नेपालगन्जः सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रममा समेटेसँगै थालेसिमियाका बिरामीले पनि एक लाख बराबरको औंषधोपचार खर्च पाउने भएका छन् । यसअघि थालेसिमियाका बिरामीले सरकारी सुविधा पाएका थिएनन् ।
थालेसेमियाका बिरामीले अव भेरी अस्पतालबाटै शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री, प्रयोगशाला लगायतमा उक्त सुविधा प्राप्त गर्ने सिकलसेल तथा थालेसिमिया रोग विज्ञ समेत रहेका अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले बताए ।
मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीले यो सेवा पाउँदै आएकोमा अवदेखि थालेसमियाका बिरामीलाई पनि एक लाखसम्मको उपचार सहयोग पाउने भएपछि उनीहरुलाई ठूलो राहात मिल्ने भएको छ ।

सिभियर एप्लास्टिक एनेमिया, प्यारोक्सिस्मल नक्टर्नल हेमोग्लोबिन्युरिया, सिम्प्टोमेटिक हेमोग्लोबिनोपाथिजका बिरामीले पनि यो सुविधा पाउने छन् । भेरी अस्पतालमा थालेसिमियाका करिव एक सय बिरामी फलोअपमा छन् ।
सेवा नै पाउने भएपछि थालेसिमियाका बिरामीको एकिन गर्न सहज हुने डा.पाण्डेले बताए । सिकलसेलका एक हजार दुई सय बिरामी भने नियमित फलोअपमा रहेको पनि उनले बताए ।







