चुनौती बन्दै सिकलसेल एनिमियाको उपचार र रोकथाम

थारु समुदायका युवायुवतीले बिहेभन्दा अगाडि रगत जाँच गरेर सिकलसेल कुण्डली हेर्नुपर्ने अवस्था सिर्जना भएको छ ।


    • रामप्रसाद चौहान

  • ८ माघ २०८२, बिहीबार

बर्दिया : पश्चिम नेपालका थारु समुदायमा देखिने सिकलसेल ऐनिमिया स्वास्थ्य क्षेत्रका लागि चुनौती बनिरहेको छ । सिकलसेल एनिमियाको उपचार र रोकथाम चुनौती बन्दै गएको हो । जिल्लामा थारु जातीको बाहुल्यता छ । उक्त समुदायका व्यक्तिमा देखिने वंशाणुगत रोगको समयमै निदान नहुँदा उपचारमा कठिनाइ भइरहेको छ ।

चिकित्सकका अनुसार यो रोग आमा–बाबुबाट सन्तानमा सर्ने गरेको छ । साथै पूर्ण रुपमा निको पनि हुँदैन । चिकित्सकको सल्लाह अनुसार नियमित औषधि सेवन गरेमा नियन्त्रणमा राख्न सकिन्छ । वंशाणुगत भएकाले उपचारमाभन्दा न्यूनीकरणतर्फ विषेश ध्यान दिन जरुरी रहेको देखिन्छ ।

यसबाट जोगिन थारु समुदायका युवायुवतीले बिहेभन्दा अगाडि रगत जाँच गरेर सिकलसेल कुण्डली हेर्नुपर्ने अवस्था सिर्जना भएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष ०७९/०८० मा १ सय ७, आर्थिक वर्ष ०८०/०८१ मा १ सय ३७ र आर्थिक वर्ष ०८१/०८२ मा १ सय १६ जना यस्ता बिरामी पत्ता लागेका थिए ।

जति परीक्षण बढाउन सक्यो, त्यति संख्या बढ्न सक्ने कार्यालयले जनाएको छ । रोकथाम नभए भविष्यमा स्वास्थ्य समस्या जटिल बन्ने कार्यालयको भनाइ छ । एक दशक अघिसम्म बिरामीले रोग निदानका लागि सास्ती सहनुपर्थ्यो । धेरै रकम खर्च गर्नुपर्ने बाध्यता थियो । तर, अहिले त्यस्तो अवस्था भने छैन ।

जिल्ला र केही स्थानीय तहका नगर अस्पतालमा नि:शुल्क सिकलसेल परीक्षण र उपचार सेवा उपलब्ध छ । यसले विपन्नलाई राहत मिलेको छ । सम्बन्धित पालिकाले सिफारिस गरेपछि यस्ता बिरामीले स्वास्थ्य बिमामार्फत् निःशुल्क उपचार पाइरहेको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालबाट सिकलसेल एनिमियाको नियमित औषधि सेवन गर्ने बिरामीको संख्या अहिले २ सय १८ रहेको छ । बर्दियाका चार ठाउँमा सिकलसेल एनिमियाको निःशुल्कमा जाँच भइरहेको स्वास्थ्य कार्यालयकी सूचना अधिकारी पदमा श्रेष्ठले बताइन् ।

यहाँका बर्दिया अस्पताल, राजापुर, ठाकुरद्वारबाबा र बारबर्दिया नगरपालिका अस्पतालमा निःशुल्क जाँच हुने उनले बताइन् । ‘रि एजेन्ट नामक केमिकल सजिलै उपलब्ध नहुँदा मेसिन चलाउन कहिले काँही समस्या हुने गरेको छ,’ उनले भनिन्, ‘सरकारले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क बिमा र उपचार सेवा उपलब्ध गराएपछि सर्वसाधरणलाई राहत भएको छ ।’

चिकित्सकका अनुसार सिकलसेल बिरामीका रक्तकोष हँसिया आकारका हुने गर्छन् । अत्यधिक शरीर दुख्ने, रगत कम हुने र जन्डिसको समस्या देखिने गरेका छ । रोग फैलिन नदिन सिकलसेल/थालेसीमिया कुण्डली हेरेर विवाह गर्न थालिएको छ । थारु समुदायका युवायुवतीले विवाह गर्नुभन्दा पूर्व रगत परीक्षण गराएर यो कुण्डली मिलाउन आवश्यक मानिन्छ ।

सिकलसेल भएका बिरामी–बिरामीबीच विवाह गर्न नहुने कुण्डलीमा उल्लेख छ । कुण्डली अनुसार ५० प्रतिशत सामान्य र ५० प्रतिशत सिकलसेल बाहकबीच विवाह गर्न मिल्छ । तर, ५० प्रतिशत बिरामी र ५० प्रतिशत बाहकले विवाह गर्न मिल्दैन भनिएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकबीच विवाह गर्दा विचार गर्नुपर्ने कुण्डलीमा उल्लेख छ ।

स्वास्थ्य अनुसन्धान परिषद काठमाडौंको सहयोगमा अनुसन्धान परियोजना मार्फत ३० वर्ष मुनिका २० हजार जनाको स्वास्थ्य परीक्षण गर्दा ११ प्रतिशत बाहक र १२ प्रतिशत सिकलसेल एनिमियाका बिरामी पत्ता लागेको बारबर्दिया नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द पौडेलले बताए ।

‘सिकलसेलको उपचार गर्ने बारबर्दिया मुलुकमै पहिलो पालिकास्तरको अस्पताल हो,’ उनले भने, ‘अस्पतालमा सिकलसेल एनिमियाको निःशुल्क जाँच र बिरामीको उपचार भइरहेको छ ।’ अस्पतालमा सिकलसेल एनिमियाबारे तालिम लिएका परार्मशकर्ताद्वारा बिरामीलाई परार्मशत दिइन्छ । पालिकामा रहेका विद्यालयका कक्षा ८, ९ र १० मा यसबारे पढाई हुन्छ ।

तीन/तीन महिनामा रक्तदान, सिकलसेल जाँच गर्ने केमिकलकालागि पालिकाले बजेट छुट्याइएको छ । भने पालिकाका ११ वडामा सचेतनाका लागि बजेट विनियोजन गरिएको छ । प्रत्येक वर्ष चिकित्सक राजन पाण्डेलाई बोलाएर पालिकाका स्वास्थ्यकर्मी र शिक्षकलाई प्रशिक्षण दिइन्छ । अस्पतालमा उपचाररत बालबालिकालाई बाल रोग विशेषज्ञ पाण्डेले नियमित अनुगमन गर्ने गरेको स्वास्थ्य संयोजक पौडेलले जनाए ।

नसर्ने रोगको संयुक्त रुपमा सिकलसेलबारे जनचेतनाका लागि संघीय सरकारबाट प्रत्येक वर्ष बजेट प्राप्त हुने गरेको गुलरिया नगरपालिकाका जनस्वास्थ्य अधिकृत शिवकुमार चौधरीले बताए । सरकारले सिकलसेल बिरामीलाई उपलब्ध गराएको सेवा सुविधा प्राप्त गर्न जिल्ला अस्पतालमा सिफारिस गरिने उनले जनाए ।

सिकलसेल बिरामी पत्ता लागेमा उपचारका लागि जिल्ला अस्पताल पठाउने गरेको मधुवन नगरपालिकाकी जनस्वास्थ्य अधिकृत गीता घिमिरेले बताइन् । ‘दुई वर्षदेखि पालिकाले यस्ता बिरामीलाई निःशुल्क रुपमा फोलिक एसिड वितरण गर्दै आएको छ,’ उनले भनिन्, ‘चालु आर्थिक वर्षमा जनचेतनाको लागि गाउँ–गाउँमा सिकलसेल कुडण्लीको होडिङ बोर्ड राख्नका लागि पालिकाले बजेट छुट्याएको छ ।’

यस्ता बिरामीको नगर अस्पतालमा निःशुल्क परीक्षण र उपचार भइरहेको ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख राजेन्द्र सुवेदीले बताए । ‘सिकलसेल जाँच गर्ने मेसिन भएकाले बिरामीलाई अन्यत्र जान पर्दैन,’ उनले भने, ‘बिरामीलाई बिमा कार्यक्रमसित जोड्ने र रोग न्यूनीकरणको लागि सचेतना फैलाउन काम भइरहेको छ ।’

दुई वटा मेसिन ल्याएर ९ वर्ष देखि निःशुल्क रुपमा सिकलसेल जाँच र बिरामीको उपचार गरिरहेको राजापुर नगरपालिकाका स्वास्थ्य संयोजक गणेश प्रसाद अर्यालले बताए ।

‘सचेतनाका लागि कक्षा ९ र १० को पाठ्यक्रममा सिकलसेल बारे पढाई हुन्छ,’ उनले भने, ‘रगत परीक्षण गरेर विवाह गर्न लागि परार्मश पनि दिइरहेका छौं, बिरामीलाई पटक पटक रगत चढाउनुपर्छ, त्यसैले १ वर्ष देखि रक्त संचार सेवा सुरुवात गरिएको छ ।’

नगर अस्पतालमा निःशुल्क सिकलसेल जाँच भइरहेको बाँसगढी नगरपालिकाका स्वास्थ्य अधिकृत हरिहर तिवारीले बताए । ‘एक लाखको सुविधाबारे जानकारी दिने गरेका छौं,’ उनले भने, ‘बिरामीलाई तत्काल रगतको आवश्यक परेमा पायक पर्ने अस्पतालमा रिफर गरिरहेका छौं ।’

नगर अस्पताल निर्माणधीन भएकाले शंकास्पद सिकलसेलका बिरामीलाई जिल्ला अस्पतालमा रिफर गरिरहेको गेरुवा गाउँपालिकाका जनस्वास्थ्य अधिकृत नारायण प्रसाद भण्डारीले बताए । ‘सिकलसेलको जनचेतनाको लागि यस वर्ष केही बजेट छ,’ उनले भने, ‘केही दिनमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने योजना छ ।’

नगर अस्पताल नभएकाले सिकलसेलका बिरामीलाई बाँकेस्थित भेरी अस्पतालमा रिफर गरिरहेको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । ‘पालिकाले सिकलसेल न्युनिकरणका लागि सचेतना फैलाउन काम गरिरहेको छ,’ उनले भने, ‘सिकलसेल बिरामीको आर्थिक स्थिति अत्यन्तै कमजोर भएको खण्डमा पालिकाले आर्थिक सहयोग पनि गरिरहेकोको छ ।’

  • ८ माघ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech