काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने सेवाको शुल्क ७ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।
उपचार वापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्य सूची वेवसाइड तथा सूचना पाटीमा राख्न निर्देशन दिएको हो।
त्यस्तै उक्त मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पनि पठाउन भनिएको छ ।
बिरामीको उपचारवापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचारका लागि चाहिने सामान बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो हेलो सरकार मार्फत, कतिपय गुनासा पत्रपित्रका र कतिपय सोझै मन्त्रालयमा आउने गरेको मन्त्रालयले जनाएको छ ।
सोप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।