काठमाडौंः स्वास्थ्यमन्त्री डा सुधा गौतमले यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिने बताएकी छन् । स्वास्थ्यमन्त्री डा गौतमले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएको आर्थिक सङ्कट समाधानका लागि तत्काल आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग समेत गरिन् । उनले तत्काल १५ अर्ब व्यवस्थापन नगरे स्वास्थ्य बीमा प्रणालीमा आवद्ध रहेका अस्पतालहरू बन्द हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिन्।
बुधबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफल कार्यक्रममा मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई सहज रूपमा अघि बढाउनका लागि आफूले सुधारका कार्यक्रम अघि सारेको तर त्यसमा सरोकारवाला मन्त्रालयहरूले साथ नदिएको गुनासो पनि गरिन् ।
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने भनेर भनेकाले सरकारले ९८ वटा औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरेको भए पनि विद्यमान बीमा स्वास्थ्य कार्यक्रमले त्यसमा पनि उल्झन गरेकाले आफूहरूले त्यसलाई हटाउने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याउने तयारी गर्दा पनि सरोकारवाला मन्त्रालयहरूले सहयोग नगरेको मन्त्री गौतमको गुनासो छ ।








