नेपालगन्जः राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बाँके जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका ८ हजार ५८४ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले जानकारी दिए ।
कोहलपुर नगरपालिकाले जनप्रतिनिधि र स्वास्थ्य संस्थाहरुको प्रमुखलाई एचपिभी खोप अभियानबारे जानकारी दिन आयोजित कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत गिरीले त्यसका लागि जिल्लामा ८ हजार ६७० डोज खोप आइपुगेको जानकारी दिए । उनका अनुसार बाँकेमा २५ गतेदेखि खोप अभियान सुरु गर्ने तयारी छ ।
कोहलपुरमा १ हजा ७००, नेपालगन्जमा २ हजार ४०४, राप्तीसोनारीमा ७२०, बैजनाथमा ८८०, नरैनापुरमा ७२१, जानकीमा ६७३, खजुरामा एक हजार १९ र डुडुवा गाउँपालिकामा ४४१ जना किशोरीलाई खोप दिने लक्ष्य रहेको छ ।
कोहलपुरमा भने २६ गतेदेखि खोप अभियान सञ्चालनको तयारी गरिएको कोहलपुर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अमृता रानाले जानकारी दिए । विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरी, विद्यालय बाहिरका १० वर्षका किशोरी र अघिल्लो वर्षको खोप अभियानमा छुटेका ७ देखि १० कक्षामा अध्ययनरत र विद्यालय बाहिरका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने लक्ष्य छ ।
किशोरीहरुको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी भएकाले यस अभियानलाई सफल पार्न कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विकले बताए ।
स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले अभियानलाई सफल बनाउन सबै सरोकारवालाले आ आफ्नोतर्फबाट सहयोग गर्न आग्रह गरे । उनले लक्षित समूहका सबै किशोरीले अनिवार्य रूपमा खोप लगाउनुपर्ने भएकाले तोकिएको समयमा खोप नछुटाउन अभिभावक र विद्यालयलाई विशेष ध्यान दिन आग्रह गरे ।
एक डोज एचपिभी खोपको मूल्य ८ हजार रुपैयाँभन्दा बढी पर्ने भएकाले राज्यले निःशुल्क रुपमा उपलब्ध गराएको यो अवसरको महत्व निकै ठूलो रहेको ठकुरीले बताए । समयमै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रुपमा घट्ने भएकाले अभिभावक, विद्यालय र समुदायलाई अभियानमा सक्रिय सहयोग गर्न पनि उनले आग्रह गरेको छ ।







