काठमाडौँ : आज विश्व क्यान्सर दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । क्यान्सर रोगप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान तथा प्रभावकारी उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन यो दिवस मनाइन्छ ।
सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि विश्व क्यान्सर दिवस मनाउने परम्पराको सुरुआत भएको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष विश्वभर लाखौं मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । धूमपान, तमाखु सेवन तथा अस्वस्थ जीवनशैली क्यान्सरका प्रमुख कारण मानिन्छन् । स्वास्थ्य विज्ञहरूका अनुसार क्यान्सरको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण र सही उपचारबाट धेरै प्रकारका क्यान्सर नियन्त्रण तथा निको पार्न सकिन्छ ।
के हो क्यान्सर ?
क्यान्सर शरीरका कोषिकाहरू असामान्य रूपमा अनियन्त्रित रूपमा बढ्न थाल्दा हुने गम्भीर रोग हो। सामान्य अवस्थामा कोषिकाहरू निश्चित नियमअनुसार बढ्छन्, विभाजन हुन्छन् र नष्ट हुन्छन् । तर क्यान्सर हुँदा यी कोषिकाहरू नियन्त्रण बाहिर गएर बढ्छन् र शरीरका विभिन्न अङ्गमा गाँठो (ट्युमर) वा गम्भीर समस्या सिर्जना गर्छन् । क्यान्सर शरीरको कुनै पनि अङ्गमा हुन सक्छ र समयमै पहिचान तथा उपचार नभएमा यो अन्य अङ्गसम्म फैलिन सक्छ ।
नेपालमा क्यान्सरको अवस्था ?
नेपालमा क्यान्सर रोग हाल स्वास्थ्य चुनौतीको रूपमा बढ्दो छ । प्रत्येक वर्ष करिब २५–३० हजार नयाँ क्यान्सर केस रिपोर्ट हुने गरेको चिकित्सकहरु बताउँछन् । महिलामा सर्वाइकल र स्तन क्यान्सर बढी देखिन्छ भने पुरुषमा पेट, फोक्सो र मुख क्यान्सर बढी देखिने गरेको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच सीमित भएकाले धेरै बिरामीहरू समयमै अस्पताल नजाँदा रोग अगाडि बढिसकेको अवस्थामा उपचार पाउँछन् ।
धूमपान, तमाखु सेवन, अस्वस्थ खानपान, प्रदूषण र नियमित स्वास्थ्य परीक्षणको कमी नेपालमा क्यान्सरको प्रमुख कारण मानिन्छ ।
क्यान्सरबाट बच्ने उपायहरू ?
विज्ञहरूले क्यान्सरको जोखिम कम गर्न समयमै सचेत हुनुपर्ने बताउँछन् । धूम्रपान र तमाखु सेवन क्यान्सरका प्रमुख कारण हुन्, त्यसैले यी बस्तुबाट टाढा रहन चिकित्सकहरु सुझाउछन् । स्वस्थ खानपान, नियमित व्यायाम र सक्रिय जीवनशैली अपनाउँदा क्यान्सरको जोखिम घटाउन सकिन्छ । अत्यधिक मदिरा सेवन, प्रदूषित वातावरण र अस्वस्थ जीवनशैलीले पनि क्यान्सरको खतरा बढाउँछ । यसका साथै स्तन, सर्वाइकल, प्रोस्टेट र कोलोरेक्टल क्यान्सर जस्ता रोग समयमै पत्ता लगाउन नियमित स्वास्थ्य परीक्षण महत्वपूर्ण छ । विशेषज्ञहरूले जनचेतनामूलक कार्यक्रमहरूमा सहभागी भएर सही जानकारी राख्न र समयमै उपचार सुरु गर्न पनि सबैलाई सुझाव दिएका छन् ।









