अपाङ्गता भएका व्यक्तिको प्रजनन अधिकार सुनिश्चित गर्न प्रदेश स्तरीय कार्यशाला

    • स्वास्थ्य पेज

  • १४ पुष २०८२, सोमबार

नेपालगन्जः अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चितताका लागि लुम्विनी प्रदेशका सभा सदस्यहरुले प्रतिवद्धता जनाएका छन् । परिवार नियोजन संघ बाँकेले सोमवार नेपालगन्जमा राखेको प्रदेश स्तरीय कार्यशालामा सहभागि प्रदेश सभा सदस्यहरुले संविधानले नै प्रजनन स्वास्थ्य अधिकारलाई ग्यारेन्टी गरेकाले अपाङ्गता भएका व्यक्तिहरुले पनि त्यसको अनुभूति गर्नुपर्ने कुरामा आफुहरु प्रतिवद्ध रहेको बताए ।

लुम्विनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भण्डारीलाल यादवले अपाङ्गता भएका व्यक्तिहरुको प्रजनन स्वास्थ्यको अधिकारलाई मात्र नभएर आर्थिक र सामाजिक अधिकारलाई पनि कार्यान्वयन गर्ने सवालमा आफु प्रतिवद्ध रहेको बताए । उनले आगामी बजेटमा यौन तथा प्रजनन अधिकारका सवालमा सचेतना अभिवृद्धिका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता पनि जनाए । यस्तै अर्का लुम्विनी प्रदेश सभा सदस्य मिना सिद्दिकीले पनि अपाङ्गता भएका व्यक्तिहरुले यौन तथा प्रजनन अधिकार प्राप्ति गर्न नसकेको बताइन् । उनले अपाङ्गता भएका महिलाहरु यसमा झनै पीडित रहेको बताइन् ।

उनले स्वास्थ्यकर्मीहरुलाई समेत यसमा सचेत पार्न जरुरी रहेको बताइन् । अपाङ्गता भएका महिलाले पनि स्वास्थ्यकर्मीहरुको परामर्शमा बच्चाबच्ची जन्माउन सक्छन् भन्ने सन्देश फैलाउन आवश्यक रहेको बताइन् । कार्यक्रममा नेपाल परिवार नियोजन संघका पूर्व केन्द्रीय सदस्य रोशन श्रेष्ठ, नेपाल प्रेस युनियनका अध्यक्ष प्रियास्मृति ढकाल, अपाङ्गता अधिकारकर्मी भावुकजंग थापा लगायतले बोलेको संघका बाँके प्रवन्ध निर्देशक रश्मी श्रेष्ठले जानकारी दिइन् ।

नेपाल परिवार नियोजन संघ बाँके अध्यक्ष बदरुदुजा खाँको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य बादशाह कुर्मी, जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनी, नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका केन्द्रीय कार्यक्रम संयोजक विवेक रिसाल र सहजकर्ता जीवन गिरीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । पत्रकार ओवीराज आचार्यले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य संघका कानून विशेषज्ञ इश्वरी प्रसाद ज्ञवालीले गरेका थिए ।

  • १४ पुष २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech