नेपालगन्ज: संजिवनी मेडिकल कलेज (नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल) बाहिर रहेको विक्रम फार्मेसीबाट प्रहरीले लागू औषध बरामद गरेको छ ।
लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलिले मंगलबार सांझ उक्त फार्मेसीमा छापा हानेको थियो । त्यसक्रममा फार्मेसी संचालक नेपालगन्ज उपमहानगरपालिका-४ निवासी ३० वर्षीय विक्रम कश्यप र १८ वर्षीय कृष्ण कश्यपलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यसपछिऔषधि व्यवस्था विभाग नेपालगन्जबाट फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार साहसहितको टोलिले त्यसको जाँच तथा अनुसन्धान गरेको थियो ।
फार्मेसी पसलबाट प्रतिबन्धित मनोद्दिपक लागूऔषध ट्रामाडोल ४६० ट्याबलेट र नाईट्रोजेपाम २० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
विक्रम फार्मेसीले लागू औषध मनोद्दिपक ट्याबलेटहरु बिक्रिबितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा टोलिले छापा मारेको थियो ।
उक्त फार्मेसीमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र नाईट्रोजेपाम ट्याबलेट फेला परेको हो । पक्राउ परेका दुबै जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।








