काठमाडौँ — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित १९ जना व्यक्ति र एक ठेकेदार कम्पनीका प्रतिनिधिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन कामु रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक सागर पन्थी, रेडियोलोजी विभागका तत्कालीन प्रमुख बोम बीसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरीलगायतलाई प्रतिवादी बनाइएको हो ।
त्यसैगरी अधिकृत झंकार लामिछाने, लीलाकुमारी देवकोटा, मेघबहादुर अधिकारी, लेक्चरर श्रीसिया पोखरेल, आईटी अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट शतिषबहादुर शाही, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल तथा ठेकेदार कम्पनी हिमालय मेडिकल कम्पनीका सञ्चालक अमर श्रेष्ठ र सञ्जु राजकर्णिकारलाई पनि मुद्दामा समावेश गरिएको छ ।
अख्तियारले प्रतिवादीहरुविरुद्ध ७ करोड ३१ लाख ८२ हजार ९५१ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, कैद सजाय तथा हिनामिना भएको रकम असुलउपरको मागदाबी गरेको छ ।
दाङको घोराही उपमहानगरपालिकामा रहेको प्रतिष्ठानका लागि सीटी स्क्यान उपकरण खरिद गर्ने क्रममा पदाधिकारी र सम्बन्धित पक्षबीच मिलेमतो गरी अनियमितता गरिएको उजुरीका आधारमा अनुसन्धानपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।







