आमरण अनसनरत पूर्वमेयर गुप्ता अस्वस्थ, अस्पताल भर्ना

    • स्वास्थ्य पेज

  • ३ पुष २०८२, बिहीबार

नेपालगन्जः पूर्वमेयर एवम् वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता अस्पताल भर्ना भएका छन् ।

सहकारीको रकम अपचलन मुद्दामा अदालतको आदेशपछि पनि न्याय नमिलेपछि दवाव स्वरुप जिल्ला प्रशासन कार्यालय अगाडि आमरण अनसन बसेका गुप्ता अस्वस्थ भएपछि बुधवार राती भेरी अस्पतालमा भर्ना भएका हुन् ।

सुगरको मात्रा एक्कासी घटेपछि उनलाई भेरी अस्पतालको आइसीयूमा भर्ना गरिएको हो । सहकारी पीडितको पक्षमा निःशुल्क रुपमा कानुनी सहायता प्रदान गर्दै आएका वरिष्ठ अधिवक्ता गुप्ता मंगलबारदेखि अनसनमा बसेका हुन् ।

दुई तहको अदालतको आदेशबाट पनि पीडितले न्याय नपाएपछि बाध्य भएर आमरण अनसनमा बस्नु परेको उनले बताउँदै आएका छन् ।

२०७६ सालमा उक्त सहकारीको रकम अपचलन सम्बन्धी मुद्दा बाँके जिल्ला अदालतमा चलेको थियो । त्यसपछि अदालतले २०८० पुस २६ गते सहकारी वित्तीय विकास संस्था लिमिटेडमा करिव ४३ करोड रुपैयाँ अपचलन भएको ठहर गर्यो ।

उक्त मुद्दामा सहकारी संस्थाका तत्कालिन अध्यक्ष, पदाधिकारी तथा कर्मचारीसहित १९ जना प्रतिवादीलाई सजाय दिने अदालतले आदेश गरेको थियो ।

जिल्लाको आदेश चित्त नबुझेको भन्दै प्रतिवादीहरु तुलसीपुर उच्च अदालत समक्ष पुगेका थिए । तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासले २०८२ जेठ १४ गते जिल्लाकै आदेशलाई सदर गरेको थियो ।

नेपालगन्जको सदरलाईनमा रहेको सहकारी वित्तीय विकास संस्था लिमिटेडको ४३ करोड बढी रकम अपचलन भएको उक्त मुद्दामा १ हजार ५ सय २६ जना पीडित छन् ।

  • ३ पुष २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech