नेपालगन्जः २०८० साल जेठ १६ गते मंगलवार, श्रीमती सञ्जुको बाँकेमा भएको सवारी दुर्घटनामा निधन हुँदा कर्णाली प्रादेशिक अस्पतालका तत्कालीन निर्देशक प्रा.डा.डम्वर खड्का नर्भेमा थिए । त्यहाँ उनी कर्णाली प्रदेश अस्पतालले छोटो समयमा गरेको असाधारण प्रगति, सेवा गुणस्तरमा आएको सुधार र आम नागरिकले पाउन थालेका सकारात्मक स्वास्थ्य सेवाका प्रभावबारे वैज्ञानिक तथा प्राध्यापकहरुलाई जानकारी गराइरहेका थिए । उपस्थित व्यक्तिहरू दंग परे—यति छोटो समयमा कसरी सम्भव भयो भनेर सोधिरहेका थिए । डा. खड्का सफलताको कथाहरु सुनाइरहेका थिए । तर अचानक, श्रीमती सञ्जुको निधनको खबरले उनको जीवनमा भूकम्पझैँ धक्का दियो ।
उनी स्तब्ध भए-मन, समय र भावनाहरु सबै रोकिए । तर उनी सम्हालिए । आफ्नो भ्रमण कटौती गरेर भोलिपल्टै नर्भेबाट नेपाल फर्किए । घर पुगेपछि पूर्ण सन्नाटा-घरमा आवाजहरु छन्, तर मनभित्र सुनसान छ । ती मर्माहत क्षणहरु, आँखामा अश्रु, मनमा अव्यक्त पीडा-सबैसँग जुध्दै उनी श्रीमती सञ्जुको अन्त्यष्टि गरे । त्यसपछि १३ दिनको काजक्रिया सम्पन्न भयो । दुःख, शोक, बिछोड-सबै सम्हालेको भोलिपल्टै डा खड्का पुनः आफ्नो अस्पतालमा फर्किए । यो लगन र समर्पणले पुष्टि गर्छ कि डा.डम्वर अस्पतालप्रति कति समर्पित थिए ।
व्यक्तिगत अपार पीडाभन्दा माथि उठेर पनि सेवा, प्रतिबद्धता र स्वास्थ्यको मायालाई उनले कहिल्यै छोडेनन् । उनी एक वर्ष अघि सेवा निवृत्त भए । २०८२ साल मंसिरको दोस्रो साता स्वास्थ्यपेज टिमले भेट्दा उनले आत्मविश्वासका साथ भने–‘एउटा प्रशासकमा इमान्दारिता, जवाफदेहिता र गर्नुपर्छ भन्ने इच्छाशक्ति भएमा असम्भव केही छैन ।’ जब उनले तत्कालीन क्षेत्रीय अस्पतालको प्रशासनिक नेतृत्व सम्हाले, अस्पतालको भवन जीर्ण थियो ।
बेड तथा लकरहरु खिया लागेको थियो । सौचालयको अवस्था पनि दयनीय थियो । त्यतिबेला स्वास्थ्यमन्त्री गगन थापा थिए । स्वास्थ्य सचिवहरु पनि परिचित नै थिए । डा.खड्काले आफैं काठमाडौं गएर मन्त्रालयबाट एक करोड बजेट अस्पतालमा पठाउन लगाए । सिटीस्क्यान मेसिन थप गरियो । जीर्ण भवनमा रंगरोगन भयो, सौचालय निर्माण भयो, बेड तथा लकरहरु चम्काइए । विग्रिएका उपकरणहरु मर्मत भए । अस्पताल अगाडिको खाली जमिनलाई बगैचा बनाए । बिरामी बस्ने प्रतिक्षालय निर्माण गरे । केवल दुई–तीन महिनामै अस्पतालको स्वरुप परिवर्तन भयो ।

त्यो बेला प्रदेश अस्पताल सुर्खेत
यसले बिरामीलाई उपचारमात्र नभएर वातावरणको महत्व पनि अनुभुति गरायो । बिरामीको चाप बढ्योे । स्वास्थ्यकर्मीहरु थपिने क्रम सुरु भयो । अस्पतालले आफ्नै एम्बुलेन्स पनि खरिद गर्यो । त्यतिबेला यो अस्पताल केवल ५० बेडको मात्र थियो । डा.खड्का भन्छन्–‘बिरामी बढ्दै गएपछि अस्पताल आफैं व्यवस्थापन गरेर १३० बेड सञ्चालन गरिरहेका थियौं ।’ हालको प्रदेश अस्पतालको भवन निर्माण भए पनि प्रयोग भएको थिएन । झारहरु उम्रेर अवस्था दयनीय थियो ।
बिरामीको चाप बढ्दै गएपछि डा.खड्काले तीन सय बेडको अस्पताल निर्माण योजना बनाए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेतमा कार्यक्रमको शिलशिलामा आउँदा उनका दाई काँग्रेस नेता पूर्णबहादुर खड्का पनि सँगै आएका थिए । डा.खड्काको नेतृत्वमा अस्पताल विकास समितिका अध्यक्ष, एमाले नेता यामलाल कँडेल लगायतले ओलीलाई भेटे । ५० बेडको नवनिर्मित भवन ओलीबाट उद्घाटन गर्न लगाए । त्यहीबेला तीन सय बेडको भवनका लागि आवश्यक बजेट माग गरे । र भवन निर्माणका लागि बजेट आयो ।

अविस्मरणीय सेवापछि अस्पतालबाट विदाइको क्षण
तीन वर्षभित्र सुविधासम्पन्न भवन निर्माण भयो । ठिक त्यसैबेला कोभिड महामारी सुरु भयो । कोभिड महामारीमा प्रदेश अस्पताल सुर्खेतले आफ्ना कुनै पनि सेवा नरोकेर कोभिड बिरामीलाई समेत डेडिकेडेड सेवा प्रदान गर्यो । आफ्ना कुनैपनि सेवा नरोकेर कोभिड बिरामीलाई सेवा दिने प्रदेश अस्पताल सुर्खेत सम्भवतः नेपालकै पहिलो अस्पताल भएको डा.खड्का बताउँछन् । उनी भन्छन्–‘पुरानो भवनबाट नियमित ओपीडी सेवा प्रवाह गरियो । नयाँ भवनलाई कोभिड डेडिकेडेड अस्पताल बनायौं । त्यस अवधिमा सबैभन्दा धेरै बिरामी भर्ना मात्र भएन, अपरेशन पनि सबैभन्दा बढी भयो । वरिपरिका स्वास्थ्य संस्थाले बिरामी हेर्न नमाने पनि कुनै पनि बिरामीलाई रिफर नगरी उपचार व्यवस्थापन गरियो ।’

डा.डम्बर खड्कासँग स्वास्थ्यपेजका लागि कुराकानी गर्दै स्वास्थ्यपेजकर्मी प्रियास्मृति ढकाल
डा.खड्काले अस्पताल प्रशासन र क्लिनिकल सेवा बीच समन्वय बढाउँदै आपत्कालीन सेवा, रेफरल प्रणाली र बिरामी व्यवस्थापनलाई प्रभावकारी बनाए । स्थानीय जनताको विश्वास जित्न पारदर्शिता, समयमै सेवा र नैतिक अभ्यास प्राथमिकता दिँदा अस्पतालप्रति भरोसा बढ्यो । जनशक्ति क्षमतावृद्धि, तालिम र नियमित अनुगमनमार्फत सेवाको निरन्तरता सुनिश्चित गर्न उनको नेतृत्व महत्वपूर्ण रह्यो । प्रदेश अस्पताल भए पनि यसले विशिष्टिकृत सेवा प्रवाहको लय समातेको छ ।
आधुनिक भौतिक पूर्वाधार र विशेषज्ञ चिकित्सकहरुको उपस्थितिले यसलाई देशकै उत्कृष्ट अस्पतालमा दर्ज गरेको छ । यसको श्रेय डा.डम्वर खड्काको अथक मिहिनत, इमान्दारिता र सेवाभावलाई दिन्छन् कर्णालीबासी । डा खड्काको दूरदृष्टि र प्रतिबद्धताका कारण कर्णाली प्रादेशिक अस्पताल केवल उपचार केन्द्र मात्र नभई कर्णाली प्रदेशकै स्वास्थ्य सेवाको आधारस्तम्भको रुपमा स्थापित भएको छ । आज अस्पतालले पाएको संस्थागत मजबुतीमा डा.डम्वर खड्काको योगदान स्मरणीय र अतुलनीय जस्तै छ ।
को हुन् डा.डम्वर खड्का ?

डा.डम्वर खड्का
डा.डम्बरबहादुर खड्का २०२१ सालमा वीरेन्द्रनगर–७, इत्राममा जन्मिए । उनका बुबा प्रेमबहादुर खड्का र आमा मायादेवी खड्काको गर्भबाट जन्मिएका उनी राजनीतिक परिवारमा जन्मिए पनि राजनीतिमा भने कहिल्यै सक्रिय देखिएनन् । बरु सधैँ राजनीति–प्रभावले परेको जीवन जिउनुपर्यो । जेनजीको आन्दोलनमा उनको घरमा आगजनी र तोडफोड गरियो । अखण्डमध्यपश्चिमको आन्दोलनमा पनि उहाँको निवास निशानामा पर्यो । उनका बुबा तत्कालीन राष्ट्रिय पञ्चायतका जिल्ला उपसभापति थिए । गाउँघरमा ‘भजनी मुखिया’ भनेर चिनिने उनको परिवार निकै चर्चित थियो ।
उनका दाजु पूर्णबहादुर खड्काले पनि बुबाको पदचाप पछ्याउँदै अहिले नेपाली कांग्रेसका कार्यबाहक सभापतिका रूपमा जिम्मेवारी सम्हालिरहेका छन् । चार दाजुभाइ र छ दिदीबहिनीमध्येका डा। खड्काले घरनजिककै विद्यालयबाट कक्षा २ सम्म अध्ययन गरे । त्यसपछि दैलेख गए, जहाँ उनका भिनाजु बैंकमा जागिरे भएकाले ‘भाषा पाठशाला’मा राम्रो पढाइ हुने विश्वासले बुबाले त्यहाँ पढ्न पठाएका थिए । त्यहाँ कक्षा ३ सम्म पढेपछि उनी फेरि सुर्खेत फर्किए र कक्षा ७ सम्म नेवारे विद्यालयमा अध्ययन गरे । एसएलसी भने जनव्यवसायी माध्यमिक विद्यालयबाट २०३६ सालमा पूरा गरे ।
२०३८ सालमा सीएमई उत्तीर्ण गरेपछि २०३९ सालदेखि नै उनको जागिरे जीवन सुरु भयो । वीर अस्पतालको मानसिक वार्डमा उनी अहेवका रुपमा कार्यरत भए । २०४० सालमा लोकसेवामार्फत स्थायी नियुक्ति पाएपछि कास्कीको शारदीखोला स्वास्थ्य चौकीमा उनको पहिलो पोस्टिङ भयो । यस समयमा उनलाई डाक्टर बन्ने चाहनाले निकै सताउन लागेको थियो । वीर अस्पतालमै काम गर्दा अस्कलमा आइएस्सीका लागि भर्ना पनि भएका थिए । तर विद्यार्थी राजनीति धेरै भएकाले त्यहाँ पढ्न कठिन हुने ठानेर २०४१ सालमा महाराजगञ्ज क्याम्पसमा भर्ना भए र २०४४ सालमा एचए गर्दै सुर्खेत फर्किए ।
सुर्खेतको लाटिकोइलीमा दरबन्दी खाली भए पनि राजनीतिक दबाबले उनको पदस्थापना कालीकोटको राचुली स्वास्थ्य चौकीमा गरियो । राचुलीमा करिब ६ महिना काम गरे । सोही समयमा तत्कालीन राजा वीरेन्द्रको सवारी कार्यक्रम परेको थियो । राजाले बनाइदिएका एक माननीय त्यही क्षेत्रका थिए, तर डा खड्काले उनको नाम भने विर्सिए । स्वास्थ्य चौकीमा औषधि राख्ने काठका बाकसहरु थियो । ती माननीयले आफ्ना कार्यकर्ता मार्फत ती बाकस ल्याउन भनेका रहेछन्, तर औषधि राख्ने सामान दिन नमिल्ने भएकाले डा। खड्काले इन्कार गरे अनि माननीय रिसाए, उनलाई दुर्गम क्षेत्रमा सरुवा गरिदिए । धन्न तत्कालीन जनस्वास्थ्य कार्यालयका हाकिमले उनलाई रमाना दिएनछन् । एक दिन एउटा युवक सुत्केरी हुन नसकेकी महिलाको खबर लिएर आए ।
