नेपालगन्जः नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालले पहिलोपटक आइसीयू सेवा सुरु गरेको छ । चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको पाँच शैयाको आइसीयू सेवा सञ्चालनमा ल्याइएको अस्पताल प्रमुख डा. अच्युत विक्रम हमालले जानकारी दिए । डा. हमालकै नेतृत्वमा यसअघि नेपाल प्रहरी अस्पताल महाराजगन्जमा २०७१ सालमा आइसीयू सेवा सुरु गरिएको थियो, जुन सेवा हालसम्म निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ ।
सोही अनुभवका आधारमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा पनि उनकै नेतृत्वमा आइसीयू सेवा प्रारम्भ गरिएको हो । डा. हमाल डिएम हेपाटोलोजी अर्थात् कलेजो रोगका विशेषज्ञ हुन् । अस्पतालमा अर्थोपेडिक सर्जन डा. श्यामकृष्ण लौडारी, फिजिसियन डा. दीपक विन्दवार, सर्जन डा. एलिना श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा. रजनी हर्जनलगायतको टिमले विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालका प्रवक्ता डा. विन्दवारले जानकारी दिए ।
हाल प्रहरी तथा पूर्व प्रहरीका परिवारले यस अस्पतालबाट सेवा लिँदै आएका छन् । अस्पतालले छिट्टै सर्वसाधारणका लागि पनि सेवा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ । प्रदेश प्रहरी अस्पतालमा हाल आकस्मिक सेवा, जनरल ओपिडी, अर्थोपेडिक, मेडिसिनसँगै ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा छन् । अन्य आवश्यक सेवाका लागि बाहिरबाट विशेषज्ञ चिकित्सकलाई नियमित रुपमा बोलाएर उपचार सेवा प्रदान गरिँदै आएको अस्पतालले जनाएको छ ।








