चिकित्सकको सुरक्षा, रोजगारी र एकता नै हाम्रो चुनावी एजेण्डा हो : डा.बद्री रिजाल

मेडिकल म्युजियम, लाइब्रेरी, चिकित्सकहरुको सुरक्षा, मानसिक स्वास्थ्य तथा अनुसन्धानका विषयहरुलाई थप अगाडि बढाउनुपर्नेछ । यससँगै सरकारी क्षेत्रमा चिकित्सकहरुको रोजगारी, सेवा–सुविधा र भौतिक सुरक्षाका विषयहरु पनि हाम्रो चुनावी एजेण्डामा छन् ।


    • प्रियास्मृति ढकाल

  • ४ पुष २०८२, शुक्रबार

नेपालगन्जः चिकित्सकहरुको पेशागत छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि उम्मेदवारहरु चुनावी अभियानमा जुटिसकेका छन् । निर्वाचन कार्यतालिका अनुसार माघ २ र ३ गते उपत्यका बाहिर र माघ १५, १६ र १७ गते उपत्यकाभित्र मतदान हुने तय छ ।

निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु आफ्नो पक्षमा लविङ गर्न थालिसकेका छन् । एनएमएको आगामी नेतृत्व चयनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन समेत भइसकेको छ । आगामी नेतृत्वका लागि टिम नै बनाएर चिकित्सकहरु चुनावी प्रतिस्पर्धामा छन् ।

डा.बद्री रिजाल नेतृत्वको टिम र डा. मंगल रावल नेतृत्वको टिम चुनावी मैदानमा उत्रिसकेको छ । डा.बद्रीसँग एनएमएमा बसेर काम गरेको लामो अनुभव छ । महासचिव हुँदै उनले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । चुनावी मैदानमा उत्रिएपछि डा.रिजालले राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्टबाट पनि राजीनामा दिइसकेका छन् ।

पेशागत मर्यादा र निष्पक्षता कायम गर्नका लागि मेडिकल सुपरिटेन्डेन्टको पदबाट राजीनामा दिएको बताउने डा.रिजाल संघको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएपछि सार्वजनिक संस्थाको कार्यकारी जिम्मेवारीमा रहनु उपयुक्त नहुने धारणा राख्छन् । यसै सन्दर्भमा अध्यक्ष पदका उम्मेदवार डा.रिजालसँग स्वास्थ्यपेजका लागि प्रियास्मृति ढकालले चुनावी अभियान तथा एजेण्डाबारे कुुराकानी गरेका छन् ।

कस्तो चल्दै छ चुनावी अभियान ?

हामीसँग अहिले एक महिनाभन्दा कम समय बाँकी छ । नेपाल मेडिकल काउन्सिलको चुनाव परेकाले पछिल्ला दुई दिन काउन्सिलका साथीहरुलाई सहयोग गर्न व्यस्त छौं । त्यस कारण हामी बाँडिएर विभिन्न ठाउँमा गएर उम्मेदवारहरुलाई सहयोग गरिरहेका छौं । काउन्सिलको चुनावपछि भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रत्येक चिकित्सकलाई भेट्न देशदौडाहमा हिड्ने तयारीमा छौं ।

के छ तपाईंको चुनावी एजेण्डा ?

नेपाल चिकित्सक संघमा महासचिव र वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसकेको अनुभव भएकाले संघले गर्नुपर्ने नियमित कामहरुलाई निरन्तरता दिने कुरा त स्वाभाविक नै भयो । मेडिकल म्युजियम, लाइब्रेरी, चिकित्सकहरुको सुरक्षा, मानसिक स्वास्थ्य तथा अनुसन्धानका विषयहरुलाई थप अगाडि बढाउनुपर्नेछ । यससँगै सरकारी क्षेत्रमा चिकित्सकहरुको रोजगारी, सेवा–सुविधा र भौतिक सुरक्षाका विषयहरु पनि हाम्रो चुनावी एजेण्डामा छन् । त्यसैगरी नयाँ युवा चिकित्सकहरुलाई चिकित्सा क्षेत्रमा कसरी प्रतिवद्ध बनाउने र नेपाल चिकित्सक संघसँग कसरी जोड्न सकिन्छ भन्ने विषयलाई पनि हामीले मुख्य प्राथमिकतामा राखेका छौं ।

नेपाल चिकित्सक संघ भनेको चिकित्सकहरुकै पेशागत संगठन हो । उहाँहरुलाई दुःख पर्दा आवाज उठाउने संगठन हो । उहाँहरुकै हकअधिकारका लागि वकालत गर्ने संगठन हो । चिकित्सक संघ सबै चिकित्सकहरुको पैरवी गर्ने छाता संगठन हो भन्ने कुरा बुझाउने काम हामीले निरन्तर गर्दै आएका छौं ।

नेपाल मेडिकल काउन्सिलमा लाइसेन्सधारी चिकित्सक नै ४० हजार पुगिसके, तर नेपाल चिकित्सक संघमा १७/१८ हजार हाराहारीमा मात्रै छन् । संघमा नयाँ पुस्ताको आकर्षण देखिँदैन नि ?

नेपाल मेडिकल काउन्सिलमा करिब ४० हजार चिकित्सक दर्ता छन् । तर नेपाल चिकित्सक संघ भने मेडिकल काउन्सिलजस्तो होइन । मेडिकल काउन्सिल सरकारी संस्था हो भने नेपाल चिकित्सक संघ पेशागत संगठन हो । अन्य देशहरुमा पनि यस्ता पेशागत संगठनमा सदस्यहरुको संख्या तुलनात्मक रुपमा कम नै हुन्छ । तर हाम्रो देशमा भने अन्य देशको तुलनामा संघमा आवद्ध सदस्य संख्या बढी नै छ । यो स्वयंसेवी (भोलेन्टियर) संगठन भएकाले सबैलाई अनिवार्य सदस्य बनाउने व्यवस्था छैन । हामीले आग्रह गर्ने मात्र हो ।

चिकित्सकहरुलाई संघको आवश्यकता बुझाउन सकिएन कि ?

नेपाल चिकित्सक संघ भनेको चिकित्सकहरुकै पेशागत संगठन हो । उहाँहरुलाई दुःख पर्दा आवाज उठाउने संगठन हो । उहाँहरुकै हकअधिकारका लागि वकालत गर्ने संगठन हो । चिकित्सक संघ सबै चिकित्सकहरुको पैरवी गर्ने छाता संगठन हो भन्ने कुरा बुझाउने काम हामीले निरन्तर गर्दै आएका छौं । हेर्नुहोस्, चिकित्सक संघमा आवद्ध नभएका चिकित्सकहरुको हकअधिकारका सवालमा पनि संघले सधैं लड्दै आएको छ ।

म फेरि पनि आग्रह गर्न चाहन्छु-नेपाल चिकित्सक संघ चिकित्सकहरुको अधिकारका लागि, चिकित्सकीय पेशालाई मर्यादित र सुरक्षित बनाउने उद्देश्यका साथ निरन्तर क्रियाशील छ । त्यसैले सदस्य नभएका साथीहरुलाई पनि संघको सदस्य बन्न आग्रह गर्दै आएका छौं । साथीहरुलाई सचेत पार्ने र संघको आवश्यकता बुझाउने काम भएकै कारण पहिलेभन्दा सदस्य संख्या बढ्दै गएको छ । यस्ता चुनावी गतिविधिहरुले पनि संघप्रतिको आकर्षण बढाउँछ भन्ने मलाई विश्वास छ ।

नेपाल चिकित्सक संघमा काम गरेको लामो अनुभव हाम्रो टिमसँग छ । यही अनुभवका आधारमा देशभरका चिकित्सकहरुको मुद्दालाई सही ढंगले उठान गर्ने र व्यवस्थापन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न हाम्रो टिम प्रतिवद्ध छ ।

तर मोफसलका चिकित्सकहरुले एनएमएले आफूहरुलाई विभेद गरिरहेको छ भन्छन् नि ?

त्यो बिल्कुलै सही होइन । कतिपय अवस्थामा साथीहरुलाई परेको समस्या समयमै सम्बोधन गर्न नसकिएको हुन सक्छ, त्यो फरक कुरा हो । तर चिकित्सकहरुलाई अप्ठ्यारो पर्दा जुनसुकै ठाउँका भए पनि हामीले सहयोग गर्दै आएका छौं । अहिले त हामी प्रादेशिक संरचनामा समेत गइसकेका छौं । अब प्रादेशिक संरचनालाई अझै सुदृढ बनाउने विषय हाम्रो प्राथमिकतामा छ । त्यसैले पनि मेरो टिम आवश्यक छ । हामी प्रादेशिक संघहरुलाई थप अधिकार दिएर बलियो बनाउने पक्षमा छौं ।

नेपाल चिकित्सक संघ पेशागत संगठनहरुमध्ये सबैभन्दा पुरानो इतिहास बोकेको संगठन हो, तर यसको ओज खस्किँदै गएको हो ?

संघ जुन उद्देश्यका साथ स्थापना भएको हो, त्यस उद्देश्यबाट न त यो ओझेलमा परेको छ, न त यसको इतिहास नै खस्किएको छ । चिकित्सकहरुको हकहित, सुरक्षा तथा चिकित्सकहरुलाई आइपर्ने समस्याहरु समाधान गर्न सहजीकरण गर्ने काम संघले निरन्तर गर्दै आएको छ र यसमा संघ पूर्ण रुपमा प्रतिवद्ध छ ।

डा. बद्री रिजाल नेतृत्वको टिमलाई किन जिताउने ?

नेपाल चिकित्सक संघमा काम गरेको लामो अनुभव हाम्रो टिमसँग छ । यही अनुभवका आधारमा देशभरका चिकित्सकहरुको मुद्दालाई सही ढंगले उठान गर्ने र व्यवस्थापन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न हाम्रो टिम प्रतिवद्ध छ । संघले कसरी काम गर्छ ? चिकित्सकका मुद्दाहरु के हुन् ? तिनलाई कसरी सम्बोधन गर्न सकिन्छ ? समस्या कहाँ छन् र समाधानका उपाय के–के हुन् ? यी सबै विषयमा संघमा लामो समय काम गरेको अनुभवका कारण मलाई राम्रोसँग जानकारी छ । ती समस्यालाई सम्बोधन गर्न सक्ने स्पष्ट योजना मेरो नेतृत्वको टिमसँग छ । म महासचिव भएको समयमा नै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था, चिकित्सकको सुरक्षा सम्बन्धी ऐन ल्याइएको हो । चिकित्सकहरुलाई एनएमएप्रति आकर्षित गर्ने, सबै चिकित्सकहरुलाई एकतावद्ध बनाएर अघि बढाउने विषयमा हामी प्रतिवद्ध भएकाले मेरो नेतृत्वको टिमलाई विजयी गराउन सबैसँग आग्रह गर्दछु ।

  • ४ पुष २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech