नेपालगन्ज: मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना भाइरस संक्रमित बिरामीको सानो आन्द्राको सफल शल्यक्रिया गरिएको छ । खजुरा गाउँपालिका-३ बाँकेका ६० वर्षिय संक्रमित पुरुषको आन्द्राको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।
कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खजुरा स्थित आइसोलेसनमा बसेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि मेडिकल कलेज रिफर गरिएको थियो ।
अत्याधीक पेट दुखाई र बान्ता हुने समस्या भएपछि बैशाख ३० गते अस्पताल ल्याईएका उनको ल्याब परीक्षण तथा भिडियो एक्सरे गरि हेर्दा सानो आन्द्रा वटारिएको (Acute Intestinal Obstruction Secondary to Ileal Volvulus with Gangrenous Bowel)अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
‘अस्पतालमा तत्काल आवश्यक चेकजाँच गर्दा उनको सानो आन्द्रा बटारिएर कुहिएको देखियो अस्पतालका सह-निर्देशक डा नितेशकुमार कनोडियाले भन्नुभयो–‘बटारिएर कुहिएको भाग काटेर फालियो र आन्द्रा जोडियो ।’ मेडिकल कलेजका अनुसार बिरामीको साढे २ घण्टा लगाएर आन्द्राको सफल शल्यक्रिया गरिएको हो ।
उनको जेष्ठ १ गते नेपालगंज मेडिकल कलेजका उप–प्राचार्य तथा वरिष्ठ सर्जन डा.अनुप शर्माको नेतृत्वमा सर्जन डा.दिग्विजय विक्रम खड्का, सर्जरी विभागका डा.प्रविर महर्जन, एनेष्थेसिया विभागका डा.रनिश श्रेष्ठ, स्टाफ नर्सहरु दुर्गा पन्त, पुतला विष्ट, पार्वती शाही लगायतको टीमले सफल शल्यक्रिया गरेको हो ।
अस्पतालका अनुसार अहिले बिरामीको अवस्था सुधारन्मुख छ । मेडिकल कलेजले केहिदिनअघि मात्र खजुराकै एक कोरोना संक्रमित पुरुषको हाडजोर्नीको सफल शल्यक्रिया गरेको थियो । त्यस्तै अस्पतालले कोरोना भाइरस संक्रमित गर्भवतिको शल्यक्रिया समेत गर्ने गरेको छ ।