काठमाडौं: विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । उहाँको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।
कोभिड संक्रमण पुष्टि भएपछि केहीदिनअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । थापालाई सुरुमा उपचारका लागि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । ह्याम्सले ग्राण्डी अस्पताल रेफर गरेपनि इसिएमओ प्रविधिबाट उपचार गर्नुपर्ने भएपछि उहाँलाई मेडिसिटी लगिएको थियो।थापामा कोभिड सिभियर निमोनिया भइसकेकाले स्वास्थ्य अवस्था बिग्रदै गएको थियो।
“विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद २०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे हामीबिच रहनु भएन”, विवेकशील साझाका संयोजक मिलन पाण्डेले फेसबुकमा लेख्नुभएको छ ।
उपचारमा रहनुभएका थापाको अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।