नेपालगन्जः जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो चरणको भाइरस संक्रमण फैलिँदा पनि चिकित्सकसहितको टोली प्रदेशका जिल्ला जिल्लामा परिचालन गरेको थियो । त्यसबाट भाइरस संक्रमण नियन्त्रण, निदान र उपचार प्रभावकारी भएपछि दोस्रो चरणमा पनि प्रष्ठिानले चिकित्सकसहितको विज्ञ टोली खटाएको हो ।
कोरोना नियन्त्रणमा परिचालन भएको विशेष टास्कफोर्स टोलीले मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, पश्चिम रुकुम र बाँकेमा कोभिड उपचारलाई व्यवस्थित बनाउनेदेखि जनचेतनामुलक कार्यक्रम गर्ने प्रतिष्ठानका प्रवक्ता डा रमेश भट्टराईले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।
केही जिल्लामा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पुगिसकेको छ । केही जिल्लामा पुग्नेक्रममा रहेको पनि उहाँले बताउनुभयो । प्रतिष्ठानले दुई तरिकाले टास्कफोर्स परिचालन गरेको छ । ‘जिल्ला–जिल्लामा खटाएको टोली विशेषज्ञसहितको हो उहाँले भन्नुभयो–‘अर्को टोली जुम्लाका सबै पालिकामा खटिएको छ, पालिकामा खटिएको टोलीले त्यहाँ बनाइएका आइसोलेसनमा भर्ना भएका कोभिड विरामीको उपचार गर्नु हुन्छ क्रिटिकल अवस्था भए प्रष्ठिानमा पठाउनुहुन्छ ।’
जिल्ला बाहिर खटिएको टोलीले भने त्यहीका चिकित्सकहरुसँग समन्वय आफ्नो विशेषज्ञताअनुसार, कोभिड उपचारलाई व्यवस्थित गर्ने काम गर्नेछन् । ‘केही मेडिकल म्यानेजमेन्ट छ भने टास्कफोर्स टिमले त्यो पनि गर्छ डा भट्टराईले भन्नुभयो–‘नत्र विशेषगरी कोभिड उपचारलाई व्यवस्थित गर्ने सवालमै टोली खटिन्छ ।’
अति आवश्यक परे ननकोभिडका विरामीको उपचार व्यवस्थापनमा पनि टोलीले सहयोग गर्नेछ । प्रतिष्ठानको विशेष टास्कफोर्समा दुई दर्जन जनशक्ति परिचालन गरेको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा प्रतिष्ठानका सहप्रध्यापक डा प्रविण गिरी नेतृत्वको टोली खटिसकेको छ । उहाँका अनुसार कर्णालीको मुगुमा सहायक प्रध्यापक डा.सिद्धार्थ ध्वज खाती र मेडिकल अधिकृत डा रेखा कार्की खटिनुभएको छ ।
कालिकोटमा सहायक प्रध्यापक डा रिबिन खापुङ र डा।सुबि बस्न्यात, हुम्लामा सहायक प्रध्यापक डा.माणिक न्यौपाने र ओटि सहायक राजबहादुर खत्री, डोल्पामा लेक्चर डा.अभिसेक ठाकुर र सिनियर अहेब कर्मेन्द्र न्यौपाने खटिनुभएको छ ।
यसैगरी पश्चिम रुकुममा सह प्रध्यापक डा. अनुप मंगल समाल र लेक्चर सिला थापा खटिएको पनि उहाँले जानकारी दिनुभयो । जुम्लामा रहेको प्रतिष्ठानले जिल्लामा सबै स्थानीय तहमा रहेका कोभिड अस्पतालमा एकएक जना चिकित्सक खटाएर उपचार सेवा प्रदान गरिरहेको छ ।
प्रतिष्ठानमा १२ बेडको आइसियु,२४ बेडको एचडियु सहित अहिले १ सय २० बेड कोरोना विशेष उपचार सेवा प्रवाह भइरहेको जनाएको छ ।