नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप पाँच जनाको मृत्यु भएको छ ।
संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा चार जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप पाँच जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा बबइ गाउँपालिका-२ दाङका ९२ वर्षीय वृद्ध , ठाकुरबाबा नगरपालिका-७ बर्दियाका ३८ वर्षीय पुरुष, टिकापुर नगरपालिका-१ कैलालीका ६० वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका-६ कैलालीका ३३ वर्षीया महिला र जानकी गाउँपालिका-९ कैलालीका ७५ वर्षीया महिला हुनुुहुन्छ ।
उहाँहरुको शनिबार दिउसो ४ बजेदेखि ५:५० बजेको अन्तरमा मृत्यु भएको हो । योसँगै हालसम्म कोरोना संक्रमणका कारण बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २३७ जना र जिल्लाकै २७३ जनाको मृत्यु भईसकेको छ ।