका दुई जिउका दिदिबहिनीले समेत कुनै बेला बेड नपाएर छटपटाउनु पर्ने अवस्था यही बाँकेमा थियो । अहिले संक्रमण दर घट्दो क्रममा भएपनि चिकित्सकहरुले स्वास्थ्य सावधानी अपनाउन अपिल गरिरहेका छन् ।

लापरवाहीले पनि यो क्षति बेहोर्नु परेको भन्दै संवेदनशिल हुन चिकित्सकहरु आग्रह गर्छन । अस्पातलमा बेड छैनन् भनि घरमै जटिल अवस्थामा पुग्दा सम्म नबस्न उपचारमा संलग्न चिकित्सकहरुको अपिल छ । अहिले जटिल अवस्थामा बिरामी अस्पताल आउने गरेको भएर पनि मृत्यु दर घटेको छैन ।

डर कायमै छ, संक्रमणको जोखिम उस्तै छ तर हामी चाडै सामान्य अवस्थामा फर्कदै छौ । धन्यवाद ज्यानको बाजी लगाई दिनरात यो माहामारीसँगको लडाई लड्नुहुने चिकित्सक, स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी अनि सबै सबै । बाँके सजिलै हार्दैन । संक्रमणकै कारण ज्यान गुमाउनेहरु प्रति भावपूर्ण श्रदान्जली

 

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech