सुधान्शुको संकल्प-पत्र: भेरीलाई पाँच सय शैयामा स्तरोन्नतिदेखि मातृ मृत्युदर घटाउनेसम्म

    • स्वास्थ्य पेज

  • १२ फाल्गुन २०८२, मंगलवार

नेपालगन्जः नेपाली काँग्रेस, बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले आफ्नो संकल्प-पत्र सार्वजनिक गरेका छन् । नेपालगन्जमा मंगलबार आयोजित एक कार्यक्रमका बीच कोइरालाले आफ्नो संकल्प-पत्र सार्वजनिक गरेका हुन् । उनले आफ्नो संकल्प-पत्रमा भेरी अस्पतालको स्तरोन्नतिदेखि मातृ तथा शिशु मृत्युदर न्यूनीकरणसम्मका योजनाहरू प्रस्तुत गरेका छन् ।

भेरी अस्पताललाई १०० शैयाबाट ५०० शैयामा स्तरोन्नति गर्न पहल गर्ने, पुरानो ओपीडी ब्लक भत्काएर अत्याधुनिक नयाँ ब्लक निर्माणका लागि द्रुतगतिमा प्रक्रिया अगाडि बढाउने विषय संकल्प-पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी भेरी अस्पतालमा थप सीटी स्क्यान, ल्याप्रोस्कोपिक लगायतका आधुनिक उपकरण भित्र्याउँदै नागरिकलाई गुणस्तरीय उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ ।

बाँके लुम्बिनी प्रदेशमै मातृ मृत्युदर उच्च भएको जिल्ला भएकाले त्यसलाई पनि कोइरालाले सम्बोधन गरेका छन् । संकल्प-पत्रमा मातृ तथा शिशु मृत्युदर न्यूनीकरणका लागि स्थानीय तथा प्रदेश सरकारसँग समन्वयकारी भूमिका निर्वाह गरिने उल्लेख गरिएको छ । यस्तै, नसर्ने रोगको बढ्दो प्रभाव रोक्न नीतिगत रूपमा पहल गर्ने प्रतिबद्धता जनाइएको छ।

स्वास्थ्य संस्थाको जनशक्ति व्यवस्थापन तथा स्वास्थ्य सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन पहल गर्ने, शहरी क्लिनिक र स्वास्थ्य बीमालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कदम चालिने पनि उल्लेख छ ।

यसैगरी ज्येष्ठ नागरिक, गर्भवती महिला तथा बालबालिकाका लागि आधारभूत तथा अत्यावश्यक स्वास्थ्य सेवा वडा स्तरमै उपलब्ध गराउन पहल गरिने, प्रत्येक घरपरिवारलाई शुद्ध पिउने पानी उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइने, तथा लागूऔषध नियन्त्रणलाई विशेष प्राथमिकता दिँदै सामुदायिक पुनःस्थापना केन्द्रलाई व्यवस्थित बनाइने प्रतिबद्धता पनि कोइरालाले व्यक्त गरेका छन्।

  • १२ फाल्गुन २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech