साइकलिङले तौल घटाउन कसरी मद्दत गर्छ ?

    • स्वास्थ्य पेज

  • २८ माघ २०८२, बुधबार

मोटोपनाले व्यक्तित्वमा नकारात्मक असर पार्नुका साथै विभिन्न रोगहरूको जोखिम पनि बढाउँछ । त्यसैले समयमै तौल नियन्त्रण गर्नु अत्यन्त आवश्यक हुन्छ ।

तौल घटाउनका लागि मानिसहरूले विभिन्न शारीरिक गतिविधि अपनाउने गर्छन् । जसमा दौडिने (रनिङ) र साइकल चलाउने (साइकलिङ) सबैभन्दा लोकप्रिय व्यायाममध्ये पर्छन् । दुवैले मुटुको स्वास्थ्य सुधार गर्छन्, क्यालोरी जलाउँछन् र सजिलै गर्न सकिने व्यायाम हुन् । तर तौल घटाउन चाहने धेरैको मनमा यी दुईमध्ये कुन बढी उपयुक्त र प्रभावकारी हो भन्ने प्रश्न उठ्ने गर्छ ।

दौडिने (रनिङ)
दौडिनेलाई तौल घटाउनका लागि सबैभन्दा सजिलो र प्रभावकारी व्यायाम मानिन्छ । मध्यम गतिमा दौडिँदा करिब ७० किलो तौल भएका व्यक्तिले एक घण्टामा करिब ६०० देखि ८०० क्यालोरीसम्म जलाउन सक्छन् । दौडिने एक वेट–बेयरिङ र हाई–इम्प्याक्ट गतिविधि हो । यसले खुट्टा, कोर र स्टेबिलाइजिङ मांसपेशीसहित धेरै मांसपेशी समूहलाई एकैपटक सक्रिय बनाउँछ ।

दौडिनुका फाइदा
दौडिँदा अन्य धेरै कार्डियो व्यायामको तुलनामा प्रतिमिनेट बढी क्यालोरी जल्छ, मुटुको धड्कन छिटो बढ्छ र व्यायामपछि पनि मेटाबोलिज्म केही समयसम्म उच्च रहन्छ (आफ्टरबर्न इफेक्ट) । साथै, यसका लागि विशेष उपकरणको आवश्यकता पर्दैन ।

दौडिनुका बेफाइदा
दौडिँदा जोर्नी, विशेषगरी घुँडा, हिप्स र एंकल्समा बढी दबाब पर्छ । नयाँ सुरु गर्ने, अत्यधिक तौल भएका वा जोर्नीसम्बन्धी समस्या भएका व्यक्तिमा चोट लाग्ने जोखिम बढ्न सक्छ । यसले नियमित व्यायाममा बाधा पुग्दा समग्र फिटनेसमा असर पर्न सक्छ ।

साइकल चलाउने (साइकलिङ)
बाहिर साइकल चलाउनुहोस् वा जिममा स्टेसनरी बाइक प्रयोग गर्नुहोस्  । साइकलिङ एक लो–इम्प्याक्ट कार्डियो व्यायाम हो । यसले जोर्नीहरूमा कम दबाब दिन्छ । मध्यम गतिमा साइकल चलाउँदा एक घण्टामा करिब ४०० देखि ६०० क्यालोरीसम्म जल्न सक्छ । जुन दौडिनुभन्दा केही कम हो तर यसका आफ्नै फाइदा छन् ।

साइकलिङले तौल घटाउन कसरी मद्दत गर्छ ?

साइकलिङ लामो समयसम्म गर्न सजिलो हुन्छ र चोट लाग्ने जोखिम कम हुन्छ, विशेषगरी घुँडा र ढाडका लागि । सुरुका चरणमा रहेका वा बढी तौल भएका व्यक्तिका लागि यो सुरक्षित विकल्प मानिन्छ । कम थकानका साथ लामो समय र बारम्बार गर्न सकिने भएकाले निरन्तरता कायम गर्न सजिलो हुन्छ । जोर्नीहरूमा कम दबाब पर्ने भएकाले मानिसहरूले यसलाई नियमित र लामो समयसम्म गर्न सक्छन् । यसले कम क्यालोरी बर्न हुने कमजोरीलाई पनि पूर्ति गर्छ ।

दौडिने वा साइकल चलाउने
दुवै व्यायामले बोसो घटाउन मद्दत गर्छन् तर फरक–फरक तरिकाले । दौडिँदा बढी क्यालोरी जल्छ भने साइकलिङमा निरन्तरता र नियमितता बढी महत्त्वपूर्ण हुन्छ । विशेषज्ञहरूका अनुसार चोट वा अत्यधिक थकान बिना जुन व्यायाम लगातार गर्न सकिन्छ, त्यही सबैभन्दा राम्रो हो ।

दौडिँदा धेरै मांसपेशी समूह सक्रिय हुने र शरीरमा बढी दबाब पर्ने भएकाले मांसपेशी टोन र रेस्टिङ मेटाबोलिज्म केही बढ्न सक्छ । साइकलिङ भने मुख्यतः खुट्टा र जाँघका मांसपेशीमा केन्द्रित हुन्छ ।

अन्ततः कुन बढी राम्रो ?
यदि तपाईं युवा हुनुहुन्छ र शारीरिक गतिविधिका लागि समय कम छ भने दौडिनुले छिटो नतिजा दिन सक्छ । तर उमेर बढी भएको, अत्यधिक तौल भएको वा जोर्नी समस्या भएको अवस्थामा साइकलिङ बढी सुरक्षित विकल्प हो । अझ राम्रो परिणामका लागि तौल घटाउने क्रममा दौडिने, साइकल चलाउने र स्ट्रेन्थ ट्रेनिङलाई संयोजन गरेर गर्नु उपयुक्त हुन्छ ।

  • २८ माघ २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech