कस्ता हुन्छन् मिर्गौला रोगका लक्षण, कसरी राख्ने मिर्गौला स्वस्थ ?

    • डा.सौरभ सिंह हमाल/नेफ्रोलोजिष्ट

  • २८ फाल्गुन २०८२, बिहीबार

बदलिंदो खानपान र विलासी जीवनशैलीका कारण सुरुमा मानिसहरुमा सुगर, प्रेसर र बाथ रोग सम्बन्धी समस्या देखिन्छन् । ती समस्याहरुको समयमै प्रभावकारी रुपमा उपचार हुन नसक्दा समस्या बढ्दै गएर मिर्गौलामा समस्या हुन्छ ।

मानिस शरीरको महत्वपूर्ण अंगको रुपमा रहेको मिर्गौलाको मुख्य काम रगत छान्ने र अनावश्यक तथा दूषित तरल पदार्थ शरीरबाट निष्कासन गरेर पिसाबमार्फत विसर्जन गर्नु हो । मिर्गौलाले एसिडहरु र रसायनहरुलाई पनि सफा गर्नुका साथै शरीरमा नयाँ रगत बन्नका लागि र हड्डी बलियो बनाउन पनि मद्धत गर्दछ ।

त्यसैले मानव शरीरमा मिर्गौलाको महत्व अत्यन्तै धेरै रहेको छ । मिर्गौला फेल भएपछि रगतलाई छान्ने शरीरमा थुप्रिने फोहोरलाई बाहिर निष्कासन गर्ने प्रक्रिया रोकिन्छ । बिरामी सिकिस्त हुँदै जान्छ । बिरामीको अबस्था हेरेर हप्तामा २ देखि पटकसम्म ३ देखि ४ घन्टा सम्म डायलाइसिस गराउनुपर्छ ।

मिर्गौला रोगको उपचार मिर्गौलाका विशेषज्ञ चिकित्सक नेफ्रोलोजिष्टबाट गराउनुपर्छ । तर, नेफ्रोलोजिष्ट चिकित्सक भएका स्वास्थ्य संस्थामा जनरल फिजिसियन र मेडिकल अधिकृतले केही समयको तालिम लिएर प्रारम्भिक अवस्थाका बिरामीलाई उपचार सेवा दिन सक्छन् ।

मिर्गौला रोगका लक्षण मिर्गौला सम्बन्धी समस्याको समयमै उपचार हुन नसक्दा मिर्गौलाले काम गर्न छाड्दैं जान्छ । मिर्गौलामा कुनै समस्या देखिनासाथ डायलाइसिस गर्नुपर्ने अवस्था हुँदैन् । त्यसका पनि स्टेजहरु छन्, स्टेप एकबाट पाँचौंसम्म पुग्नका लागि करिब दुई वर्षसम्म लाग्न सक्छ । त्यो दुई वर्षलाई २० वर्ष बनाउन नियमित रुपमा ब्यायाम, नुन र प्रोटिनजन्य खानेकुरामा कन्ट्रोल, चेकजाँच र औषधी सेवन गर्नु पर्छ । मिर्गौला कामै गर्न छाडेका बिरामीलाई डायलाइसिस गर्नुपर्ने हुन्छ भने अन्तिम विकल्प भनेको मिर्गौला प्रत्यारोण नै हो ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा हरेक १० लाख जनसंख्यामा करिब १ सय जनामा मिर्गौला रोग सम्बन्धी समस्या देखिने गरेको अनुमान छ । तीमध्ये करिब २० प्रतिशतलाई डायलाइसिस गरेर उपचारलाई निरन्तरता दिनुपर्ने हुन्छ । तर, विशेषज्ञ चिकित्सकको अभाव हुँदा बिरामीहरुले समयमै गुणस्तरीय सेवा पाउन सकेका छैनन् ।

पछिल्ला दिनहरुमा मिर्गौला रोग सम्बन्धी समस्या भएका बिरामीहरुको संख्या बढ्दै गएको छ । समयमै रोगको पहिचान गरी उपचार गर्न नसक्दा मिर्गौला फेल भएर देशभरमा करिब ५ हजार ५ सय बढी बिरामीहरुले नियमित रुपमा डायलाइसिस गराइरहेका छन् ।

मिर्गौला फेल भएका बिरामीहरुले सकेसम्म छिटो मिर्गौला प्रत्यारोपण गर्नु उपयुक्त मानिन्छ । तर, नेपालमा मिर्गौला प्रत्यारोपण त्यति सहज र सबैको पहुँचमा छैन । त्यसैले अधिकांश बिरामीहरुले नियमित रुपमा डायलाइसिस गराएर जीवनलाई लम्बाउनु पर्ने बाध्यता रहेको छ । डायलाइसिस मिर्गौला रोगको अन्तिम उपचार होइन । अझै पनि कैयौ बिरामीहरु डायलाइसिससमेत गराउन नसकेर ज्यान गुमाउन बाध्य छन् ।

मिर्गौला रोगका लाग्दा खानामा रुचि कम हुने, शरीर सुन्निने, श्वास फेर्न गाह्रो हुने, थकाइ लाग्ने निन्द्रा नलाग्ने, जीउ चिलाउने र अस्वस्थ महसुस गर्नेजस्ता लक्षण देखिन्छ । ३५ वर्ष उमेर पुगेको ब्यक्तिले एउटा मात्रै लक्षण देखिएपनि मिर्गौला खराब भएर हो कि भन्ने आशंका गरेर चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

एउटा मात्रै त लक्षण त हो नि भनेर हेलचेक्र्याइ गर्दा मिर्गौला ड्यामेज नै हुने जोखिम धेरै हुन्छ । मिर्गौलालाई स्वस्थ राख्ने अर्को उपाय भनेको मिर्गौला फेलिएर हुने कारणहरुबाट सतर्क हुनु नै हो । मिर्गौला फेल हुने सबभन्दा मुख्य कारण डाइबिटिज (सुगर) हो । यदि सुगरलाई नियन्त्रणमा राख्न सक्यो भने त्यसबाट पनि अप्रत्यक्ष रुपमा मिर्गौलालाई सहयोग नै पुगिराखेको हुन्छ । त्यसपछि प्रेसरलाई पनि नियन्त्रणमा राख्न जरुरी छ ।

कहिलेकाही विषजन्य पदार्थहरु जस्तो बारुला, सर्पको टोकाइ, पेनकिलर तथा बढी मात्रामा औषधी सेवनले पनि मिर्गौला फेल हुने जोखिम हुन्छ । हामीले खाएको कुराहरु अन्तमा फिल्टर गर्ने भनेको मिर्गौलाले नै हो र मिर्गौलाले पनि निश्चित क्षमता हुन्छ । यदि क्षमताभन्दा बढी हुन गयो भने फिल्टर गर्न सक्दैन् र शरीरलाई अनावश्यक पदार्थ थिग्रिन थाल्छ । जसको कारण अचानक मिर्गौलाले काम गर्न छोड्छ । त्यस्तो अबस्थामा तत्काल उपचार गरेनौं भने एकेआई (एक्युट किड्नी इन्जुरी) पछि गएर दीर्घकालीन मिर्गौला रोग बन्ने सम्भावना हुन्छ ।

मिर्गौला रोगबाट बच्नका लागि स्वास्थ्य सचेतना अभियान संचालन गर्न अत्यावश्यक छ । सुगर र प्रेसर भएको मान्छे पाँच, छ वर्षदेखि नियमित औषधी खाइरहेको छ भने उसले नियमित चेकजाँच गराएर औषधी थपघट गर्नुपर्ने हुन्छ । सधैं एउटै औषधी खाएर मात्रै हुँदैन् । त्यसैगरी, खानेकुरामा पनि नुन र प्रोटिन धेरै भएको खानेकुराहरु कन्ट्रोल गर्नुपर्छ ।

मिर्गौला स्वस्थ राख्न के गर्ने ?

मिर्गौला स्वस्थ राख्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ । दैनिक २(३ लिटरभन्दा बढी पानी पिउने मानिसमा मिर्गौलाको रोग लाग्ने सम्भावना न्यून हुन्छ । पानीले शरीरमा भएको खराब तत्वलाई पिसाबको माध्यमबाट बाहिर निकाल्छ । मिर्गौला स्वस्थ्य खानामा चिनी तथा नूनको मात्रा घटाउनुपर्छ । धेरैजसो खानेकुराहरुले मिर्गौलामा नै बढी असर गर्छ । त्यही भएर पानी अर्थात् तर तरल पदार्थ धेरै खानुपर्छ। पानी धेरै खादा शरीरलाई नचाहिने तत्वहरु मिर्गौलामा थेग्रिन पाउँदैन् । पानी धेरै खायो भने पखाल्दै जान्छ । चिकित्सकहरु चेकजाँच गरेपछि केहि समयका लागि औंषधि
दिएर बिरामीलाई केहि समयपछि फ्लोअपमा बोलाउँछन । तर, एक पटक चेकजाँच गरेपछि फ्लोअपमा चिकित्सकलाई नभेटी चिकित्सकको सल्लाह बिनै बिरामी आफैले औंषधि किनेर लामो समयसम्म औषधी खाने समस्या हाम्रो समाजमा अझै पनि कायमै छ ।

चिकित्सकको परामर्श बिनै वर्षौसम्म औंषधि खाँदा त्यही औंषधिले साइड इफेक्ट गरेर मिर्गौलामा असर पुर्‍याएका घटनाहरु पनि बढ्दै गएको पाइन्छ । मिर्गौलाको अवस्था थाहा पाउन ३५ वर्ष उमेर पुगेका व्यक्तिले वर्षमा कम्तिमा एक पटक अनिवार्य जाँच गर्दा धेरै राम्रो हुन्छ । मिर्गौलाको परीक्षण वर्षमा एकपटक पनि गरिएन् भने मिर्गौलाको अवस्था बारेमा थाहा हुँदैन् र एक्कासी खराब भएपछि मात्र थाहा हुने हुन्छ । त्यतिबेला धेरै ढिलो भइसकेको हुन्छ । बढ्दो मिर्गौला रोग सम्बन्धी समस्यालाई नियन्त्रण गर्न अभियानकै रुपमा मिर्गौला रोग पहिचान शिविर संचालन गर्नुपर्ने आवश्यक छ ।

एक पटक विशेषज्ञ चिकित्सकबाट मिर्गौला जाँच गराउँदा २ देखि ३ हजारसम्म लाग्छ । स्वास्थ्य बिमा गराएका ब्यक्तिहरुले नजिकैको अस्पतालमा गएर सहजै मिर्गौला जाँच गराउन सक्छन् । प्रारम्भिक अवस्थामा मिर्गौलामा समस्या छ कि छैन भन्ने थाहा पाउन विशेषज्ञ चिकित्सकसँगै जाँच गराउनुपर्छ भन्ने छैन । समस्या देखिएपछि विशेषज्ञ चिकित्सकलाई देखाउँदा पनि हुन्छ ।

अझै पनि धेरैजसो मानिसहरूलाई मिर्गौलामा लाग्ने रोगको बारेमा जानकारी छैन् । जानकारी नभएकै कारण मिर्गौला खराब भइसकेपछि मात्र चिकित्सकसम्म पुग्छन् । जब ८०– ९० प्रतिशत मिर्गौला बिग्रेपछि अन्तिम अवस्थामा पुगेका बिरामीलाई डायलाइसिस अथवा प्रत्यारोपण गर्नुपर्ने विकल्प मात्रै बाँकी रहन्छ ।

  • २८ फाल्गुन २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech