उच्च कोलेस्टेरोलको व्यवस्थापन कसरी गर्ने ?

    • स्वास्थ्य पेज

  • १५ माघ २०८२, बिहीबार

कोलेस्टेरोल र ट्राइग्लिसेराइड चिल्लोयुक्त तत्त्वहरू हुन् । जुन रक्तनलीमा जम्मा हुन्छन् र, नलीलाई बन्द गरिदिन्छन् । उच्च कोलेस्टेरोल भनेको रगतमा चिल्लोपनाको मात्रा मापदण्डभन्दा बढी हुनु हो ।

कोलेस्टेरोल दुई किसिमका हुन्छन्, राम्रो किसिमको कोलेस्टेरोल (हाई डेन्सिटी लिपोप्रोटिन) र नराम्रो किसिमको कोलेस्टेरोल (लो  डेन्सिटी लिपोप्रोटिन)  । यसमध्ये एलडीएल चाहिँ यस्तो प्रकारको कोलेस्टेरोल हो, जसले शरीरलाई हानि गर्छ ।

रगतमा चिल्लोयुक्त पदार्थको मात्रा मोटोपना, मधुमेह, नियमित मद्यपान, मिर्गौला तथा कलेजोसम्बन्धी रोग र थाइराइडसम्बन्धी रोगका कारणले पनि बढ्ने गर्दछ । गर्भनिरोधका लागि खाने चक्की पिल्स, स्टेरोइड र बेटा ब्लकर्स जस्ता केही औषधिको सेवनले पनि रगतमा चिल्लोयुक्त पदार्थको मात्रा बढाउने गर्दछ । धेरै बोसोयुक्त खानाको सेवन र विलासी जीवनशैलीले शरीरमा बोसो बढाउन योगदान गर्दछ । धूमपानले राम्रो कोलेस्टेरोल घटाउने गर्दछ ।

वंशाणुगत रोग भएका बिरामीको कम उमेरमै चिल्लोयुक्त पदार्थ उच्चस्तरमा हुने गरेको पाइन्छ । उच्च कोलेस्टेरोलका कारण मुटुसम्बन्धी रोगहरू (कोरोनरी रक्तनली रोग),उच्च रक्तचाप, मस्तिष्कघात (मस्तिष्कमा हानि वा पक्षघात) हुन सक्दछ । त्यसैले उच्च कोलेस्टेरोल नियन्त्रणमा राख्न जीवनशैली परिवर्तन गर्नुपर्छ । रगतमा चिल्लोयुक्त तत्वहरू (लिपिड्स)को स्तर घटाउन मद्दत गर्दछ । साथै मृत्यु निम्त्याउने खालका रोगको विकास हुन सक्ने जोखिमबाट बचाउँछ ।

उच्च कोलेस्टेरोले छ भने व्यवस्थापनको लागि आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ । वजन सन्तुलित राख्नुपर्छ । फलफूल, सागसब्जी र दूधबाट उत्पादित चिल्लो कम भएका सामग्रीहरूको उपभोग प्रशस्त मात्रामा गर्नुपर्छ । खाना पकाउन अनस्याचुरेटेड तेलको प्रयोग गर्नुपर्छ । मांसाहारीले रातो मासु (जस्तै खसीको मासु नखाने) यसको सट्टा सट्टा सेतो मासु (जस्तै : माछा) खाने गर्नु पर्दछ ।

नियमित शारीरिक व्यायाम गर्नु (हप्ताको कम्तीमा पाँच दिनसम्म हरेक दिन छिटो हिँड्ने, दौडिने, कमसे कम ३) मिनेट पौडी खेल्ने)  पर्छ । धूमपान नगर्ने र अत्यधिक मात्रामा रक्सी सेवन नगर्ने । तपाईंको शरीरमा भएको चिल्लोयुक्त तत्त्वहरू (लिपिड्स)  को अव्यवस्था (खराब कोलेस्टेरोल बढ्नु वा राम्रो कोलेस्टेरोल घट्नु) को प्रकृतिअनुसार उच्च कोलेस्टेरोल स्तरलाई घटाउन उपचारका लागि विभिन्न किसिमका औषधिहरू पाइन्छन् ।  नियमित रूपमा दिनहुँ औषधि सेवन गर्दा लाभ पुग्छ ।

आफ्नो चिल्लोयुक्त तत्त्वको स्तरको जाँच नियमित रूपमा गराउनु पर्छ । यदि औषधिको कारण केही प्रतिकूल असर (साइडइफेक्ट) भएमा सम्बन्धित विज्ञ चिकित्सकसँग परामर्श  गर्नुपर्छ ।

  • १५ माघ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech