चार अर्ब रुपैयाँको लागतमा दाङको घोराहीमा स्थापना भएको सञ्जीवनी शिक्षण अस्पतालले २०८२ साल माघ २८ गतेदेखि विशेषज्ञ सेवा सहीत अस्पताल संचालन सुरु गरेको छ । साथै दुई महिनाभित्र विशिष्टिकृत सेवा अर्थात् सुपर स्पेसियालिटी सेवा पनि सञ्चालन गर्ने तयारी अस्पतालले गरेको छ । लुम्बिनी प्रदेशकै निजी क्षेत्रको ठूलो स्वास्थ्य लगानीका रुपमा हेरिएको यो अस्पताल दाङसहित आसपासका चार–पाँच जिल्लाका लागि क्रमशः रेफरल अस्पतालका रूपमा स्थापित हुँदै गएको छ । यस क्षेत्रका बिरामीको माग अनुसार अस्पताल नहुँदा बाँके वा रुपन्देही रेफर गर्नुपर्ने बाध्यता थियो । त्यही समस्या समाधान गर्ने उद्देश्यले अस्पताल स्थापना गरिएको हो । मेडिकल कलेज संचालनको अनुभव भएका सस्थाका अध्यक्ष खुमा प्रसाद अर्याल ज्यूको लगानीमा पाँच बिघा क्षेत्रफलमा २०७८ सालमा निर्माण सुरु गरिएको अस्पतालले हाल ३०० शैयाबाट सेवा सञ्चालन गरेको छ । हाल ३०० भन्दा बढी डाक्टर, नर्स, फार्मासिस्ट तथा अन्य कर्मचारी नियुक्त भइसकेका छन् । अस्पतालले हाल प्रदान गरिरहेको सेवा तथा आगामी योजनाबारे अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकासँग स्वास्थ्यपेजका लागि प्रियास्मृति ढकालले गरेको कुराकानीको सम्पादित अंशः
अस्पतालले अहिले कस्तो सेवा प्रदान गर्दै आएको छ ?
अहिले हामीले विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आएका छौं । जस अन्तर्गत जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसूति, जनरल सर्जरी, मानसिक तथा नसा रोग, छाला तथा यौन, शिशु तथा वालरोग, मुटुरोग, ग्यास्ट्रोलोजी, इएनटि, डेन्टल, नेत्ररोग तथा फिजियोथेरापी विशेषज्ञ सेवा उपलब्ध हुनेछन् । एउटा मेडिकल कलेजमा हुने सबै विभागमा विशेषज्ञ सेवा सञ्चालनमा छन् । अस्पतालमा आईसीयू, एनआईसीयू, पीआईसीयू, एसआईसीयू लगायत अत्याधुनिक आपतकालीन सेवाहरू उपलब्ध छन् । ५० शैयाको इमर्जेन्सी वार्ड २४ घण्टा सञ्चालनमा छ । रेडियोलोजी सेवाअन्तर्गत डिजिटल एक्स–रे, भिडियो एक्स–रे, मेमोग्राफी, सीटी स्क्यान, एमआरआई जस्ता आधुनिक सुविधा उपलब्ध छन् । मिर्गौला रोगीका लागि डायलासिस सेवा पनि सञ्चालनमा आउदै छ ।
सुपर स्पेसियालिटी सेवा त सुरु गर्नु भएको छैन नि ?
माघ २८ गतेदेखि अस्पतालले विशेषज्ञ सेवा सुरु गरेको हो । विशेषज्ञ सेवा सञ्चालन गरेको तीन महिनाभित्र विशिष्टिकृत (सुपर स्पेसियालिटी) सेवा सञ्चालन गर्नुपर्ने योजना छ । खासगरी कार्डियोलोजी, न्यूरोलोजी, युरोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, नेफ्रोलोजी जस्ता विशिष्टिकृत सेवाहरू हामीले सुरु गर्नेछौं । यसका लागि तयारी भइरहेको छ ।
यसअघि यस क्षेत्रका चार–पाँच जिल्लाका नागरिकलाई विशेषज्ञ सेवा लिनकै लागि नेपालगञ्ज वा बुटवल जानुपर्ने बाध्यता थियो । अब त्यो अवस्था हट्दै गएको छ । किनकि अधिकांश विशेषज्ञ सेवाहरु अब हामीसँग उपलब्ध छन् ।
सुपर स्पेसियालिटी सेवाका लागि आवश्यक पूर्वाधार र उपकरण तयार छन् ?
सुपर स्पेसियालिटी सेवाका लागि आवश्यक जनशक्तिको विज्ञापन तथा छनौट प्रक्रिया शुरु भएको छ । संरचना तयार गर्ने, उपकरण जडान गर्ने लगायतका काम अन्तिम चरणमा छन् । उदाहरणका लागि मुटु रोगको उपचारका लागि आवश्यक क्याथ ल्याब अहिले सेटअप चरणमा छ । हामीसँग ११ वटा मोडुलर ओटी (अपरेशन थिएटर) छन् । मोडुलर ओटी भनेको सामान्य ओटीभन्दा अझ व्यवस्थित र आधुनिक प्रविधिसहितको अपरेशन कक्ष हो । त्यसैले सुपर स्पेसियालिटी सेवाका लागि आवश्यक अधिकांश पूर्वाधार र उपकरण तयार अवस्थामा छन् ।
भौगोलिक हिसाबले त त्यहाँका जनताका लागि विशेषज्ञ सेवा नै ठूलो उपलब्धि हो नि ?
तपाईंले अत्यन्त महत्वपूर्ण कुरा उठाउनुभयो । साविक राप्तीका जिल्लाहरुको जनसंख्या, जनतामा स्वास्थ्य सेवाको पहुच, अस्पतालहरुको अवस्था, विरामीको चाप, यहाँबाट रिफर गरीएको बिरामीहरुको संख्या लगाएतको बृहद अध्ययन गरी दाङ जिल्लाको घोराहीमा एउटा सुविधा सम्पन्न अस्पताल आवश्यक भएको निष्कर्षमा पुगेर नै अस्पतालको निर्माण योजना बनेको हो । यसअघि यस क्षेत्रका चार–पाँच जिल्लाका नागरिकलाई विशेषज्ञ सेवा लिनकै लागि नेपालगञ्ज वा बुटवल जानुपर्ने बाध्यता थियो । अब त्यो अवस्था हट्दै गएको छ । किनकि अधिकांश विशेषज्ञ सेवाहरु अब हामीसँग उपलब्ध छन् । आईसीयू पनि पर्याप्त छ । ६० भन्दा बढी आईसीयू शैया छन् भने इमर्जेन्सीमै ५० शैया छन् । आपतकालीन अवस्थामा बिरामीको सहज व्यवस्थापन र उपचार होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो । मास क्याजुअल्टी अर्थात् ठूलो दुर्घटना भएमा वा कुनै महामारी फैलीयमा हामी एकैपटक करिब तीन सय बिरामीको आपतकालीन उपचार गर्न सक्ने क्षमता राख्छौं ।
त्यसो भए यस क्षेत्रका बिरामीका लागि सञ्जीवनी अस्पताल रेफरल अस्पताल नै हो ?
निश्चय नै । यस क्षेत्रका धेरै अस्पतालमा पर्याप्त आईसीयू नै छैन । त्यसैले जटिल प्रकृतीका विरामीले सास्ती भोग्नु परेको छ । तर हामीसँग ६० भन्दा बढी आईसीयू छन् । कम्तिमा आईसीयू नपाएर बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था अब रहने छैन । क्रिटिकल केयरका हिसाबले पनि हामी सक्षम छौं । शैयाको संख्या, जनशक्ति र सेवाको गुणस्तर हेर्दा यो क्षेत्रका बिरामीका लागि सञ्जीवनी अस्पताल वरदान नै हो भन्न सकिन्छ ।

दीपक रोका
प्रमुख कार्यकारी अधिकृत
आमा सुरक्षा र स्वास्थ्य बीमा कार्यक्रमहरु अनुमतिका प्रकृयाको रहेकोले छिटै सेवा दिन सकिने छ ।
के यस क्षेत्रका सबै वर्गका जनताले अस्पतालको सेवा शुल्क तिर्न सक्छन् ?
यहाँ ओपिडी शुल्क एक सय पचास भन्दा वढी छैन । यहाँ हाल त्यही सेवाको पाँच सय भन्दा वढी तिर्नु परेको छ । यति कुरा विश्वास गरौँ कि नीजि अस्पताल भएपछि शुल्क सबै सेवामा लाग्छ । तथापि त्यो मध्ययम र निम्न आय भएका वर्गले समेत तिर्न सक्ने खालको कायम गरीएको छ । अर्को कुरा यहाँबाट स्वास्थ्य सेवा लिन वाहिर जानुपर्दा लाग्ने खर्च समेत जोगिने भएकोले आम विरामीको समय र खर्च दुवै पर्याप्त मात्रामा जोगिनेछ ।
कानुनी पक्षहरु ?
हामीले जनस्वास्थ्य सेवा ऐन २०७५, जनस्वास्थ्य सेवा नियमावली २०७७, स्वास्थ्य सस्था सञ्चालन मापदण्ड २०७७, चिकित्सा शिक्षा ऐन २०७५ तथा अन्य मौजुदा कानुनको अधिनमा रही आफ्नो सेवा प्रवाह गर्ने भएकोले सहज नै छ ।
आमा सुरक्षा कार्यक्रम र इन्स्युरेन्स सेवा ?
आमा सुरक्षा र स्वास्थ्य विमा कार्यक्रमहरु अनुमतिको प्रकृयामा रहेकोले छिटै सेवा दिन सकिने छ ।
आगामी योजना के छन् ?
सुपर स्पेसियालिटी सेवा सुरु गर्ने तयारी छ । शैक्षिक तर्फ आगामी सालदेखि पिसिएल तहका स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, फार्मेसी र ल्याबजस्ता प्राविधिक शिक्षा तथा विश्वविद्यालयका बि.एस्सि. नर्सिङ, वि.एन., वि. फार्मेसी, वि.एम. एल.टी. लगाएतका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् तथा विश्वविद्यालयमा सम्बन्धन प्रक्रिया अघि बढाइएको छ ।








