लुम्बिनीमा अत्यधिक मातृ मृत्यु, कारण रूढीवाद

नियमित गर्भ जाँच गराउनाले आमा र शिशुको स्वास्थ्य अवस्था थाहा हुन्छ र सम्भावित खतराका लक्षणहरू बेलैमा व्यवस्थापन गर्न सकिन्छ । तर मधेशी तथा मुस्लिम समुदायका महिला नियमित गर्भ जाँच गराउन मान्दैनन् ।


    • प्रियास्मृति ढकाल

  • १ माघ २०८२, बिहीबार

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवाकी ३३ वर्षीया आलिया खातुन (नाम परिवर्तन) ले घरमै सुत्केरी हुने प्रयास गरिन् । तर त्यो सम्भव भएन । व्यथा लागेको भोलिपल्ट मात्रै परिवारले उनलाई नजिकैको उदयपुर बर्थिङ सेन्टरमा लगे । बच्चा नजन्मिँदै उनको रक्तश्राव भइरहेको थियो । स्वास्थ्यकर्मीले तत्काल भेरी अस्पतालमा रिफर गरे । भेरी अस्पताल ल्याउँदासम्म उनको अवस्था जटिल भइसकेको थियो । उपचारकै क्रममा उनको गत भदौ १४ गते मृत्यु भयो । यो केसमा महिलाले घरमै सुत्केरी हुने प्रयास गरिन्, त्यसपछि मात्र स्वास्थ्य संस्थामा गइन् । यस्तो अवस्थामा समयमै र पर्याप्त उपचार नपुग्दा रक्तश्राव नियन्त्रण गर्न कठिनाइ भएर उनको मृत्यु भएको भेरी अस्पतालकी लेबररुम इन्चार्ज शीला शर्मा बताउँछिन् ।

नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरकी ४० वर्षीया काजल यादव (नाम परिवर्तन) विवाह भएको करिब २२ वर्षपछि आमा बन्दै थिइन् । लामो समयसम्म सन्तान नहुँदा उनी तनावमा थिइन् । २०८१ फागुनमा जब उनको पेटमा बच्चा बस्यो, खुसीको सीमा नै रहेन । पहिलोपटक आमा बन्ने भएपछि उनले नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा नियमित स्वास्थ्य जाँच गराउँदै आएकी थिइन् । चिकित्सकहरूले उनलाई २०८२ कार्तिक दोस्रो सातामा सुत्केरी हुने (डेड) समय दिएका थिए । कार्तिक १२ गते दिउँसोदेखि उनलाई हल्का पेट दुख्न थाल्यो । परिवारले यसलाई खासै गम्भीर रूपमा लिएनन् । त्यसको भोलिपल्ट बिहान करिब ८ बजेतिर मात्रै परिवारले उनलाई लक्ष्मणपुर बर्थिङ सेन्टर पुर्‍यायो ।

बाँकेमा चालु आर्थिक वर्ष ०८२ /०८३ को पुस मसान्तसम्म आठ जना आमाले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्यकर्मीहरूले जाँच गर्दा बच्चाको मुटुको धड्कन चाल पाउन सकेनन् । अवस्था जटिल रहेको भन्दै स्वास्थ्यकर्मीहरूले उनलाई तत्काल भेरी अस्पताल रिफर गरे । तर परिवारले सकेसम्म लक्ष्मणपुरमै सुत्केरी गराउन दबाब दियो । बच्चाको चाल नसुनिएको र उमेरका हिसाबले पनि केस जटिल भएकाले भेरी अस्पताल लैजान स्वास्थ्यकर्मीहरूले परिवारलाई सम्झाए । करिब तीन घण्टापछि बल्लतल्ल परिवारले उनलाई भेरी अस्पताल ल्यायो । पेटभित्रै बच्चाको मृत्यु भइसकेको रहेछ । त्यतिबेलासम्म आमामा सेप्सिस संक्रमण फैलिसकेको थियो । सेप्सिस भनेको शरीरमा भएको संक्रमण रगतसम्म फैलिनु हो । पेटभित्रै बच्चा मरेपछि समयमै ननिकालिएमा पाठेघरमा ब्याक्टेरिया बढ्छ । संक्रमण रगतसम्म फैलिँदा सेप्सिस हुन्छ, जसले छिटो मृत्यु गराउन सक्ने जोखिम अत्यधिक हुने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी बताउँछन् ।

उपचारका क्रममा आमाको पनि कार्तिक १४ गते मृत्यु भयो । यी त प्रतिनिधिमूलक घटना हुन् । बाँकेमा चालु आर्थिक वर्ष ०८२ /०८३ को पुस मसान्तसम्म आठ जना आमाले ज्यान गुमाइसकेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका पाँच, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र खजुरा गाउँपालिकाका एक/एक जनाको मृत्यु भइसकेको छ । ती सबैको मृत्यु अस्पतालमै भएको छ । भेरी अस्पतालमा सात र सञ्जीवनी अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१७ की ३४ वर्षीया कान्तु खटिक (नाम परिवर्तन) लाई ज्वरो आयो । आफन्तहरू भारतमै बस्ने भएकाले उनी उपचारका लागि उतै गइन् । चेकजाँच गर्दा थाहा भयो, उनी २० हप्ताको गर्भवती रहिछन् । त्यहाँका डाक्टरले औषधि थमाइदिए । उनी घर फर्किइन् । तर ज्वरो घटेन । योनीबाट रक्तश्राव हुन थाल्यो । अन्तिम अवस्था भइसकेपछि मात्रै परिवारले उनलाई भेरी अस्पतालमा ल्यायो । धेरै रगत बगेर शरीर अत्यन्तै कमजोर भइसकेको थियो ।

संक्रमण फैलिँदै रगत नै विषाक्त भइसकेको थियो । त्यसको भोलिपल्टै, गएको कार्तिक १९ गते, उनको मृत्यु भयो । भेरी अस्पतालकी लेबररुम इन्चार्ज शीला शर्माका अनुसार ढिला गरी अस्पताल ल्याउँदा यस्ता मृत्यु हुने गरेको देखिन्छ । “जटिलता भइसकेपछि मात्रै अस्पताल ल्याउने गरिएको देखिन्छ उनी भन्छिन्, “त्यतिबेलासम्म केवल प्रयास बाहेक अरू केही गर्न नसक्ने अवस्था भइसकेको हुन्छ ।”

नियमित गर्भ जाँच नै गर्दैनन् नियमित गर्भ जाँच गराउनाले आमा र शिशुको स्वास्थ्य अवस्था थाहा हुन्छ र सम्भावित खतराका लक्षणहरू बेलैमा व्यवस्थापन गर्न सकिन्छ । तर मधेशी तथा मुस्लिम समुदायका महिला नियमित गर्भ जाँच गराउन मान्दैनन् ।

गर्भवती आमाले स्वास्थ्य संस्थामा आठ पटक अनिवार्य गर्भ जाँच गर्नुपर्छ । यो विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गाइडलाइन नै हो । तर नेपालमा व्यवहारिक रूपमा कम्तिमा चार पटक अनिवार्य गरिएको छ । पहिलो जाँच गर्भ रहेको चार महिनाभित्र, दोस्रो छ महिनाभित्र, तेस्रो आठ महिनाभित्र र चौथो नौ महिना पुगेपछि गर्नुपर्छ । खातुन र यादवको केसमा पनि भएको त्यहीं नै हो । खातुनले दुई पटकमात्रै स्थानीय स्वास्थ्य चौकीमा गर्भ जाँच गराएकी थिइन् । त्यसपछि भने उनले गर्भ नै जाँच गराउन आइनन् । माइती सीमा पारि (भारत)भएकाले बीचमा उतै बसिन् । जसका कारण उनको नियमित जाँच छुट्यो ।

नियमित गर्भ जाँच गराउनाले आमा र शिशुको स्वास्थ्य अवस्था थाहा हुन्छ र सम्भावित खतराका लक्षणहरू बेलैमा व्यवस्थापन गर्न सकिन्छ । तर मधेशी तथा मुस्लिम समुदायका महिला नियमित गर्भ जाँच गराउन मान्दैनन् । यहाँसम्म कि गर्भवती भएको कुरा समेत लुकाएर बस्छन् । जटिलता भइसकेपछि मात्रै स्वास्थ्य संस्थामा आउने गरेका कारण ज्यान जोगाउन कठिन हुने गरेको चिकित्सकहरू बताउँछन् ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द गर्भ जाँच नगर्ने, आइरन चक्की नखाने, खोप नलगाउने जस्ता कारणले मातृ मृत्युदर घटाउन चुनौतीपूर्ण रहेको बताउँछन् । “पहिलो गर्भ चेक गराउन आउनेबित्तिकै स्वास्थ्यकर्मीहरूले उनीहरूलाई सुत्केरी नहुँदासम्म निगरानी गर्ने नीति नै हाम्रो छ उनी भन्छन्, “तर गर्भवती भएको छ/सात महिनासम्म पनि चेकजाँच गराउन नआउँदा हामी निरीहजस्तै बन्नु परेको छ ।”

