काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको दोस्रो लहर भयावह बन्दै गएकाले अक्सिजन, भेन्टिलेटरलगायत अत्यावश्यक मेडिकल उपकरणको अभाव हुन नदिन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उहाँले महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताउनुभएको हो ।
अक्सिजनको आपूर्ति तथा उपकरणको उपलब्धतामा सबैको जोड हुनुपर्ने बताउँदै उहाँले अक्सिजन, औषधिलगायत अत्यावश्यक सामग्रीको जोहो गर्न सरकार गम्भीर भएर लाग्ने दृढता व्यक्त गर्नुभयो ।
कोभिड नियन्त्रण गर्न सरकारले गरिरेहेका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैरआवासीय नेपाली सबैको आ-आफ्ना ठाउँबाट संगठित प्रयासको खाँचो रहेको उहाँको भनाई छ ।
कोरोना संक्रमण बढिरहेका बेला जनतालाई अत्यास लाग्ने अभिव्यक्ति कोही कसैले पनि दिन नहुनेमा जोड दिँदै उहाँले नागरिकको उपचार सरकारले गर्ने बताउनुभयो । हाम्रो स्वास्थ्य प्रणालीमा केही समस्या देखिएका होलान् तर ‘कोल्याप्स’ भएको छैन’, प्रधानमन्त्रीले भन्नुभयो- समस्या भए समस्या छन् पो भन्नुपर्यो, कोल्याप्स भयो त भन्नुभएन नि ।
यस्तै प्रधानमन्त्री ओलीले संक्रमित होम आइसोलेशनमा बस्दा समुदायमा संक्रमण फैलिएको हुन सक्नेतर्फ सरकार सचेत रहेको जनाउँदै होम आइसोलेशनमा बसेका संक्रमितले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री, सुरक्षा निकायका प्रमुख, विशेषज्ञ चिकित्सक, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति थियो ।