पछिल्लो केही वर्षयता नेपाली औषधि बजारमा एकदमै चिन्ताजनक तर अपेक्षाकृत कम बहस भएको विषय हो – औषधिको स्वरूपमा विक्रि वितरण भइरहेका पोषणपूरक पदार्थहरू (Neutraceuticals\Food Suppliment) को ब्यापक र जथाभावी कारोबार । यी उत्पादनहरू औषधिको जस्तो प्याकेजिङ, औषधिकै जस्तो ब्राण्डिङ र चिकित्सककै सिफारिसमा अत्यन्तै महँगो मूल्यमा बिक्री हुँदै आइरहेका छन् । तर वास्तविकता हेर्ने हो भने, न त यिनीहरूको गुणस्तरमा विश्वास छ, न त यिनीहरू पूर्णरूपमा नियमनको दायरामा छन् ।
पोषणपूरक कि औषधि ? आम उपभोक्ता बेखबर
नेपालको औषधि बजारमा धेरै औषधि उद्योगहरुले उत्पादन गरेका आइरन, क्याल्सियम, मल्टिभिटामिन जस्ता धेरैजसो सामान्य औषधिहरू पनि अहिले पोषणपूरकका रुपमा मार्केटिङ गरिरहेका उत्पादनहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा छन् । एउटै प्रयोजनको औषधि (उदाहरणका लागि आइरन सप्लिमेन्ट–औषधि कम्पनीहरुले उत्पादन गरेको सस्तो मूल्यमा उपलब्ध हुन्छ भने अर्कोतर्फ त्यो भन्दा तीन–चार गुणा महँगो मूल्यमा उस्तैै पोषणपूरक उत्पादन उपभोक्ताहरु खान बाध्य भईरहेको अवस्था छ । न त त्यसको प्रभावकारिता सुनिश्चित छ, न त त्यो मूल्य औचित्यसंगत छ ।
अझ दुखको कुरा त के भने यस्ता उत्पादनहरूको एमआरपी (Maximum Retail Price) समेत मनपरी राख्ने गरिएको पाइन्छ । जसको नियन्त्रणमा सरकार या सम्बन्धित नियामक निकाय चुकिरहेको देखिन्छ । औषधि व्यवस्था विभागले औषधि व्यवसायीहरूलाई बेला बखत यो विषयमा समेत सचेत गराउने, सूचना जारी गर्ने, र आवश्यक परेमा अनुगमन तथा कारबाही गर्ने काम त गर्दै आएको छ, तर यसको विक्रि वितरण भने रोकिन त के कमि समेत आएको देखिदैन ।
औषधि व्यवसायमा गहिरिँदो तनाव
नेपालसहित विश्वभरका गुणस्तरीय औषधि उत्पादन गरि खासगरी नेपालमा बजारीकरण गर्ने कम्पनीहरूको लागि यो एक अन्यायपूर्ण प्रतिस्पर्धा हो । औषधि कम्पनीहरूले GMP (Good Manufacturing Practices) पालना गरेर, नियामक निकायको परीक्षण पार गरेर, वैज्ञानिक प्रमाणमा आधारित भएर उत्पादन गरिएका औषधिहरू बजारमा ल्याउँछन् – तर पोषणपूरक कम्पनीहरूका बारेमा यस प्रकारको गुणस्तरको ग्यारेन्टी भने हुनसकेको अवस्था देखिदैन । चिकित्सकले सिफारिस गर्ने गरेको भएर औषधि पसलमा राख्ने र यही विक्रिवितरणका कारण विभागको कारवाही भोग्नुपर्दा व्यवसायीहरु समेत यो विषयले तनावमा छन् ।
चिकित्सकीय सिफारिसको जिम्मेवारी
यी उत्पादनहरूको सिफारिस स्वास्थ्यकर्मी वा चिकित्सकमार्फत नै गरिन्छ, तर त्यस्तो सिफारिस गुणस्तरबारे शंका भइरहेका उत्पादन, मनपरि मूल्य राखेर विक्रि गरिने उत्पादन मा भइरहेको छ भने त्यो बिरामीप्रति धोका हो । चिकित्सकले औषधिको सिफारिस गर्दा त्यसको गुणस्तर,मूल स्रोत, मूल्य र असरबारे स्पष्ट हुनु अनिवार्य छ । यो नै नैतिकता र पेशागत इमानदारीको न्यूनतम मापदण्ड हो ।
नियमन र सुधारका लागि उपायहरू
यो समस्यालाई सम्बोधन गर्न सरकार, औषधि व्यवस्था विभाग, औषधि व्यवसायी, चिकित्सक संघ, औद्योगिक संघहरू, उपभोक्ता अधिकारकर्मी र सञ्चार माध्यम सबैको साझा पहल आवश्यक छ । यसका लागि निम्नलिखित कदमहरू अत्यन्तै आवश्यक छन् ।
पोषणपूरक पदार्थहरूको लागि स्पष्ट र कडा नियमन :
औषधि जस्तो प्याकेजिङ गर्ने, चिकित्सक सिफारिसका लागि दवाब दिने, एमआरपी मनपरी राख्ने जस्ता गतिविधिमा रोक लगाउनु आवश्यक छ ।
गुणस्तर परीक्षण र अनुगमन अनिवार्य बनाउने :
. बजारमा आएका सबै पोषणपूरक उत्पादनहरूको लागि अनिवार्य परीक्षणको व्यवस्था गर्नुपर्छ ।
. एमआरपी नियमन अनिवार्य गरिनुपर्छ ।
नेपाली औषधि बजारमा यो न नदेखिने समस्या हो, न नै हल हुन नसक्ने चुनौती हो । तर यसको समाधानको लागि हामी सबै चिकित्सक, व्यवसायी, नीति निर्मातादेखि आम नागरिकसम्म सजग र जिम्मेवार हुन जरुरी छ । गुणस्तरीय औषधि सर्वसुलभ हुनु आम नागरिकको अधिकार हो । यो अधिकारको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।
(औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष – पुराना औषधि व्यवसायी जयदेव अवस्थीको यो लेख विशेषांकमा प्रकाशित लेख हो । )







