नेपालगन्जः नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले स्वास्थ्यकर्मीहरुका मुद्दालाई पनि सबै उम्मेदवारले चुनावी एजेण्डा बनाउनुपर्नेमा जोड दिएको छ । बाँके क्षेत्र नं.३ का प्रतिनिधिसभा उम्मेदवार अमर सिंह पुन र क्षेत्र नं.१ का उम्मेदवार नारायण प्रसाद गौडेलसँगको भेटघाटमा स्वास्थ्यकर्मीका मुद्दालाई एजेण्डा बजाउनुपर्नेमा जोड दिइएको हो ।
संघका बाँके अध्यक्ष जागेश्वर वस्नेतले स्वास्थ्यकर्मीहरुको मुद्दाहरुलाई चुनावी एजेण्डा बनाउन दवाव स्वरुप उम्मेदवारहरुसँग भेटघाट कार्यक्रम गरिएको बताए । त्यसक्रममा काँग्रेस लुम्विनी प्रदेशका सभापति समेत रहेका क्षेत्र नं.३ का उम्मेदवार अमरसिंह पुनले स्वास्थ्यकर्मीका मुद्दा आफ्नो प्राथमिकतामा रहेको बताए ।
‘स्वास्थ्यकर्मीहरुले झेल्नु परेका तमाम समस्याबारे म अवगत नै छु उनले भने -‘त्यसलाई नीतिगत रुपमा सम्वोधन गर्न मेरो नेतृत्वदायी भूमिका रहन्छ ।’
काँग्रेस बाँकेका सभापति समेत रहेका क्षेत्र नं.१ का उम्मेदवार नारायण प्रसाद गौडेलले स्वास्थ्यकर्मीले उठाएका माग जायज रहेको बताए । ती मागहरु काँग्रेस नेतृत्वको सरकारले मात्रै सम्वोधन गर्न सक्ने उनको दावी थियो ।
‘स्वास्थ्यकर्मीलाई समस्या पर्दा मैले गर्न सक्ने सहयोग गर्दै आएको छु उनले भने-‘कतिपय सवाल नीतिगत रुपमै हल गर्नुपर्ने भएकाले त्यसमा मेरो नेतृत्वदायी भूमिका रहन्छ ।’ भेटघाट कार्यक्रममा स्वास्थ्यकर्मीहरुले स्वास्थ्यक्षेत्रका समस्याहरु सुनाएका थिए ।







