९८ प्रकारका अत्यावश्यक औषधिहरू पूर्णरूपमा स्वदेशमै उत्पादन गर्न माग

    • स्वास्थ्य पेज

  • २६ फाल्गुन २०८२, मंगलवार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू पूर्णरूपमा स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगीहरूलाई आग्रह गरेको छ । शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले यसलाई आफ्नो ‘सामाजिक उत्तरदायित्व’ का रूपमा लिएर उत्पादन र आपूर्तिमा सहजीकरण गर्नुपर्ने बताएका हुन् ।

हाल नेपालको आन्तरिक उत्पादनले कुल मागको करिव ४० देखि ५० प्रतिशत मात्र धानिरहेको उनले बताए । मन्त्रालयले स्वदेशी उत्पादनलाई नै प्राथमिकतामा राखेर खरिद गर्न चाहेको स्पष्ट पार्दै डा। दासले मूल्य र गुणस्तरमा भने उद्योगीहरूले सम्झौता गर्न नहुने पनि बताए ।

सामाजिक उत्तरदायित्व बहन गर्दै सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराएमा राज्यले उद्योगीहरूलाई पूर्ण रूपमा सहयोग गर्ने उनको भनाइ छ । नेपाली औषधि उद्योगहरूले उत्पादन गरेका औषधिको गुणस्तर राम्रो हुँदाहुँदै पनि बजारमा ‘गुणस्तरहीन’ भन्ने भ्रम फैलिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

डा. दासले यस्ता भ्रम र हल्लाहरूलाई चिर्न प्रभावकारी सञ्चार र एड्भोकेसीको आवश्यकता रहेको पनि बताए । उद्योगीहरूले आफ्ना उत्पादन गुणस्तरीय रहेको दाबी गर्ने र मन्त्रालयले पनि पूर्ण विश्वासका साथ स्वदेशी औषधि खरिद गर्ने तर बाहिर भने सरकारी निकायले किनेका औषधि गुणस्तरहीन छन् भन्ने हल्ला चल्ने गरेकोप्रति डा। दासले ध्यानाकर्षण गराए ।

दासले विपद्को समयमा प्रयोग हुने ‘रिस्क कम्युनिकेसन एण्ड कम्युनिटी इन्गेजमेन्ट’ मोडल जस्तै औषधिको गुणस्तरको विषयमा पनि जनतालाई सुसूचित गर्नुपर्ने पनि बताए । मन्त्रालयले नेपाली औषधि उद्योगहरूलाई बजारको कुनै अभाव नरहेको भन्दै उत्पादन बढाउन आग्रह गरेको छ ।

  • २६ फाल्गुन २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech