नेपालमा महिला स्वास्थ्य समस्याहरुमा सबैभन्दा गम्भीर र लामो समयसम्म समाजमा नबोलिएको रोगमध्ये एक हो पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) । यो रोग नेपालमा मात्र होइन, विश्वभरका महिलाहरूलाई प्रभावित गर्ने शीर्ष तीन क्यान्सरमध्ये एक हो । नेपालमा यसका रोगीको संख्या यति नै छ भन्ने आधिकारिक तथ्यांक छैन ।
तर, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको ओपीडीमा सेवा लिन आउनेको संख्या हेर्दा पाठेघरको मुखको क्यान्सरको अवस्था भयावह देखिन्छ । पछिल्लो सयम युवा अवस्थाका महिलामा पनि पाठेघरको मुखको क्यान्सर देखिन थालेको छ । पाठेघरको मुखको क्यान्सर मात्रै यस्तो क्यान्सर हो जहाँ परीक्षण गरेर पहिचान गर्न सकिन्छ । र, सर्वाधिक रोकथाम गर्न सकिने क्यान्सर पनि हो । तर, नेपाल जस्ता विकासोन्मुख मुलुकमा अझै पनि महिलाहरू लाज, संकोच, पहुँचको अभाव र जानकारीको कमीका कारण ढिलो मात्र अस्पताल पुग्छन् ।
नतिजा—उपचार कठिन हुन्छ, परिवार दुःखमा पर्छ, र महिलाको जीवन नै जोखिममा पर्छ । यसबाट जोगिनका लागि पाठेघरको मुखको पानीको परीक्षण गर्नुपर्छ । भिआइए परीक्षण गर्नुपर्छ त्यसमा नराम्रो कोषिकाहरू बढेको छ कि छैन पत्ता लगाउनुपर्छ । एचपीबी डिएनए र एलबीसीको पनि परीक्षण गर्नुपर्छ । यसको परीक्षणले भाइरस सक्रिय छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ । जसले गर्दा पाँचदेखि १० वर्षको बीचमा क्यान्सर लाग्छ कि लग्दैन भनेर अनुमान गर्न सकिन्छ । त्यसैले हरेक महिलाहरूले यसको परीक्षण गर्नुपर्छ । सुरूआती चरणमा पत्ता लगाउन सकियो भने क्यान्सरबाट जोगिन सकिन्छ । तर, अस्पतालमा महिलाहरू आउन ढिलो गर्छन् ।
कारण र लक्षण
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण Human Papillomavirus (HPV) हो । यो भाइरस यौन सम्पर्कमार्फत सजिलै सर्छ । धेरै जीवनसाथी भएकामा, कम उमेरमै विवाह वा यौन सम्पर्क सुरु भएकामा, धूमपान गर्ने महिलामा, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकामा यसको जोखिम बढी हुन्छ । सुरुमा खासै लक्षण देखिँदैन ।
तर, रोग बढ्दै जाँदा महिनावारी बाहेक रगत आउनु, यौन सम्पर्कपछि रक्तश्राव हुनु, लामो समयको सेतोपानी, दुर्गन्ध, पेट र ढाड दुखाई, कमजोरी जस्ता समस्या देखिन्छ । यस्ता लक्षणहरूलाई हेलचेक्र्याइँ गर्नु हुँदैन । यस्तो भएमा नजिकको अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जानुपर्छ ।
कसरी जोगिने ?
नेपालमा हालैदेखि HPV खोप राष्ट्रिय खोप कार्यक्रममै समावेश भएको छ । ९–१४ वर्ष उमेरका छोरीलाई यो खोप दिइँदैछ । यसले भविष्यमा क्यान्सर हुने सम्भावना धेरै घटाउँछ । अर्को भनेको नियमित स्क्रिनिङ हो । खोप लगाइसकेकाले मात्र रोगबाट शतप्रतिशत जोगाउँछ भन्ने होइन । त्यसैले ३० वर्षपछि हरेक महिलाले कम्तीमा ३–५ वर्षमा एकपटक भीआइए वा एचपीभी डिएनए र एलबीसी जाँच गराउनैपर्छ ।
यसको जोखिम कम गर्ने अर्को उपाय भनेको सुरक्षित यौन सम्पर्क पनि हो । धूमपान र मदिरा त्याग नै पर्छ । धूमपान–मद्यपानले शरीरलाई कमजोर बनाउँछ । जसका कारण रोगसँग लड्ने प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । सन्तुलित आहार र जीवनशैलीमा पनि ध्यान दिन आवश्यक छ । हरेक दिन हरियो सागसब्जी, फलफूल, दुधजन्य पदार्थ र प्रोटिनयुक्त खाना खानुपर्छ । नियमित व्यायामले शरीरलाई स्वस्थ राख्छ ।
राज्यको दायित्व
नेपालमा हरेक वर्ष सयौं महिलाले पाठेघरको मुखको क्यान्सरको कारण अकालमा ज्यान गुमाउँछन् । यो रोग रोक्न सकिने, सुरुमा उपचार गर्न सकिने क्यान्सर हो भन्ने तथ्य सबैलाई बुझाउन जरुरी छ । यसकारण यसको रोकथामका लागि व्यक्तिगत स्तरमा मात्र होइन, राष्ट्रिय स्वास्थ्य नीति र राज्यको प्राथमिकता बनाउन आवश्यक छ ।
राज्यले स्वास्थ्य चौकीदेखि जिल्ला अस्पतालसम्म स्क्रिनिङ सुविधा अनिवार्य गर्नुपर्छ । मोबाइल क्लिनिक र स्वास्थ्य शिविरमार्फत गाउँ–गाउँमा महिलाले सजिलै परीक्षण पाउने व्यवस्था गर्न सकिन्छ । नर्स तथा महिला स्वास्थ्यकर्मीलाई स्क्रिनिङका लागि तालिम समेत दिनुपर्छ । विद्यालयस्तरमै स्वास्थ्य शिक्षा पाठ्यक्रममा पाठेघरको मुखको क्यान्सर र रोकथाम समावेश गर्नुपर्ने आवश्यकता देखिन्छ ।
(डा. घोष सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा कार्यरत छन् ।)









