भेरी घटना: के छ छानबिन समितिको प्रतिबेदनमा ?

    • स्वास्थ्य पेज

  • १६ जेष्ठ २०७८, आईतवार

नेपालगन्ज: भेरी अस्पतालका चिकित्सक तथा नर्समाथी भएको आक्रमण घटनाको छानबिन गर्न बनेको समितिले आज आइतबार आफ्नो प्रतिबेदन बुझाउने भएको छ ।

बिहिवार राती कोभिड संक्रमित बिरामीको उपचारकाक्रममा मृत्यु भएपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै बिरामीका आफन्तले ड्युटीमा खटिएका चिकित्सक र नर्समाथी भौतिक आक्रमण गरेका थिए ।

त्यसक्रममा एकजना चिकित्सक र तीन जना नर्स एक तलामाथी रहेको शौचालयको झ्यालबाट हामफालेर ज्यान जोगाएका थिए।
ड्युटीमै खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी आक्रमण भएपछि अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी दोषीलाई कारबाही र आफुहरुको ज्यानको सुरुक्षाको माग राख्दै आन्दोलित भएका थिए ।

बाँकेका प्रजिअ शिबराम गेलाल, बाँकेका एसपी ओम राणा,अस्पताल बिकास समितीका अध्यक्ष प्रमोद धिताल, अस्पतालका मेसु डा प्रकाश थापालगायतको उपस्थितिमा बिहिवार मध्ये राती सहायक प्रजिअ शंकर बिस्टको संयोजकत्वमा छानबिन गर्न ७ सदस्यीय समिति बनेको थियो ।

त्यो समितिलाई घटनाको बास्तबिकता पत्ता लगाइ प्रतिबेदन बुझाउन तीन दिनको समय दिइएको थियो । उक्त समितिलाई दिइएको समय सीमा आज सकिँदैछ । समितिले चिकित्सक तथा नर्समाथी आक्रमण भएको निष्कर्ष निकालेको छ ।

समितिले बिरामीका आफन्तले चिकित्सक तथा नर्समाथि आक्रमण गरेको, ज्यान जोगाउन उनिहरुले एकतला माथिबाट हाम्फाल्न बाध्य भएको निष्कर्ष निकालेको छ । कोभिड आइसोलेसन वार्डको पहिलो तलाबाट ती चिकित्सक र नर्सले ज्यान जोगाउन करिव १३ फिटबाट जमिनमा हामफालेका थिए ।

घटनामा बाहिरी मान्छेहरुको पनि संलग्नता रहेको भनिएको भनिए पनि समितिले त्यसको आधार भने नभेटिएको उल्लेख गरेको छ । समितिका एकजना सदस्यले स्वास्थ्य पेजलाई भने-`घटनामा मृतकका भाई र छोराको मात्र संलग्नता देखिन्छ ।´

सिसिटिभिका फुटेजहरुको अध्यन गर्दा तीनजनाको संलग्नता देखिएकाले बाहिरी मान्छे पनि थिए भन्ने कुरा आधारहिन भएको ती सदस्यले बताए । समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले प्रतिबेदन मोटामोटीरुपमा तयार भैसकेकाले त्यसलाई मुर्तरुप दिने काम मात्रै बाँकी रहेको बताउनुभयो ।

`समितिलाई आजसम्म प्रतिबेदन बुझाउने जिम्मा छ उहाँले भन्नुभयो- `समितिको अहिले बैठक बसेर त्यसलाई अन्तिमरुप दिएर प्रजिअलाई बुझाउंछौ ।´

समितिले घटनास्थलका सिसिटिभी फुटेजको अध्ययन, पीडित चिकित्सक र नर्स, अस्पतालका मेसु, अस्पताल बिकास समितिका अध्यक्ष, कोभिड आइसोलेसन वार्डका इन्चार्ज, घटनाका बेला ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलगायतसंग सोधपुछ गरेपछि चिकित्सक तथा नर्समाथी आक्रमण गर्ने मृतकका भाई मानबहादुर र छोरा लोकराजसँग सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालय पुगेको थियो ।

त्यहाँ पुगेको समितिको टोलीलाई मानबहादुरले घटना सकारेका थिए । उनले घटना दुखद भएको भन्दै गल्ती भएको स्वीकार गरेको समितिका सदस्यहरुले बताए । घटनापछि मानबहादुरले सामाजिक संजाल फेसबुकमा चिकित्सक तथा नर्समाथी धम्कीपुर्ण भाषा प्रयोग गरेका थिए ।

समितिले त्यसबारे पनि प्रश्न उठाएको थियो । मानबहादुरले त्यसलाई आवेश र दाई गुमाउँदाको पीडा भनेका थिए । यस्तै मृतकका छोरा लोकराजले भेरीमा भएको घटना भबितब्य भएको भनेका थिए । उनले बुवालाई भेन्टिलेटरमा नराख्न भन्दा भन्दै चिकित्सकहरुले जबर्जस्ति राखेको बताए ।

आफुहरुले भनेको नमान्दा बिरामीको मृत्यु भएको उनको भनाइ थियो । आफ्नो बुवा गुमाउंदा आवेश र आक्रोश थाम्न नस्क्दा घटना हुन पुगेको लोकराजको भनाइ थियो । यी सबै कुरा समेटेर प्रदिबेदन तयार पारिएको छ ।

कोरोना संक्रमित दाङ तुलसीपुरका डिल्ली राज रावतको उपचारका क्रममा बिहिबार राती मृत्यु भएपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै रावतका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले कोभिड आइसीयूमा तोडफोड गर्नुका साथै ड्युटीमा खटिएका चिकित्सक तथा नर्सलाई आक्रमण गरेका थिए । उनिहरु तीनै जना विरुद्ध प्रहरीमा ज्यान मार्ने उधोगमा मुद्दा दर्ता भएको छ ।

 

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech