भेरी अस्पतालमा ज्यूँदै बच्चा मृत भनेर बुझाइएको घटनाको यस्तो छ टाइमलाइन र तथ्य

    • स्वास्थ्य पेज

  • ३ पुष २०८२, बिहीबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा समयअगावै जन्मिएको एक नवजात शिशुलाई मृत घोषणा गरी परिवारलाई बुझाइएपछि केही समयमै शिशु जीवित रहेको घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अस्पतालले ज्यूँदै बच्चालाई मृत घोषणा गरी परिवारलाई बुझाएको र परिवारले सदगत गर्नेक्रममा रोएपछि बच्चा ज्यूँदै भएको भन्दै उपचारका लागि तत्काल सञ्जीवनी अस्पताल (नेपालगन्ज मेडिकल कलेज)मा ल्याएको परिवारले दावी गरेका छन् । त्यसको भोलिपल्टै सञ्जीवनी अस्पतालले बच्चालाई मृत घोषणा गर्यो । खास घटना के हो त ? यसलाई स्वास्थ्यपेजले टाइमलाइनमा तथ्यगत रुपमा प्रष्ट पार्ने प्रयास गरेको छ ।

विवरण

नाम : तारा कसेरा
ठेगाना : बाँके डुडुवा गाउँपालिका–५ डलैपुर
गर्भ : २३ हप्ता (अल्ट्रासाउण्ड)
अस्पताल पुगेको समय : २०८२ मंसिर २५ गते राती ८ः ३० बजे
सुत्केरी : २०८२ मंसिर २८ गते बिहान करिब ८ः १० बजे
बच्चाको तौल : करिब ७०० ग्राम
जन्मिदाको अवस्था :  श्वासप्रश्वास, मुटुको चाल वा अन्य कुनै पनि जीवनचिन्ह नदेखिएको र एप्गार स्कोर शून्य
परिवारलाई हस्तान्तरण : साढे ११ बजे
सञ्जीवनी अस्पताल पुगेको : २८ गते दिउँसो १: ५१  बजे
मृत्यु : २९ गते बेलुका ५ बजे

यो त भयो घटनाको टाइमलाइन । ताराका ससुरा मोहन बहादुर सुनारले स्वास्थ्यपेजलाई घटनाबारे बताएअनुसार, तारालाई मंसिर २५ गते असहज भएको थियो । पेट दुख्न थालेको र योनीबाट ब्लड समेत देखिएको कुरा ताराले सासुलाई सुनाइन् । मोहन आत्तिए । तारालाई राती साढे आठ बजेतिर भेरी अस्पतालको लेवर रुम (सुत्केरी हुने वार्ड)मा ल्याए । अस्पतालले गरेको प्रारम्भिक जाँचमा उनको रक्तचाप, नाडी तथा अन्य जीवनचिन्ह स्थिर देखिएको थियो । त्यही कुरा नर्सहरुले अस्पताल लगेर गएका ताराका आफन्तलाई सुनाएका थिए ।

योनी परीक्षण गर्दा गर्भमुख (पाठेघर) आंशिक रुपमा खुलेको र योनीबाट पानी चुहिएको पाइएपछि अवस्था गम्भीर मान्दै चिकित्सकले भर्ना गर्नुपर्ने निष्कर्ष निकाले । र, तारालाई भर्ना गरे । तत्काल रगत तथा पिसाब परीक्षणका लागि नमूना संकलन गरियो । त्यसको भोलिपल्ट अल्ट्रासाउन्ड परीक्षणमा शिशुको मुटुको चाल अत्यन्त सुस्त र गर्भभित्रको पानी अत्यन्त कम रहेको र शिशुकोे तौल पनि अत्यन्तै कम रहेको उपचारमा संलग्न चिकित्सक तथा नर्सिङ टोलीले परिवारलाई जानकारी गराए ।

शिशु जन्मिए पनि गम्भीर जटिलता आउन सक्ने सम्भावनाबारे पनि बताए । २६ र २७ गते तारालाई चिकित्सककै निगरानीमा राखियो । तारालाई प्रसवको प्रक्रिया बढ्दै गयो मंसिर २८ गते बिहान करिब ८ः १० बजे शिशु (छोरी) जन्माइन् । करिव साढे ११ बजेतिर बच्चा मृत्यु भइसक्यो भनेर नर्सहरुले बच्चा थमाएको मोहन बताउँछन् । त्यसपछि बच्चालाई गाउँको जंगल नजिकै सदगद गर्नेक्रममा रोएको उनको दावी छ । बच्चा रोएपछि उपचारका लागि तत्काल वाइकमा सञ्जीवनी अस्पताल ल्याएको उनको भनाइ छ । भेरी अस्पतालले ज्यूँदै बच्चा मृत्यु भयो भनेर परिवारलाई बुझाएको भन्दै उनले अस्पतालले लापरवाही गरेको बताउँछन् ।

किन ज्यूँदै बच्चा मृत भनेर बुझाए लेवररुमका नर्सहरुले ?

