नेपालगन्ज: जिल्लाका तीनवटा प्रयोगशालामा ६२४ नमुना परीक्षण गर्दा शनिबार थप ४३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको पीसीआर प्रयोगशालामा शनिबार ४१३ नमुना परीक्षण गर्दा ३६० जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ११३ नमुना जाँच गर्दा ३२ जना र बागेश्वरी ल्याबमा ९८ नमुना परीक्षण गर्दा ३९ जना गरि कुल ४३१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका ९५ जना मात्र छन् । जिल्लाका ३४ जना महिला र ६१ जना पुरुष गरि कुल ९५ जनामा संक्रमण पुष्टि भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । कुल ६९.०७ प्रतिशतमा संक्रमण पुष्टि हुदा बाँकेका २२ प्रतिशत मात्र छन् । बाँकेमा आजसम्म ७४ हजार ५३७ जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।
संक्रमण मुक्त भएर आज थप २०३ जना डिस्चार्ज भएका छन् । जिल्लाका ९९ जना महिला र १०४ जना पुरुष कोभिड संक्रमणबाट निको भएका हुन् ।
संक्रमणका कारण बाँकेका अस्पतालमा उपचारका क्रममा गएको २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। १४ जना मध्य जिल्लाका ४ जना छन् भने जिल्ला बाहिरका १० जना छन् ।