नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका आरसीटी रोग विशेषज्ञ डा. वसन्तराज न्यौपानेका अनुसार अस्पतालमा आउने अधिकांश बिरामी दाँतमा किरा लागिसकेको अवस्थामा उपचारका लागि आउने गरेका छन् ।
किरा लागेर दाँत टुक्राटुक्रा भएर झर्ने, गिजासम्बन्धी समस्या देखिएर दाँत हल्लिने तथा सुन्निने समस्या अत्यधिक देखिने गरेको उनी बताउँछन् । मुख स्वास्थ्य तथा सरसफाइप्रति चेतनाको स्तर अत्यन्तै कम रहेकाले दाँतमा किरा लाग्ने र गिजासम्बन्धी समस्या भएका केसहरु बढी आउने गरेका छन् ।
यस क्षेत्रका एकमात्र आरसीटी रोग विशेषज्ञसमेत रहेका डा. न्यौपानेका अनुसार दाँतको नसा संक्रमित भई असह्य दुखाइ हुने अवस्थामा, समयमा उपचार नगराउँदा संक्रमण दाँतको भित्री तहबाट फैलँदै हड्डीसम्म पुगेर गिजा पाक्ने स्थिति सिर्जना हुन्छ । यस्ता अवस्थामा कहिलेकाहीँ अनुहार, गाला र घाँटीसम्म दुखाइ फैलिन सक्छ, जसमा आरसीटी अनिवार्य हुन्छ ।
त्यसैगरी, चोटपटकका कारण दाँतको नसा मरेको अवस्थामा वा दाँत भाँचिएको अवस्थामा पनि आरसीटी गर्नुपर्ने हुन्छ । डा. न्यौपाने भन्छन्–‘आरसीटी गरेपछि दाँतको दुखाइ क्रमशः कम हुँदै जान्छ ।’ आरसीटीमार्फत आफ्नो स्थायी दाँत जोगाउन सकिने भएकाले यसले व्यक्तिको सुन्दरता र आत्मविश्वासमा पनि कमी आउन दिंदैन ।

दाँतमा आरसीटी गर्दै डा. वसन्त ।
भेरी अस्पतालको दन्त विभागमा कार्यरत डा. न्यौपानेले यस अवधिमा साढे तीन सयभन्दा बढी बिरामीको दाँतको आरसीटी गरिसकेका छन् । अन्य डेन्टिस्टहरुले पनि आरसीटी गर्दै आएका छन् तर आरसीटीमै विज्ञता हासिल गरेका विशेषज्ञ भएकाले डा. न्यौपानेले समस्यालाई मिहिन रुपमा विश्लेषण गरी प्रभावकारी समाधान प्रदान गर्ने गरेका छन् । गुणस्तरीय आरसीटी सेवाका लागि अब काठमाडौं वा भारत जानुपर्ने बाध्यता नरहेको बताउँदै उनी नेपालगन्जमै उच्चस्तरीय सेवा उपलब्ध भइरहेको उल्लेख गर्छन् ।
यसैको उदाहरणका रुपमा पाँच दिनअघि दाङका एक जना चिकित्सकका १८ वर्षीय छोरा बाथरुममा लडेर दाँत भाँचिएको घटनालाई उनी सम्झिए । त्यहाँका चिकित्सकहरुले आरसीटीका लागि काठमाडौं लैजान सुझाव दिएका रहिछन् । काठमाडौंका लागि दुई वटा हवाई टिकटसमेत काटिसकिएको अवस्थामा उनी नेपालगन्ज आएका थिए ।
संयोगवश नेपालगन्जका चिकित्सकहरुसँगको कुराकानीका क्रममा आरसीटीकै विज्ञ चिकित्सक यहीँ रहेको जानकारी पाएपछि तत्काल छोरालाई लिएर डा.न्यौपानेकहाँ आए । डा. न्यौपानेले सफलतापूर्वक आरसीटी गरिदिएपछि उनले काठमाडौंको टिकट क्यान्सिल गरे । पछिल्ला दिनमा यस्ता जटिल प्रकृतिका दन्त समस्याहरु नेपालगन्जमै समाधान हुन थालेपछि बिरामीहरुको आर्थिक भारसमेत उल्लेख्य रुपमा घट्न थालेको छ ।
को हुन् डा. वसन्तराज न्यौपाने ?

आरसीटी रोग विशेषज्ञ डा. वसन्तराज न्यौपाने
डा. वसन्तराज न्यौपाने जुम्लाको चन्दननाथ नगरपालिका–१० मा जन्मिएका हुन् । २०५० सालमा जन्मिएका उनी सानैदेखि पढाइमा मेधावी थिए र कक्षामा कहिल्यै दोस्रो हुनुपरेन । उनका बुवा टिकाराम न्यौपाने शिक्षक थिए । कक्षा ४ सम्म गाउँमै अध्ययन गरेका उनले माओवादी द्वन्द्वको चरम समयमा गाउँमा पढ्ने वातावरण नबनेपछि आमाको साथमा नेपालगन्ज आए । कक्षा ७ सम्म नेपालगन्जकै वेस्टजोन स्कुलमा अध्ययन गरेपछि पुनः गाउँ फर्किए ।
रत्नराज्य माध्यमिक विद्यालयबाट उनले २०६५ सालमा एसएलसी डिस्टिन्सन अंकसहित उत्तीर्ण गरे । त्यसपछि प्लस टु अध्ययनका लागि काठमाडौं गएका उनले डोबक्सो कलेजबाट २०६७ सालमा प्रथम श्रेणीमा प्लस टु पूरा गरे । एमबीबीएसको तयारी गरिरहेका बेला दन्त शल्यचिकित्सा (बीडीएस) तर्फ छात्रावृत्तिमा नाम निस्किएपछि उनले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट २०७५ सालमा बीडीएस उत्तीर्ण गरे ।
स्नातकपछि छात्रावृत्ति करारअनुसार जिल्ला अस्पताल स्याङ्जामा चार महिना सेवा दिए । त्यसपछि लुम्बिनी प्रादेशिक अस्पतालमा २० महिना कार्यरत रहे । उच्च शिक्षाको लक्ष्यसहित उनले मास्टर्सको तयारी गरे र न्याम्स (NAMS) बाट छात्रावृत्तिमै एमडीएस अर्थात दन्त विशेषज्ञतामा नाम निकाल्न सफल भए । २०८१ सालमा एमडीएस पूरा गरेपछि उनी करिब डेढ वर्षदेखि भेरी अस्पतालमा कन्सल्टेन्ट इन्डोडन्टिस्टका रुपमा कार्यरत छन् ।
नेपालभर इन्डोडन्टिस्टको संख्या करिब एक सयको हाराहारीमा मात्र रहेको र तीमध्ये धेरै विदेश गइसकेका वा काठमाडौंमै सीमित रहेको अवस्थामा डा. न्यौपाने भने नेपालगन्जमै बसेर पश्चिम नेपालका दन्तरोगी बिरामीलाई सेवा दिँदै आएका छन् । ३२ वर्षअघि भेरी अस्पतालमै जन्मिएका उनी आज भेरी अस्पतालमा बसेर सेवा दिन पाउँदा गर्वको अनुभूति व्यक्त गर्छन् । उनी भन्छन्–‘अब नेपालगन्जमै बसेर दन्त उपचारमा स्तरीय र भरपर्दो सेवा प्रदान गर्ने योजना छ ।’