डा.खड्का तुरुन्तै उनीसँगै जुविधा भन्ने ठाउँमा पुगे । गर्भवतीलाई गोठमै राखिएको थियो । करिब दुई घण्टाको प्रयासपछि उनले सफलतापूर्वक प्रसूति गराए । स्वास्थ्यकर्मीले घरमै सुत्केरी गराएको कुरा गाउँभर फैलियो र डा खड्का एकाएक चर्चामा आए । त्यसपछि उनले गाउँ–गाउँमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्न थाले । पछि थाहा भयो, ती सुत्केरी उनै माननीयकै छोरी रहेछिन् । माननीयले पछि माफी मागेर खड्कालाई धन्यावाद दिए । २०४५ सालमा उनी फेरि वीर अस्पताल फर्किए र तीन वर्ष इमरजेन्सी विभागमा काम गरे । २०४८ सालमा उनको डाक्टर बन्ने चाहना पूरा भयो— सोभियत संघमा एमबीबीएस अध्ययनका लागि छात्रावृत्तिमा नाम निस्कियो । रसियाबाट २०५५ सालमा एमबीबीएस पूरा गरेपछि करिब तीन महिना टिचिङ अस्पतालको सर्जिकल विभागमा काम गरे ।
२०५६ सालमा अस्थायी मेडिकल अधिकृतका रुपमा जिल्ला अस्पताल सुर्खेत आए र करिब एक वर्षपछि २०५७ सालमा स्थायी भए । यसबीचमा वीर अस्पताल र सुर्खेत दुवैतिर आउजाउ चलिरह्यो । उनले सिजेरियन, भ्याक्सोटोमी, मिनिल्याप, हाइड्रोसिल, एपेन्डिसाइटिस, हर्निया लगायतका शल्यक्रियाका तालिमहरु पूरा गरिसकेका थिए । २०६५ सालमा वीर अस्पतालबाट एमडी गरेपछि केही समय लमजुङको सामुदायिक अस्पतालमा सेवा दिए र पुनः सुर्खेतमै स्थायी रुपमा बसेर सेवा निरन्तरता गरे । २०७२ सालमा तत्कालीन क्षेत्रीय अस्पताल सुर्खेतका निमित्त मेसु नियुक्त भए ।
२०७४ पछि कर्णाली प्रादेशिक अस्पतालका निर्देशकका रुपमा करिब एक दशक नेतृत्व सम्हाले । एक वर्षअगाडि मात्र सेवा निवृत्त भएका उनी नै प्रादेशिक अस्पताललाई देशकै उत्कृष्ट अस्पतालमा रुपान्तरण गर्ने प्रमुख व्यक्तिमध्येका रुपमा लिइन्छ । अहिले उनी आफुले कक्षा २ पढेको विद्यालयलाई व्यवस्थित बनाउने नेतृत्वमा छन् । विद्यालयको संरचना पुरै फेरिसकेका छन् । उनी भन्छन्–‘जहाँ मैले नेतृत्व गर्छु त्यहाँ इमान्दारिता र सकारात्मक सोंचका साथ गर्छु ।’







