काठमाडौं: घुँडाको चोटपटकको पुनः शल्यक्रियाको तयारीमा रहेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि ५० हजार अमेरिकी डलर संकलन हुने भनी सञ्चार माध्यममा आएका समाचारप्रति नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ।
संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमै उक्त शल्यक्रिया लगायत आवश्यक उपचार गर्न विशेषज्ञ चिकित्सक तथा आवश्यक स्वास्थ्य उपकरण पर्याप्त मात्रामा उपलब्ध रहेको स्पष्ट पारेको छ। नेपालका विभिन्न अस्पतालमा यस्तो प्रकृतिको शल्यक्रिया गर्न सकिने क्षमता रहेको संघको दाबी छ।
संघले गरिब नागरिकका लागि विनियोजित स्वास्थ्यसम्बन्धी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न र स्वदेशी चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई बेवास्ता नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
साथै, साम्बाको उपचार यथाशीघ्र स्वदेशमै गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग आवश्यक पहल गर्न संघले अनुरोध गरेको छ। आवश्यक समन्वय र सहकार्य गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै संघले साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।
हेरौं संघले जारी गरेको प्रेस विज्ञप्ति
घुँडाको गम्भीर चोटपटक शल्यक्रियाको तयारीमा रहनुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को स्वास्थ्य उपचारका लागि ५० हजार अमेरिकी डलर बराबरको रकम जुट्ने भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार प्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण भएको छ ।
नेपालमा रहेका विभिन्न अस्पतालहरूमा उक्त शल्यक्रिया लगायत अन्य आवश्यक उपचार गर्नका लागि विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य उपकरण पर्याप्त मात्रामा उपलब्ध रहेको विषयमा नेपाल चिकित्सक संघको ध्यानाकर्षण गराउन चाहन्छ । नेपालमा गरिब नागरिकको धन विनियोजनका योजनासँगै नेपाली चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई बेवास्ता नगर्न नेपाल चिकित्सक संघ आग्रह गर्दछ ।
त्यस्तै यथाशीघ्र रूपमा रहनुभएकी साम्बाको उपचार स्वदेशमै गर्नका लागि नेपाल सरकारसँग आवश्यक पहल गर्न नेपाल चिकित्सक संघ अनुरोध गर्दछ । त्यसका लागि आवश्यक पहल र सहकार्य गर्न नेपाल चिकित्सक संघ तयार रहेको व्यहोरा समेत यसै विज्ञप्तिमार्फत जानकारी गराउँदै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
डा. सञ्जिव तिवारी
महासचिव







