बन्द आइसोलेसन फेरि सन्चालन

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७७, शुक्रबार

तस्विरः फाइल

नेपालगन्ज १६, साउन ।

बाँकेमा कोरोना संक्रमितको संख्या थपिएसँगै बन्द रहेका आइसोलेसन सेन्टरहरु पुनः सन्चालनमा ल्याउन थालिएको छ । यसअघि संक्रमितको संख्या घट्दै जानु र आइसोलेसनमा बसेकाहरु पनि निको भएर घर फर्किएपछि जिल्लामा सन्चालनमा ल्याइएका आइसोलेसन सेन्टर धमाधम बन्द गरिएको थियो ।

तर पछिल्लो सातादेखि लगाताररुपमा संक्रमित थपिनेक्रम बढेसँगै बन्द भएका आइसोलेसन फेरि सन्चालनमा ल्याउन थालिएको हो । विहीबार एकैदिन ३० जना संक्रमित थपिएसँगै लायन्स डेन्टल अस्पताल नेपालगन्जको आइसोलेसन वार्ड सन्चालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । बाँकेमा १३ वटा आइसोलेसन सेन्टर छन् । तिमध्ये ११ वटा आइसोलेसन सेन्टर बन्द भइसकेका थिए । तर संक्रमित संख्या थपिएपछि लायन्सको आइसोलेसन फेरि सन्चालनमा ल्याइएको छ भने आन्तरिक राजश्व कार्यालयलाई आइसोलेसन सेन्टरनै बनाइएको छ ।

फोकलपर्सन श्रेष्ठका अनुसार उक्त आइसोलेसनमा विहीबार संक्रमण पुष्टि भएका मध्ये १० जनालाई राखिएको छ । कोरोनामुक्त तयारी गरिएको बाँकेमा लकडाउन खुलेसँग कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमणको जोखिम समुदायस्तरमै फैलिएपछि स्थानीय प्रशासनले शनिवारराती देखि लागु हुने गरी तीन दिन निषेधाज्ञा जारी गरिसकेको छ ।

  • १६ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech