नेपालगन्जः आफ्नो जन्मदिनको अवसर पारेर नियमित स्वयँसेवी रक्तदाता लवराज खरेलले बुधवार रक्तदान गरेका छन् । विगत २० वर्षदेखि हरेक तीन महिनामा निरन्तर रक्तदान अभियान आयोजना गर्दै आएको जनमत अद्र्ध साप्ताहिकका स्वयम्सेवी नियमित रक्तदाता खरेलले यो समेत ६४ औं पटक रक्तदान गरे ।
राप्ती सोनारी गाउँपालिका वडा नं.६ का अध्यक्ष तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका उपशाखाका सल्लाहकार खरेलले हरेक तीन महिनामा नियमित रक्तदान गर्दै आएका छन् ।

रक्तदाता लवराज खरेल
यसैगरि नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका उपशाखाकी उपाध्यक्ष स्वयम्सेवी नियमित रक्तदाता अमृता केसीले पनि २८ औं पटक रक्तदान गरिन् । स्वयम्सेवी रक्तदाता केसीले आफुले हरेक तीन महिनामा रक्तदान गर्ने बानी बसेको र समय तलमाथि भयो भने शारीरिक समस्या सिर्जना हुने बताइन् ।
नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जमा रक्तदान गरेका दुबै जनाले ठिक तीन महिना अघि मंसीर २७ गते सम्पन्न जनमतको ६७ औं रक्तदान श्रृङ्खलामा ६३ औं पटक रक्तदान गरेका थिए ।
जनमतको ६८ औं श्रृङ्खलाको रक्तदान कार्यक्रम विशेष कारणवस यही फागुन ३० गते शनिवारको सट्टा चैत्र ७ गते शनिवारका दिन आयोजना गरिने जनमत रक्तदान कार्यक्रम संयोजक शतक रक्तदाता पवन जायसवालले जानकारी दिए ।
नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीका अनुसार निर्वाचनको लामो विदाका कारण केहि सातायता रक्तदान कार्यक्रम आयोजना नभएको हुँदा अहिले ब्लड बैंकमा रगतको अभाव हुन थालेको छ ।







