नेपालगन्जः राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचार भेरी अस्पतालमै सम्भव रहेको चिकित्सकले बताएका छन् ।
भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.तिर्थेन्द्र खड्काले फेसबुकमा भनेका छन-‘घाइते साम्बा जस्ता बिरामीको भेरी अस्पतालमा नियमित रुपमा उपचार भइरहको छ ।’
न्युजिल्यान्डको क्लबमा आबद्ध साम्बाको ए लिग खेल्ने क्रममा चोट लागेको थियो। साम्बाले आफ्नो शल्यक्रिया र पुनर्स्थापनाका लागि आवश्यक खर्च उठाउन समर्थकसँग सहयोगको याचना गरेकी छिन् ।
यस्तो छ उनले लेखेको स्ट्याटस:
“नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरूको ‘साम्बा’
यहाँहरू सबैलाई थाहा नै छ म पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो । तर, अझै पनि म उपचारका लागि भौँतारिएकी छु ।
मेरो घुँडाको एसिएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुन: जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसवेला आर्थिक र मानसिक रूपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकेँ ।
तर, यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको तीन सातापछिका लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्नोतर्फबाट प्रयास गर्ने बतायो । तर, सोअनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक–पटक प्रयास गर्दा पनि उहाँहरूलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैँले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद पाँच लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै दुई महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरि प्रयास गर्नुपर्ने भएको छ ।
यसबिचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर, मेरो चोट गम्भीर रहेको र पछिल्लोपटक कतारको अस्पेटारमा गरिएको उपचार उच्चस्तरको रहेकाले मैले पुन: सोही अस्पतालमा उपचार गराउने इच्छा राखेकी हुँ । क्लबले बिमाबाट प्राप्त रकम मेरा लागि निकासा गरिदिने भएको छ । तर, उक्त रकम मेरो शल्यक्रिया र सात-आठ महिना रिह्याबका लागि अपुग हुने भएकाले आमसमर्थकमाझ सहयोग माग्न आइपुगेकी छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आकलन रहेको छ ।
म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् । तर, सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन ।
मैले आफ्नो करिअरमा सधैँ कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेकपटक साहसका साथ त्यसलाई पार गरेकी छु । यसपटक पुन: माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ ।
मेरा लागि यो आफ्नो करिअरको सबैभन्दा कठिन लडाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेकी पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आमसमर्थकहरू नै हुनुहुन्छ । एन्फाभित्र म क्लबका लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैँ निराश भएकी छु । तर, मैले देशको लागि सधैँ शतप्रतिशत दिएकी छु र आउने दिनमा पनि देशका लागि खेल्न तत्पर छु । इजरायल होस् या फ्रान्स, मैले सधैँ नेपालकै नाम राखेको महसुस भएको छ । यहाँ न्युजिल्यान्ड र अस्ट्रेलियामा खेल्दा पनि मैले व्यक्तिगतभन्दा पनि राष्ट्रको पहिचान बोकेको ठानेकी छु ।
आर्थिक रूपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ । त्यसैले नै म आज यहाँहरूमाझ सहयोगको याचना गरिरहेकी छु । आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाँडै जम्मा हुनेछ । र, म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेकी छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस् अरूको अवस्था के होला ? मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएकी छु, तर नियतिले पुन: एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ ।
मलाई सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको QR वा बैंमार्फत सहयोग गर्नुहोला ।
विदेशमा रहनुहुनेले यो लिंकमा गएर सहयोग गर्नुहोला : https://givealittle.co.nz/cause/support-sambas-surgery-stand-with-sabitra
यो चोटले मलाई शारीरिक र मानसिक रूपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कनेछु ।
थाकेको हो, हारेको छैन
पुन: एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु ।
जय नेपाल !“
डा.खड्काले यो प्रकृतिको उपचारकै लागि पैसा उठाउनु पर्ने आवश्यकता नरहेको संकेतसहितको सुझाव दिएका छन् । र उनले नेपालमै उपचार गर्न आग्रह पनि गरेका छन् । डा. खड्का लेख्छन् -‘बैनी (साम्बा)ले माग गर्नु भएको रकमले करिब १०० जना नेपालीको यस प्रकारको शल्यकृया गर्न सकिदो रैछ । र नेपाल फुटबल संघ ( ANFA)ले माग गरेको रकम मै करिब ३ जना नेपालीको उपचार नेपाल मै सम्भव छ ।
डा.खड्काको स्टाटस








