नेपालगन्जः बाँकेको नरैनापुरमा शनिवार निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर गरिएको छ । नरैनापुर गाउँपालिका वडा नं.२ लक्ष्मणपुरमा शिविर भएको हो । उक्त शिविरमा चार सय बढी स्थानीय लाभान्वित भएको गोपाल नीना फाउन्डेशनका प्रबन्ध निर्देशक डा. गौरव श्रेष्ठले बताए । पेट तथा कलेजो रोग विशेषज्ञ समेत रहेका प्रवन्ध निर्देशक डा.श्रेष्ठले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकहरुलाई घरदैलोमै सेवा दिने उद्देश्यले लक्ष्मणपुरमा शिविर गरिएको बताए ।

शिविरमा खटिएको चिकित्सकको टिम
उक्त शिविरमा फिजिसियन, प्रसूति तथा स्त्री रोग, मुटुरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ तथा छाला रोग विशेषज्ञ लगायतका अनुभवी चिकित्सकहरूले सेवा प्रदान गरेका थिए । शिविरमा चार सय स्थानीय बासिन्दाहरुले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि लगायतले सेवा लिएको फाउन्डेसनका पब्लिक म्यानेजर दिपी गिरीको भनाइ छ ।

सेवा लिने बिरामीहरुको लाइन
नरैनापुर गाउँपालिका, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ, नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन लगायतका संघसंस्थाहरुको प्राविधिक सहयोग समेत रहेको उक्त शिविरमा पेट तथा कलेजो रोग विशेषज्ञ डा.श्रेष्ठ सहित डा.चन्दन सिंह, डा.लक्ष्मण यादव,चन्द्र शेखर यादव, डा.मेघा मण्डल लगायतले विरामीको स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा उपलब्ध गराएको फाउन्डेसनका जनसम्पर्क अधिकृत भिजेन्द्र जिसीले जानकारी दिए ।







