काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम पुगेका चलचित्र पत्रकार दिनेश सिटौलाको आइतबार दिउँसो १२ः४५ बजे निधन भयो ।
बालेनसँगै चुनावी प्रचारका क्रममा माघ १६ गते अछाम पुगेका सिटौला एक्कासि ढलेका थिए । त्यसपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ४८ घण्टासम्म उपचारपछि सिटौलाको मृत्युको घोषणा गरिएको हो । अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार, बालेनको टिम माघ १५ गते डोटीमा बसेको थियो । त्यसपछि अछामको साँफेबगर हुँदै मंगलसेन पुगेको थियो । अछाम–२ का उमेदवार भूपदेव शाहको घर जाने क्रममा गाडीबाट ओर्लिंदा सिटौला एक्कासि बेहोस भएका थिए ।
काठमाडौं ल्याउनुअघि उनलाई तत्कालै जिल्ला अस्पताल अछाम पुर्याइएको थियो । त्यहाँ काडियोपल्मोनरी रेससिटेसन (सीपीआर) गरिएको थियो । ४५ मिनेटपछि उनको मुटुको चाल फर्किएको थियो ।
मस्तिष्कको कार्यक्षमता जाँच गर्न (एप्निय) परीक्षण गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा कुनै सुधार नआएको र ह्यामरेजका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।
नुवाकोटका ४५ वर्षीय सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुन् ।
अस्पतालका आईसीयू हेड अफ डिपार्टमेन्टका कन्सल्टेन्ट डा. आमेन ठाकुरका अनुसार, दुई दिनदेखि सिटौलालाई टाउको दुख्ने समस्या थियो । “उहाँलाई दुई दिनदेखि टाउको दुख्ने समस्या थियो । उहाँलाई पहिलेदेखि नै टाउको दुखाईको समस्या हुनुपर्छ । उहाँको केशमा ‘डे वान’मै ‘एस अर नो’ भन्ने म्यासेज दिन एकदमै गाह्रो हुन्छ । ४८ देखि ७२ घण्टासम्म कुर्नुपर्ने हुन्छ,” उनले भने ।
अधिकांश मानिसमा देखिँदैन लक्षण
चिकित्सकहरूका अनुसार, सबअरेक्नोइड हेमोरेजका अधिकांश बिरामीहरू एक्कासि बेहोस हुन्छन् र ढल्ने गर्छन् ।
डा. ठाकुर भन्छन्, “१०० मा ६ प्रतिशत मानिसमा हेमोरेज देखिनसक्छ । यो नयाँ रोग होइन । यो रातारात आउने हो । केही मानिसहरू हिँड्दा हिँड्दै, जिम गर्दा गर्दै ढल्ने तर डेथ भइरहेको हुन्छ । अर्को यही हेमोरेज ब्लिडिङ हो ।”
उनको ‘ब्रेन डेथ’ भइसकेको अस्पतालले जनाएको छ । “उहाँको शरीरमा कुनै चोटपटक देखिएन । अस्पतालले सक्दो प्रयास गरेको हो । यस्तो केसमा होस कति छ, त्यसको आधारमा रिकभर हुने/नहुने हुन्छ । यो केसका ‘ब्रेन डेथ’ भइसकेको अवस्था थियो,” डा. ठाकुरले भने ।
उनका अनुसार, सो अस्पतालमा एक हप्तामा चार/पाँच हेमोरेज हेमोरेजका बिरामीहरू जाने गरेका छन् । अधिकांश बिरामीहरू निको भएर फर्किने गरेको उनले बताए ।