“घरमा हजुरआमा वा सासुले ‘हामीले चेकजाँच नगरी नै बच्चा जन्माएर हुर्कायौँ, तिमीले किन गर्नुपर्‍यो” भन्ने रुढीवादी सोचले महिलाहरूले नियमित गर्भ जाँच गर्दैनन्

मृत्यु हुनेमा अधिकांश मधेशी तथा मुस्लिम समुदायका छन् । मुस्लिम समुदायकी अगुवा साहिदा साही रुढीवादी सोचका कारण मुस्लिम तथा मधेशी महिलाहरू नियमित गर्भ जाँच गराउन हिचकिचाउने गरेको बताउँछिन् । “घरमा हजुरआमा वा सासुले ‘हामीले चेकजाँच नगरी नै बच्चा जन्माएर हुर्कायौँ, तिमीले किन गर्नुपर्‍यो” भन्ने रुढीवादी सोचले महिलाहरूले नियमित गर्भ जाँच गर्दैनन् ” उनले भनिन् । उनले मधेशी तथा मुस्लिम समुदायमा अशिक्षा र रुढीवादी सोच हटाउन निकै कठिन रहेको बताउँछिन् ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र साह पनि मातृ मृत्यु बढी हुनुको कारण मधेशी तथा मुस्लिम समुदायमा स्वास्थ्यप्रतिको रुढीवादी सोच भएको बताउँछन् । उनी अगाडि भन्छन्, “यहाँ गर्भावस्था अझै पनि स्वास्थ्यसँग जोडिएको संवेदनशील अवस्था होइन, ‘सामान्य प्रक्रिया’का रूपमा बुझिन्छ। धेरै महिलाहरु गर्भ जाँच नगरी, स्वास्थ्यकर्मीको निगरानीबिनै महिनौँ बिताउँछन्। शरीरमा देखिने जटिल संकेत जस्तै अत्यधिक रक्तस्राव, चक्कर, उच्च रक्तचापलाई कतिपयले सामान्य थकानका रुपमा लिन्छन् । जव अवस्था गम्भीर बन्छ, तब मात्र स्वास्थ्य संस्था वा अस्पताल जाने गरेका छन्, त्यो पनि धेरैजसो ढिलो भइसकेपछि। यही ढिलाइ मातृ मृत्युको मुख्य कारण बन्दै आएको छ।”

पढ्न–लेख्न नजान्ने र रुढीवादी सोचका कारण उनीहरुमा गर्भावस्थाका जोखिम, सुरक्षित सुत्केरी सेवा र आपतकालीन उपचारको आवश्यकतालाई प्राथमिकतामा राख्नै नचाहेको बताउँछन् कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश प्रसाद गुप्ता ।

लुम्बिनीमा बाँके र कपिलवस्तुमा मातृ मृत्यु धेरै

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मातृ मृत्यु बाँके र कपिलवस्तु जिल्लामा रहेको छ । पछिल्लो दुई आर्थिक वर्षको तथ्यांक हेर्दा लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये बाँके र कपिलवस्तुमा मातृ मृत्यु बढी देखिन्छ । आर्थिक वर्ष ०८०/०८१ मा लुम्बिनी प्रदेशमा ८३ जना आमाको मृत्यु भएको तथ्यांक छ । त्यसमा कपिलवस्तुका १८ जना, बाँकेमा १७ जना आमाले ज्यान गुमाएका थिए । त्यसपछि रुपन्देहीमा १६, दाङमा ११, बर्दियामा ७, गुल्मीमा ५, नवलपरासीमा ४, पाल्पामा २ तथा रुकुमपूर्व, प्यूठान र अर्घाखाँचीमा १/१ जनाले ज्यान गुमाएका थिए । यस्तै आर्थिक वर्ष ०८१/०८२ मा लुम्विनी प्रदेशमा ७५ जना आमाले ज्यान गुमाए । जसमा बाँके र कपिलवस्तुका १६/१६ जना रहेका छन् । रुपन्देहीमा १३, दाङमा ८, बर्दिया र रोल्पामा ७/७ जना, प्यूठान, नवलपरासी र गुल्मीमा २/२ जना तथा रुकुमपूर्व र पाल्पामा १/१ जना आमाको मृत्यु भएको तथ्यांक लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयसँग छ ।

लुम्विनी प्रदेशका यी जिल्लामा मधेशी तथा मुस्लिम वाहुल छन् । पढ्न–लेख्न नजान्ने र रुढीवादी सोचका कारण उनीहरुमा गर्भावस्थाका जोखिम, सुरक्षित सुत्केरी सेवा र आपतकालीन उपचारको आवश्यकतालाई प्राथमिकतामा राख्नै नचाहेको बताउँछन् कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश प्रसाद गुप्ता । जसका कारण आफ्नो ज्यान जोखिममा रहेको महसुस नै गर्न सक्दैनन् । अर्कोतर्फ, परिवारका पुरुष सदस्यहरु पनि चेतनाको अभावमै निर्णय लिन्छन्, जसको प्रत्यक्ष असर महिलाको जीवनमा पर्ने गरेको उनको भनाइ छ । महिलाले आफैं निर्णय गर्न पाउने अवस्था कमै छ। सासू–ससुरा, पति वा समुदायको दबाबले उनीहरुको जीवन जोखिममा पारेको गुप्ता बताउँछन् ।

उनी भन्छन्, “जवसम्म समाजले यसलाई संरचनात्मक समस्या ठान्दैन, तबसम्म समाधानको प्रयास पनि सम्भव हुँदैन।”

समस्या चिनियो, समाधान अड्कियो

समस्या पहिचान भइसकेको छ ।  कारणहरु पनि धेरै हदसम्म स्पष्ट छन् । तर प्रश्न उहीँ छ यति धेरै छलफल, योजना र कार्यक्रम हुँदाहुँदै पनि किन मातृ मृत्यु घट्न सकेको छैन ? भेरी अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.सुवेदी सामाजिक र सांस्कृतिक अवरोध समाधानभन्दा बलियो बन्दा मातृ मृत्यु घटाउन चुनौती देख्छन् । उनी भन्छन्, “जवसम्म समाजले यसलाई संरचनात्मक समस्या ठान्दैन, तबसम्म समाधानको प्रयास पनि सम्भव हुँदैन।” समुदाय स्वयं परिवर्तनका लागि तयार नभएसम्म बाह्य कार्यक्रमहरुले सीमित प्रभाव मात्र पार्ने उनको भनाइ छ । आपतकालीन अवस्थामा रेफर गर्ने प्रणाली कमजोर हुँदा पनि मातृ मृत्यु घटाउन चुनौतीपूर्ण बनेको उनी बताउँछन् । उनका अनुसार मातृ मृत्यु जस्तो संवेदनशील विषयमा निरन्तर निगरानी, अनुगमन र सुधार आवश्यक हुन्छ । स्थानीयस्तरमा खटिने स्वास्थ्यकर्मीहरुले समुदायस्तरमा त्यहीअनुरुपको व्यवहार देखाउन सकियो भने सुधारको सम्भावना देख्छन् डा.सुवेदी ।

मातृ मृत्यु कम गरेका पालिकाहरूको अभ्यासका आधारमा मापदण्ड बनाउने काम भइरहेको उनले सुनाइन् ।

मातृ मृत्यु रोक्न आमा सुरक्षा अभियान

मातृ मृत्यु हुने क्रम नरोकिएपछि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि ‘आमा सुरक्षा अभियान’ कार्यक्रम सञ्चालनको तयारी गरेको छ । आमा मृत्यु दर बढी देखिएका कपिलवस्तु, बाँके, रुपन्देही र दाङ जिल्लामा यो कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले जानकारी दिइन् ।

“समग्र लुम्बिनी प्रदेशमै मातृ मृत्यु बढी छ  उनले भनिन्, “त्यसमध्ये पनि बढी मातृ मृत्यु भएका चार जिल्लामा आमा सुरक्षा अभियान कार्यक्रम लैजाने योजना बनाइएको छ ।  अहिले हामी त्यसकै मापदण्ड बनाइरहेका छौँ ।” मातृ मृत्यु कम गरेका पालिकाहरूको अभ्यासका आधारमा मापदण्ड बनाउने काम भइरहेको उनले सुनाइन् । “विशेषतः समुदाय केन्द्रित भएर नै योजना बनाउने काम भइरहेको छ उनले भनिन्, “सर्वप्रथम गर्भवतीलाई नियमित चेकजाँचको पहुँचमा ल्याउन के गर्न सकिन्छ ? त्यसकै आधारमा खोजी भइरहेको छ ।”

  • १ माघ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech