काठमाडौं: विहीबार परेको पानी र हावाहुरीले काठमाडौं उपत्यकाको वायु प्रदूषण अघिल्ला दिनहरुको तुलनामा केही घटेको छ । विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं उपत्यकाको वायुको गुणस्तर एक्यूआई ८६ पुगेको छ ।
यसअघि बिहानै एक्यूआई ३४ सम्म थियो, जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । फागुन २६ गते त एक्यूआई २०६ मापन भएको थियो । विहीबारपनि एक सय ५० भन्दा माथि थियो । यसलाई वायुको गुणस्तर अति खराबस्तर मानिन्छ ।
विश्वस्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार वायु गुणस्तर सूचकांक अनुसार ५० सम्म हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।\
विहीबार काठमाडौं उपत्यकासहित मध्य र पूर्वी भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएकाले आकाशमा जमेको धुलोका कणहरु केही हदसम्म पखालिएको छ । हावाहुरी चल्दा प्रदूषणको तहलाई उडाएर लैजान्छ ।
यसले गर्दा हावाको गुणस्तरमा केहीहदसम्म सुधार देखिएको छ । दिउँसोतिर भने काठमाडौं उपत्यकामा वायुको गुणस्तर केही खस्किने पूर्वानुमान आईक्यू एयरले गरेको छ ।
आज पनि वर्षाको सम्भावना
मौसमविदले आज पनि वर्षाको सम्भावना औंल्याएका छन् । आज कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षाको पूर्वानुमान छ ।
यसैगरी मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । त्यसैको प्रभावले बदली र वर्षा भएको महाशाखाका मौसमविदहरु बताउँछन् ।







