धनगढी: कैलालीको गेटा मेडिकल कलेजको भवनमा कोभिड १९ केयर सेन्टर सञ्चालनमा आएको छ ।
सुदूरपश्चिम प्रदेशमा बढ्दै गइरहेको कोरोना संक्रमणदरलाई मध्यनजर गर्दै कलेजमा कोभिड १९ केयर सेन्टर निमार्ण गरिएको हो । संघीय सरकार तथा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाको समन्वयमा कोरोना संक्रमितको उपचारका लागि कोभिड–१९ केयर सञ्चालनमा ल्याइएको हो ।
संक्रमितको उपचारका लागि आइतबारदेखि सेवा सञ्चालन गरिएको कोभिड–१९ केयर सेन्टर उपसमितिका संयोजक शर्मानन्द भट्टले जानकारी दिनुभयो । १ महिनादेखि निर्माणको प्रक्रियामा रहेको आइसोलेसन यसअघि अक्सिजन ग्यास र जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सुरुवात गर्नमा ढिलाइ भइरहेको थियो ।
उक्त सेन्टरमा संक्रमितको उपचारका लागि धनगढी उपमहानगरपालिकाले एक जना मेडिकल अफिसरसहित ८ जना स्वास्थ्यकर्मी, गोदावरी नगरपालिकाले ७ जना र गौरीगंगा नगरपालिकाले ३ स्वास्थ्यकर्मी खटाएको छ ।
अक्सिजन सर्पोटमा राखेर उपचार गर्नुपर्ने संक्रमित बिरामीको त्यहा उपचार हुनेछ भने क्रिटिकल केयर आइसियु, भेन्टिलेटरको सहायता आवश्यकपर्ने बिरामीहरुलाई सेती तथा मालाखेती अस्पताल पठाइने छ ।गेटामा कोभिड केयर सेन्टर सञ्चालनमा आएसँगै शय्या अभावमा बिरामीहरुको उपचारमा समस्या नपर्ने विश्वास गरिएको छ ।