पर्सा १२, साउन ।
कोभिड-१९ को विश्व महामारीबाट बच्न नेपालमा पनि चैत ११ गते रातिदेखि साउन ६ गते रातिसम्म लकडाउन गरियो। बुधबार उज्यालो भइसकेपछि आम नेपालीले लकडाउन हटेको महसुस गरे। तर लकडाउन हटे पनि संक्रमण समुदायस्तरमा फैलन सक्ने त्रास उत्तिकै छ। गएको चैत ३० गते वीरगन्जमा ३ जना भारतीय मुस्लिम जमातीमा संक्रमण पुष्टि भएपछि प्रदेश २ अछुतो भएन। सात प्रदेश भएको मुलुकमा सुरुका दिनमा नै प्रदेश २ संक्रमित हुने शंकास्पद क्षेत्रका रुपमा दरियो। लकडाउन हटेपछि बुधबार राति प्रदेश २ कै वीरगन्जमा उपचारार्थ स्थानीय ७० वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भइसकेको छ। कुनै लक्षण नदेखिएका र संक्रमितको सम्पर्कमा नपुगेका उनी श्वास प्रश्वासका पुराना बिरामी थिए। उनी उपचार गराउन अस्पताल गएको समयमा स्वाब संकलन भएको थियो। रिपोर्ट आउनुपूर्व उनको निधन भयो। शुक्रबार मात्र पर्सामा केही घन्टाको अन्तरालमै दुई जना कोरोनाका बिरामीको ज्यान गयो। एक ८५ वर्षीया वृद्धाको कोरोनाका कारण गण्डक अस्पतालमा नै उपचारका क्रममा मृत्यु भएको थियो। त्यसको केही घण्टा बित्न नपाउँदै सोही अस्पतालमा उपचार गराइरहेकी अर्की १७ वर्षीया युवतीको मृत्यु भएको अस्पतालले जनाएको छ। यसरी पछिल्लो दुई दिनमा कोरोनाका कारण स्थानीयको मृत्यु हुन थालेपछि पर्साको वीरगन्जमा शनिबार बिहान पाँच बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा लगाइएको छ। जिल्लाका राजनीतिक दलका प्रमुख, वीरगन्जमा महानगरपालिका नगर प्रमुख, जिल्लाका सबै सुरक्षा अंगका प्रमुखहरूको शुक्रबार बसेको सर्वदलीय बैठकपछि यस्तो निर्णय भएको हो। प्रदेशका ६ जिल्लाबाट आउने संक्रमित उपचार गर्दै आएको वीरगन्जको नारायणी अस्पतालले पछिल्लो अवस्थालाई कसरी नियालिरहेको छरु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपाध्याय सँग पत्रकार तुलसी भण्डारीले गरेको कुराकानी:
वीरगन्ज क्षेत्रमा कोरोनाका कारण स्थानीयको मृत्यु हुन थालेको छ। पछिल्लो अवस्था कस्तो छ?
महामारीको प्रकोप प्रदेश २ मा हटेको छैन। रौतहट सर्लाही, धनुषा अलि बढी र पर्सा बारामा मध्य जस्तो देखिएका छन्। सुरुका दिनमा निकै संक्रमित फेला परेको यो क्षेत्र पछिल्ला दिनमा मत्थर जस्तो देखिए पनि कुन समयमा ह्वात्तै महामारी आउने हो भनेर हामी सावधान छौं । किनभने चीनमा सबै नियन्त्रण भयो भनिएका ठाउँमा पनि पछिल्ला दिनमा ह्वात्तैै संक्रमित बढेको हामीले नियालि रहेका थियौं । विश्वका कतिपय मुलुकमा पनि लकडाउन खुकुलो भएको स्थानमा त्यहाँका मानिसले खाएको चोट हामीले देखिरहेका छौं सुनिरहेका छौं। जोखिम काठमाडौं तर्फ बढेको जस्तो ठानी हामी कहाँ मास्क, सेनिटाइजरको प्रयोग घटेको छ। आफूलाई सुरक्षित राख्न छाडेका छौं। सुरक्षा सतर्कताका कुरा हेलचेक्रयाइँ गरेका छन्। यही किसिमले दैनिकी बढे भोलि ठूलो पश्चाताप नहोला भन्न सकिन्न।
सजगता अपनाउन के सुझाव दिनु हुन्छ त ?
सजगता भनेको के हो ? भने समाजमा भएका हरेक व्यक्ति जिम्मेवार हुनु हो। राज्यले मात्र, चिकित्सक वा प्रशासनका व्यक्तिले मात्र सजगता अपनाउनुपर्छ भन्ने होइन। अरुको मात्र जिम्मेवारी हो भन्ने पनि होइन। समुदायमा रहेका हरेक परिवारका हरेक सदस्य जिम्मेवार छौं। सबैले सजगता अपनाउनु पर्छ। भौतिक दूरी नराख्दा, मास्क, पन्जा, सेनिटाइजर जस्ता कुरा सबैले प्रयोग नगर्दा कोरोना बाहिर गएको हो। फोहोर छोएको छ भने साबुनपानीले हात नधुँदा संक्रमण हुने हो। बाहिर कतै जाँदा सुरक्षा सर्तकता अपनाउनै पर्छ। संक्रमण कोसँग छ वा छैन भन्ने नै एकिन भन्न नसक्ने अवस्थामा सुरक्षा सतर्कता अपनाउन चुक्यौं भने भोलि कोरोना संक्रमणको बाढी नआउला भन्न सकिन्न।
त्यसो भए परीक्षणको दायरा कस्तो छ त अहिले ?
परीक्षणको दायरा वास्तवमा पहिलेभन्दा संकुचन भएकै हो कि अथवा हामीले परिक्षण गर्नुपर्ने प्रोटोकल अनुसारको व्यक्ति नभेटेको हो कि जस्तो भएको छ। अहिले सरकारले आइसोलेसनमा भएका लक्षण नदेखिएकालाई १४ दिन र देखिएकालाई थप ३ दिन राखेर कुनै जाँच नगरी डिस्चार्ज गर्ने गाइड लाइन दिएको छ। परीक्षणको प्रोटोकल पहिले २ पटक नेगेटिभ भएपछि मात्र डिस्चार्ज गर्ने थियो। अहिलेको प्राक्टिस क्वारेन्टाइनमा भएकालाई पिसिआर गर्न नपर्ने भयो। अहिलेको गाइड लाइन आरडिटी पोजेटिभ आएपछि मात्र पिसिआर परीक्षण गर्ने भनिएको छ। अर्को स्क्रिनिङको काम भइरहे पनि पीसिआर परिक्षणको दायरा बढेको जस्तो छैन।
कतिपयले एक पटक पिसिआर गरेपछि पुनः हुँदैन जस्तो गरिरहेका छन्। कुनै जिल्लामा त प्रमाणपत्र नै दिएको देखिन्छ। वास्तविकता के हो ?
यो एकदमै गलत बुझाइ हो। एक पटक नेगेटिभ आए सधैंका लागि नेगेटिभ हुँदैन। स्वाब संकलन भएको समयसम्मका लागि मात्र त्यसले भरपर्दो बनाउनु हो। तर कति जिल्लामा त हुँदा हुँदा सधैंका लागि कोरोनामुक्त जस्तो गरी प्रमाणपत्र नै दिएको पनि सामाजिक संजालमा देखियो। यो सरासर गलत काम हो। स्वास्थ्य सतर्कताका लागि तीनैथरी सरकारको सहयोग र समन्वय कत्तिको छ रु यो प्रदेश २ मा तीन तहको सरकारको समन्वय र सहकार्य नपुगेको पहिले पनि मैले टिप्पणी चाहिँ गरेको हो। अहिले पनि जुन किसिमको समन्वय हुनु पर्ने हो त्यो भएको छैन। अझै तालमेल भएजस्तो लाग्दैन। क्वारेन्टाइन, आइसोलेसन र अस्पतालमा भने जस्तो तयारी पुगेन। संक्रमण बढ्दै गयो भने थप तयारी गर्नै पर्छ। क्वारेन्टाइनमा त्यहाँ बस्ने व्यक्तिको स्वास्थ्य, बसाइ, खेलकुद, मनोरञ्जन जस्ता कुरा मात्र नभई खानपानको व्यवस्था गर्न समेत हामी तीन थरी कै सरकार चुक्यौँ। त्यसैले त्यहाँ बस्ने कोही भागेको, कसैले आत्महत्या गर्ने जस्ता कुरा बाहिर आए। त्यहाँ जेल जस्तो गरी राखियो भन्ने गुनासा आए। स्थानीय सरकारले पनि क्वारेन्टाइन बनाइ दियौं भन्ने सम्म बुझ्यो। त्यो बुझाइ पर्याप्त थिएन। त्यसको स्तर र आवश्यक पूर्वाधार पूरा गर्नेतर्फ कसैको ध्यान पुग्न सकेन । केन्द्र सरकारले पनि तलसम्म त्यो कुरा बुझाउन सकेन। नत प्रदेश सरकारले अनुगमन नैं गर्न सक्यो।