नर्सहरुका अनुसार आवश्यक परीक्षण गर्दा जन्मिँदा शिशुमा श्वासप्रश्वास, मुटुको चाल वा अन्य कुनै पनि जीवनचिन्ह देखिएन । करिव तीन घण्टा उनीहरुले आफ्नै निगरानीमा राखे । २३ हप्ताको बच्चा, न्यून तौल, मुटुको चाल नै नआउनु लगायत कारणलाई मूल्यांकन गरेरै मृत्युको निष्कर्षमा पुगेर शिशु आफन्तलाई बुझाए । नवजात शिशुका विज्ञ चिकित्सक डा.पिउस कनोडिया पनि समयअगावै जन्मिएका र अत्यन्तै कम तौल भएका शिशुमा कहिलेकाँही श्वासप्रश्वास, मुटुको चाल वा अन्य कुनै पनि जीवनचिन्ह नदेखिने सम्भावना हुने बताउँछन् । उनी भन्छन्–‘मेडिकल साइन्समा यस्ता दुर्लभ घटनाहरु भएका तथ्यहरु छन् ।’

यस्तै घटना भारतमा पनि भएको थियो । ‘द टाइम्स अफ इन्डिया’ पत्रिकामा सन् २०२५ मा प्रकाशित एक समाचारमा सरकारी अस्पतालमा मृत घोषणा गरिएको एक नवजात शिशु करिब २४ घण्टापछि पुनः जीवित भेटिएको घटना उल्लेख गरिएको थियो । उक्त समाचारमा यस्तो घटनालाई चिकित्साशास्त्रमा Suspended Animation वा Lazarus Phenomenon जस्ता अत्यन्त दुर्लभ अवस्थासँग सम्बन्धित रुपमा व्याख्या गरिएको छ ।

उक्त समाचारको लिंक यहाँ राखिएको छ । 

https://timesofindia.indiatimes.com/city/aurangabad/newborn-declared-dead-at-govt-hospital-found-alive-24-hours-later-in-beed/articleshow/122371638.cms

जहाँ अत्यन्त कम जैविक गतिविधिका कारण सुरुमा जीवनचिन्ह नदेखिए पनि पछि स्वतः हलचल वा जीवन संकेत देखिन सक्ने उल्लेख गरिएको छ । सञ्जीवनी अस्पतालमा पुर्‍याए लगत्तै डा.कनोडियाले नै ती शिशुको स्वास्थ्य जटिलताबारे परिवारलाई व्रिफिङ गरेका थिए । शिशुको जटिलताका कारण भेन्टिलेटरमै राख्नुपर्नेबारे पनि परिवारलाई अवगत गराए । तर परिवारका सदस्यले भेन्टिलेटरमा नराखेर आइसीयूमा राखेर उपचार गरिदिन आग्रह गरेको अस्पताल स्रोत बताउँछ ।

‘भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने केसमा आफन्तले आइसीयूमा राख्छौ भनेर लिखित गर्नुभएको छ सञ्जीवनी अस्पताल स्रोत भन्छ।’ तर यस्ता केसहरुमा अस्पताल, चिकित्सक र परिवारका सदस्यहरुबीच निरन्तर संवाद हुनुपर्नेमा त्यसो नहुँदा पनि केही भ्रम र विवाद भएको देखिन्छ ।

भेरी अस्पतालले घटनापछि बनाएको छानबिन समितिले पनि परिवारसँगको संवाद पर्याप्त नहुँदा र संवेदनशील पनि हुन नसक्दा केही भ्रम र विवाद उत्पन्न भएको निष्कर्ष निकालेको छ । छानबिन समितिको प्रतिवेदनले यस्ता घटनालाई अत्यन्तै दुर्लभ भन्दै उपचार प्रक्रिया, उपलब्ध क्लिनिकल अवस्था र चिकित्सकीय निर्णयअनुसार भएको देखिए पनि परिवारसँग पर्याप्त संवाद नहुनु र संवेदनशीलता नअपनाउनु लगायतका कमजोरीले केही भ्रम र विवाद उत्पन्न भएको निष्कर्ष निकालेको छ ।

घटनापछि भेरी अस्पतालले मंसिर २९ गते डा. विवेक महत्तोको नेतृत्वमा छानवीन समिति बनाएको थियो । समितिले बुधवार अवेरसाँझ प्रतिवेदन अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीलाई बुझाइसकेको अस्पताल प्रशासन स्रोत बताउँछ । डा.सुवेदीले प्रतिवेदन प्राप्त भएको भन्दै अध्ययनकै क्रममा रहेको बताए । उनले आगामी दिनमा यस्ता संवेदनशील घटनामा परिवारसँग अझ स्पष्ट काउन्सिलिङ, लिखित सहमति र जोखिमबारे पूर्वजानकारी दिनुपर्ने सिफारिस जरुरी रहेको बताए ।

  • ३ पुष २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech