बैजनाथमा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन हुने

    • स्वास्थ्य पेज

  • २८ फाल्गुन २०८२, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः बाँकेको बैजनाथ गाउँपालिकामा कान सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरिने भएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा–५, नेपालगञ्ज बाँकेको आयोजनामा तथा बैजनाथ गाउँपालिकाको समन्वयमा उक्त स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।

आयोजकका अनुसार कान सम्बन्धी विभिन्न समस्या भोगिरहेका स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको हो । शिविरमा कान जाँच, प्राथमिक उपचार तथा आवश्यक परेमा थप उपचारका लागि सिफारिससमेत गरिने जनाइएको छ।

शिविर अन्तर्गत विभिन्न वडामा रहेका स्वास्थ्य संस्थामा निश्चित मितिमा सेवा प्रदान गरिनेछ। तालिका अनुसार आगामी चैत २ गते नौवस्ता स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। त्यसपछि ३ गते चिसापानी स्वास्थ्य चौकी, चिसापानीमा सेवा दिइनेछ।

यस्तै ४ गते बनकटवा प्राथमिक स्वास्थ्य केन्द्र, बनकटवामा, ५ गते आधारभूत स्वास्थ्य केन्द्र, गरहीमा शिविर सञ्चालन हुनेछ। कार्यक्रमको पाँचौँ दिन ६ गते आधारभूत स्वास्थ्य केन्द्र, पेडारीमा सेवा उपलब्ध गराइनेछ भने अन्तिम दिन ८ गते टिटिहिरिया स्वास्थ्य चौकी, टिटिहिरियामा शिविर सम्पन्न गरिने ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका आउटरिच म्यानेजर भीषण चौधरीले बताए ।

उनका अनुसार शिविरमा नाम दर्ता पूर्ण रूपमा निःशुल्क हुनेछ । बिरामीहरुले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नाम दर्ता गर्न सक्नेछन् भने कान जाँच तथा उपचार सेवा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उपलब्ध हुनेछ ।

शिविरमा विशेषज्ञ टोलीद्वारा कानको जाँच, कानमा जमेको मैलो सफा गर्ने, कान दुख्ने, सुन्ने समस्या, कानबाट पानी आउने लगायतका समस्याको उपचार गरिनेछ । साथै जाँचपछि अपरेशन आवश्यक देखिएका बिरामीलाई विशेष छुटमा शल्यक्रिया गर्ने व्यवस्था समेत गरिने उनले बताए ।

चौधरीले कान सम्बन्धी समस्या भएका स्थानीय बासिन्दालाई शिविरमा उपस्थित भई निःशुल्क सेवा लिन अनुरोध पनि गरे । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अझै सीमित रहेको अवस्थामा यस्ता शिविरले स्थानीयलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।

  • २८ फाल्गुन २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech