आपतकालीन उपचार सेवाको क्षमता अभिवृद्धिका लागि लेर्डाल ग्लोबल हेल्थद्वारा किट हस्तान्तरण

    • स्वास्थ्य पेज

  • ३० पुष २०८२, बुधबार

काठमाडौं — नर्वेस्थित लेर्डाल ग्लोबल हेल्थ (Laerdal Global Health) ले आपतकालीन उपचार सेवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नौवटा आपतकालीन उपचार सिकाइ प्रयोगशाला (Emergency Care Learning Lab–ECLL) र दुईवटा (Laerdal ALS Baby Trainer) लेर्डाल एडभान्स्ड लाइफ सपोर्ट (ALS) शिशु तालिम किट उपलब्ध गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमको उपस्थितीमा आयोजित कार्यक्रममा उक्त किटहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । प्राप्त किटहरू राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र (HEOC) तथा सातै प्रदेशका स्वास्थ्य तालिम केन्द्रहरूमा वितरण गरिने मन्त्रालयले जनाएको छ ।

अत्याधुनिक किट हस्तान्तरण कार्यक्रम

सो अवसरमा मन्त्री डा. गौतमले आपतकालीन उपचार सेवाको गुणस्तर सुधारका लागि यस्ता सहयोग महत्वपूर्ण रहेको उल्लेख गरिन् । उनले आधारभूत आपतकालीन उपचार तथा अस्पतालपूर्व (Pre-hospital) तालिमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न यी किटहरूले स्वास्थ्यकर्मीको सीप र दक्षता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिन् । साथै यसले देशभर आपतकालीन उपचार प्रणालीको पहुँच र गुणस्तरमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपालका लागि नर्वेका महामहिम राजदूत ड्याग्नी म्योस (Dagny Mjøs), स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरू, विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधि, लेर्डाल ग्लोबल हेल्थका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित सरोकारवालाहरु

स्वास्थ्य मन्त्रालयका अनुसार आपतकालीन उपचार तालिमलाई प्रविधिमैत्री र व्यवहारिक बनाउने उद्देश्यका साथ प्राप्त यी उपकरणहरू आगामी दिनमा स्वास्थ्यकर्मीको क्षमता विकासमा प्रभावकारी रूपमा प्रयोग गरिनेछ ।

  • ३० पुष २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech