काठमाडौं: नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनमा नेत्ररोग विशेषज्ञ डा. दिक्षा बोहराले सदस्य पदका लागि उम्मेदवारी दिएकी छन् । डा. बोहराले चिकित्सकहरूको पेशागत हक–हित संरक्षण र संस्थागत सुधारका लागि आफू निर्वाचनमा होमिएको स्पष्ट पारेकी छन् ।
एमडी अध्ययनको क्रममा डा.बोहराले National Resident Doctors’ Association को उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आवासीय चिकित्सकहरूको हक–हित संरक्षण र उनीहरूले भोगेका समस्याहरू समाधानका लागि सम्बन्धित निकायहरूसमक्ष निरन्तर आवाज उठाउँदै आएको सामाजिक सञ्जाल मार्फत स्मरण गराएकी छन् । मेडिकल अधिकृतको जिम्मेवारीदेखि हालसम्मको यात्रामा चिकित्सकहरूले भोगिरहेका समस्याहरूलाई विभिन्न दृष्टिकोण र क्षमताबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै उनले न्यून पारिश्रमिक, लामो ड्युटी समय, पेशागत सुरक्षा अभाव, क्षतिपूर्ति बीमा नहुँदा र उपभोक्ता अदालतमा मुद्दा परेको अवस्थामा भोग्नुपर्ने जटिलता जस्ता विषयमा गहिरो सुधार आवश्यक रहेको बताइन् ।
डा. बोहराले फेसबुकमा लेखेकी छन्, “यी समस्या कुनै नयाँ होइनन्, तर यिनको सुनुवाइ या त नभएको हो वा अपर्याप्त मात्र भएको हो।” यस्ता विषयमा सकारात्मक र दीगो परिवर्तन ल्याउन नेपाल चिकित्सक संघबाट मात्र प्रभावकारी पहल सम्भव भएको उनी बताउँछिन् । चिकित्सकहरूको साझा समस्या समाधान र पेशागत हकहित सुनिश्चित गर्न डा.मंगल रावल को नेतृत्वमा रहेको टिमसँग सहकार्य गर्दै सशक्त, समावेशी र प्रभावकारी प्रतिनिधित्व गर्ने लक्ष्यसहित आफू उम्मेदवारीमा उत्रिएको डा. बोहराले जनाएकी छन् ।
उनले निर्वाचनमा सम्पूर्ण चिकित्सक समुदायको साथ, सहयोग र समर्थनको अपेक्षा समेत व्यक्त गरेकी छन् ।








