नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल

    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०८२, बुधबार

काठमाडौंः नेपाली कांग्रेसले स्वास्थ्य बीमा प्रणाली मार्फत स्वास्थ्य क्षेत्रका जिम्मेवारी पुरा गर्ने संकल्प गरेको छ। कांग्रेसले सार्वजनिक गरेको चुनावी प्रतिज्ञापत्रमा स्वास्थ्य बीमा प्रणाली मार्फत स्वास्थ्य क्षेत्रका जिम्मेवारी पुरा गर्ने संकल्प गरेको हो।  जनकपुरधामबाट नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र आज सार्वजनिक गरेको छ। ‘नेपाली कांग्रेसको ध्येय : समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नाराका साथ सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा ओखती र ओत दिने नेपाल शिर्षकमा स्वास्थ्यका विषयहरु समेटिएका छन्।

उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुने प्रतिज्ञापत्रमा उल्लेख छ। गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुने भन्दै परिवारमा कसैलाई रोग लागिहाले कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने भन्ने डरबाट मुक्त हुने कांग्रेसको संकल्प छ।

पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण सभा भएको हो। प्रतिज्ञापत्र सार्वजनिक भएको सन्दर्भमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उल्लेखित भिजन १० का बुँदाका बारेमा जानकारी गराएको छ। कांग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ।

कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गरे।  पत्रकार सम्मलेलनमा उनले प्रतिज्ञा पत्रका हरेक अक्षरका प्रष्ट अर्थ रहेको बताए। प्रतिज्ञा पत्रमा उल्लेखित योजना कार्यान्वयनका आधारमा कार्यसम्पादन मूल्यांकन हुनुपर्ने कांग्रेसको चाहना रहेको उनको भनाई छ। सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्कने नेपालसम्मको योजना कांग्रेसले अघि सारेको छ।

प्रतिज्ञापत्र केवल देखाउन मात्रै नभई कार्यान्वयन गरेर समुन्नत नेपाल सम्मानित नेपालीको नारालाई व्यवहारमा ल्याउने प्रतिवद्धता कांग्रेसको छ। नेपाली कांग्रेसको प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार–संक्षेपमा  प्रस्तुत गरेको छ। जसलाई अर्को शब्दाबली कांग्रेसले ‘काँग्रेस टु प्वाइन्ट जिरो’को जगका रूपमा व्यख्या गरेको छ। पुनरुत्थानमा सफल सुरुआत गरेको कांग्रेसले नै जनताबाट इच्छित भविष्य साकार पार्न संकल्प लिएको छ।

ओखती र ओत दिने नेपाल : हाम्रो परिकल्पनाको नेपालमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुनेछ। परिवारमा कसैलाई रोग लागिहाले कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने भन्ने डरबाट नागरिकहरु मुक्त हुनेछन्।

स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होइन, उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ। विकसित देशको स्तरको उन्नत स्वास्थ्य बीमा प्रणाली मार्फत राज्यले यो जिम्मेवारी पुरा गर्नेछ।

यस्ता छन् १० भिजन 
१ सम्मानित भएर बाँच्न पाउने नेपाल

२ सपना देख्न सक्ने नेपाल

३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल

४ पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल

५ ओखती र ओत दिने नेपाल

६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

८ मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल

९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

१० समुन्नतिमा लम्किने नेपाल

  • ६ फाल्गुन २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech