काठमाडौं: अक्सिजन सिलिन्डर आयातका लागि सरकारले गरेको टेन्डरमा कसैले पनि सहभागिता नजनाएपछि पुनः टेन्डर आह्वान गर्ने तयारी सुरु भएको छ ।
कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव भएपछि सरकारले यसको आयातका लागि टेन्डर आह्वान गरेको थियो । यसमा कसैले पनि सहभागिता नजनाएपछि सरकारले अहिले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ ।
स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराइदिन अनुरोध गरेको हो । चीनले उपलब्ध गराउने २० हजार सिलिन्डरमध्ये ३ हजार ५०० सिलिन्डर छिट्टै आउने मन्त्रालयको दाबी छ ।
अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था आएपछि मुलुकभर अक्सिजनको अभाव छ ।
कोभिड संक्रमित बिरामीहरुको उपचामा संलग्न चिकित्सकहरुका अनुसार अहिले अस्पतालमा आउने ८० प्रतिशत बढी बिरामीहरु अक्सिजन चाहिनेहरु हुनुहुन्छ ।
संक्रमित संख्या दिनहु बढ्दै गएपछि अक्सिजन अभाव देखाउँदै केहि अस्पतालले बिरामी भर्ना पनि रोकेका छन् ।