प्युठानः प्युठानमा नसर्ने रोगको स्क्रिनिङ्ग अभियानलाई तीब्र पारिएको छ । नसर्ने रोगको प्रभाव न्यूनीकरणका लागि ३० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश श्रेष्ठले जानकारी दिए ।
नसर्ने रोगको प्रभाव न्यूनीकरणका लागि समुदायमा सचेतना फैलाउन पनि अभियान थालिएको उनले बताए । जिल्लाका ९ पालिकाका २१ हजार ६१२ जना मानिसको स्क्रिनिङ्ग गर्ने योजना छ ।
अहिले सम्ममा १२ हजार ८८४ जनाको परीक्षण भइसकेको श्रेष्ठ बताउँछन् । उनले भने, “स्क्रिनिङ्ग अभियानले मानिसको स्वास्थ्य स्थितिबारे प्रारम्भिक जानकारी दिन्छ र भविष्यमा हुने गम्भीर रोग रोकथाममा सहयोग पुर्याउँछ।”
जाँच गरिएका मध्ये धेरैमा उच्च रक्तचाप, मधुमेह र बढी तौलको समस्या देखिएको छ। स्वास्थ्य परीक्षणका प्रारम्भिक नतिजा अनुसारः जाँच गरिएका मध्ये ४०% व्यक्तिमा उच्च रक्तचाप (Hypertension) को समस्या पाइएको छ। २०% व्यक्तिमा मधुमेह (सुगर) को प्रारम्भिक संकेत देखिएका छन्। २१% मा युरिन प्रोटिन (Urine protein) को समस्या भेटिएको छ। त्यस्तै ४३% व्यक्तिमा हुनुपर्ने भन्दा बढी तौल (मोटोपना) भेटिएको छ।
धेरैजसो व्यक्तिमा खानपान, शारीरिक गतिविधि अभाव र अनियमित जीवनशैलीका कारण उच्च रक्तचाप, मधुमेह र मोटोपना बढ्दै गएको छ। प्रारम्भिक जाँचले समयमै उपचार सुरु गर्न र दीर्घकालीन स्वास्थ्य जोखिम कम गर्न मद्दत पुग्ने बताउँछन । यो अभियानले धेरै मानिसलाई स्वास्थ्यको बारेमा सचेत बनाएको छ।







