स्वस्थ र तन्दुरुस्त रहनका लागि गरिने शारीरिक व्यायाम हो, योग । पछिल्लो समय व्यस्त जीवनशैलीले निम्त्याएका समस्या समाधानमा योग प्रभावकारी बन्दै गएको छ । योगले शारीरिक तथा मानसिक रूपमा ऊर्जावान् बनाउँछ । मानिसको आत्मविश्वास तथा रोगप्रतिरोधी क्षमता बढाउन सहयोग पुर्याउँछ । आफ्नो काममा ध्यान केन्द्रित गर्न र जीवन व्यवस्थित गर्न सहयोग गर्छ । साथै यसले मानिसको व्यक्तित्व विकासमा प्रभावकारी भूमिका खेल्छ । जाडो मौसममा बाहिर मर्निङ वाक निस्कन वा जिम सेन्टर जान पनि धेरैलाई अफ्ठ्यारो भइरहेको हुन्छ । सबेरै बाहिर निस्कँदा उल्टै चिसोले असर गर्न सक्छ । घरमै योग गर्न सक्नुहुन्छ ।
योगले तनाव कम गर्छ । पूर्ण निद्रा लाग्छ । पाचनप्रणालीमा सुधार आउँछ । रक्तसञ्चारमा सुधार ल्याउँछ । आत्मविश्वास वृद्धि हुन्छ । शरीरमा अक्सिजनको मात्रा बढ्छ । रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ । जोर्नीको समस्या कम हुन्छ । कार्यक्षमता वृद्धि गर्छ । श्वासप्रश्वासको गति नियन्त्रण गर्छ । सकारात्मक सोचको विकास हुन्छ । जीवनशैलीमा सुधार ल्याउँछ ।
जाडोमा फिट र स्मार्ट रहन चाहनेहरूले योगलाई नियमित तालिकामा समावेश गर्नुपर्छ । दैनिक ३० मिनेट मात्रै योग गर्यो पनि शरीरमा ताजगी आउनेछ । त्यस्तै, तौल नियन्त्रण हुनेछ । जाडोमा मौसम धुम्म हुँदा मानिसहरूमा उदासिपन बढिरहेको हुन्छ । मुड बिग्रने, अल्छी लाग्नेलगायत विभिन्न समस्या देखिन्छन् । यसलाई सिजनल इफेक्टिभ डिसअर्डर वा विन्टर डिप्रेसन पनि भनिन्छ । मस्तिष्कको ग्रन्थीले मेलाटोनिन नामक हार्मोन बनाउने काममा कमी हुँदा यस्तो समस्या देखिन्छ । योग वा केही समय ध्यान गर्दा यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।
अल्छीपनका कारण अधिकांश मानिसहरूले यस समय व्यायाम गर्न छाडेका हुन्छन् । जसकारण, तौल बढेर जान्छ । अन्य समयमा व्यायामका लागि जिम जानेहरूले पनि यस समय घरमै योग गर्नु राम्रो हुन्छ । पेट घटाउनका लागि कपालभाँती, चक्की चालनासन, बालासन, धनुरासन, चक्रासन, पश्चिमोत्तानासनलगायत योगाभ्यास गर्न सकिन्छ ।
सुरुमा योग प्रशिक्षकसँग सल्लाह लिन जरुरी हुन्छ । योग सुरु गरेपछि यसलाई निरन्तरता दिनु आवश्यक हुन्छ । योगले हामीलाई आफूभित्रै खुसी हुन सिकाउँछ ।
उच्च रक्तचाप, मधुमेह, जोर्नी दुखाइजस्ता दीर्घरोग भएकाले योग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यस्ता मानिसले शरीर तात्ने गरी योगाभ्यास गर्नुहुँदैन । यसले मुटुमा प्रेसर पर्ने हुन्छ । तनाव लिएर योग गर्नुहुँदैन । तनावपूर्ण अवस्थामा योगको अभ्यास गर्दा मांसपेशी दुख्ने, टाउको दुख्नेलगायत समस्या देखिन सक्छ ।
जाडोमा रक्तसञ्चार राम्ररी हुन नपाउँदा शरीरमा तापक्रम कम भइरहेको हुन्छ । यसकारण हाडजोर्नी तथा मांसपेशी दुख्ने समस्या देखिन्छ । योगले कोषिकाहरूमा रक्तसञ्चार बढाउँछ र शरीरलाई तातो राख्छ । विभिन्न योगासनको अभ्यास गर्दा शरीर लचकदार भएर जान्छ । आफूलाई हलुंगो महसुस गर्नुहुनेछ । काममा सक्रियता बढ्नेछ ।








